राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेको सांसद पद निलम्बन फुकुवा गर्न माग गरेको छ। प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद सोबिता गौतमले सत्तासीन गठबन्धनको रणनीतिक षड्यन्त्रको साक्षी बनेर संसद् सचिवालयले नियमावलीविपरीत गरेको निलम्बन फुकुवा गर्न माग गरेकी हुन्।
संसदीय छानबिन समितिले लामिछानेलाई सहकारी ठगीमा संलग्न नरहेको प्रतिवेदन दिए पनि सरकारले ठगी, त्यसले नपुगेर संगठित अपराध र निलम्बन गर्नका लागि सम्पत्ति शुद्धीकरण मुद्दा लगाएको भन्दै गौतमले अदालतले निसाफ दिनुअघि नै दुषित मुद्दा उठानकर्ताको पत्रको आधारमा संसद्ले लामिछानेलाई निलम्बन गर्नु दुःखद भएको बताइन्।
महागठबन्धनको सरकारलाई संसदीय छानबिन समितिले प्रतिवेदनको ४४९ पृष्ठमा ‘सहकारीको पैसा अपचलनमा रवि लामिछानेको संलग्नता भेटिएन’ भनेको विषयमा ठगी मात्र पर्याप्त नठानी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोजन गर्न कत्ति पनि संकोच नै लागेन,’ उनले भनिन्, ‘हामी बुझ्छौँ- नयाँ शक्तिलाई दमन गर्न यति बल त लगाउने पर्यो। तर, संसद् सचिवालयलाई सरकारको दमनको साक्षी बन्न संकोच किन लागेन सभामुख महोदय ?’
यसप्रति आफ्नो र पार्टीको तर्फबाट खेद प्रकट गर्दै सांसद गौतमले भनिन्, ‘संसद् सचिवालयले यो निर्णय छिटोभन्दा छिटो सच्याओस् र निलम्बन फुकुवा गरोस्।’