साबिक विजेता न्युरोड टिम (एनआरटी) २५औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धरान रंगशालामा बिहीबार भएको दोस्रो तथा अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भारतको युनाइटेड कर्साङ फुटबल क्लब (युकेएफसी)लाई ३–१ गोल अन्तरले पराजित गर्दै एनआरटीले फाइनलका लागि लिग च्याम्पियन चर्च ब्वाइजसँगको भेट पक्का गरेको हो।
अब उपाधिका लागि २६ माघमा एनआरटीले चर्च ब्वाइजको सामना गर्नेछ। निकै प्रतिस्पर्धात्मक खेलमा खेलको २८औँ मिनेटमा एनआरटीका शिशिर लेखीले पहिलो गोल गरे। उनले विदेशी खेलाडी गिदोन नाहाको पासमा सुन्दर गोल गर्दै टिमलाई अग्रता दिलाए। लगत्तै, खेलको ३१औँ मिनेटमा युकेएफसीका नबोदित नार्जिनरीको पासमा हेमराज भुजेलले गोल फर्काए। उनले तीन मिनेट नबित्दै गोल फर्काउर्दै बराबरीमा ल्याए। खेलको ४५औँ मिनेटमा एनआरटीका प्रदीप बुढाथोकीले गोल गर्दै युकेएफसीलाई एक गोलले पछि पारेको थियो।
पहिलो हाफको खेल सकिदासम्म युकेएफसी एक गोलले पछि परेको थियो। खेलको ७६औँ मिनेटमा एनआरटीका प्रदीप बुढाथोकीले थप एक गोल गर्दै टिमका लागि सहज जित निकालेका थिए। उनले शिशिर लेखीको पासमा निर्णायक गोल गर्दै एनआरटीलाई फाइनलको यात्रा तय गराए। खेलमा प्रदीपले व्याक्तिगत दुई गोल गरेका थिए।
खेलको म्यान अफ द म्याच पनि एनआरटीका शिशिर लेखी नै घोषित हुँदा नगद १० हजारसहित ट्रफी पाए।