मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २४ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ २४ बिहीबार २o:१५:oo
Read Time : < 1 मिनेट
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रमा ३२औँ सफल कलेजो प्रत्यारोपण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ २४ बिहीबार २o:१५:oo

सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरले ३२औँ कलेजो प्रत्यारोपण सफल रूपमा गरेको छ। कलेजो प्रत्यारोपण गरिएका ललितपुर गोदावरी नगरपालिकाका ५६ वर्षीय व्यक्ति उपचारपश्चात् आज घर फर्किएका छन्। उनलाई ४१ वर्षीया श्रीमतीले आधा कलेजो दान गरेकी थिइन्। अंगदाता ७औंँ दिनमा र ग्रहणकर्ता ९औँ दिनमा डिस्चार्ज भएका हुन्। 

शल्य चिकित्सक डा. पुकारचन्द्र श्रेष्ठको नेतृत्वमा भएको उक्त प्रत्यारोपणमा डा. रोशन घिमिरे, डा. आरती राईको एनेस्थेसिया एन्ड क्रिटिकल केयर टोली, डा. बादल महर्जन, नर्सिङ निर्देशक पूजा कोइराला नेतृत्वको नर्सिङ टोली, ट्रान्सप्लान्ट कोअर्डिनेटर सरु कोजू तथा अन्य प्राविधिक र प्रशासनिक कर्मचारी संलग्‍न थिए। टाेलीले १५ माघमा कलेजाे प्रत्याराेपण गरेकाे हाे।

देशमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको स्वास्थ्य मन्त्रालयअन्तर्गतको यस केन्द्रले स्थापनाको १२ वर्ष अवधिभित्रै उक्त सेवालाई सम्भवत संसारकै सबैभन्दा न्यूनतम शुल्क (१५–२० लाख )मा निरन्तरना दिँदै आएको छ। 

देशकै करिब दुई‍तिहाइ कलेजो तथा मिर्गौला प्रत्यारोपण गर्दै आएको यस केन्द्रको आफ्नो एक इन्च भवनसमेत छैन। अत्यन्तै सीमित स्रोतसाधन तथा जनशक्तिका बाबजुद उच्च सफलताका साथ केन्द्रले कलेजो प्रत्यारोपणलाई निरन्तरता दिन सक्नु ठुलो उपलब्धि मानिएको छ। उपयुक्त जग्गा उपलब्ध भएमा आफ्नै स्रोतसाधनबाट तीन सय शय्याको भवन बनाई अधिकतम सेवा दिन सक्ने क्षमता केन्द्रको भएको हुँदा नेपाल सरकारसमक्ष उपयुक्त जग्गा उपलब्ध गराइदिन केन्द्रले निरन्तर माग गर्दै आएको छ।