नेपालमा युवा पुस्तामा पनि क्यान्सरको जोखिम बढेको छ । क्यान्सर उपचार गराउने विशिष्टीकृत सरकारी अस्पतालहरूमा उपचार गराउन आउने बिरामीमध्ये युवा अनुहार पनि देखिएपछि चिन्ता गर्नुपर्ने अवस्था आएको हो ।
कम उमेर समूहकालाई पनि क्यान्सर देखिँदा त्यसले भविष्यमा ठुलोे असर पार्ने भन्दै सचेत हुन चिकित्सकहरूले चेतावनी दिएका छन् । भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. उज्ज्वल चालिसेले पछिल्लो समय युवावर्गमा समेत क्यान्सरदर बढ्दै गइरहेकाले यसको उपचारमा चुनौती थपिएको बताए । उनका अनुसार भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउन आउनेमध्ये फोक्सो, स्तन, पाठेघर, ठुलोे आन्द्रालगायत क्यान्सरका बिरामी बढी हुन्छन् । पछिल्लो समय २५–३० वर्षका महिलामा स्तन क्यान्सर बढ्दै गइरहेको उनको भनाइ छ ।
‘क्यान्सरका चार चरण हुन्छन्, सुरुको चरणमा पत्ता लागे अधिकांश उपचार सम्भव हुन्छ । पहिलो चरणको क्यान्सर ९० प्रतिशत, दोस्रो चरणको ७० प्रतिशत, तेस्रो चरणको ५० प्रतिशत र चौथो चरणको क्यान्सर १५ प्रतिशत मात्रै निको हुन्छ,’ डा. चालिसेले भने, ‘हामीकहाँ आउनेमध्ये तेस्रो र चौथो चरणका बढी छन्, त्यसैले नतिजा राम्रो आउँदैन, निको पनि हुँदैन, ढिलो आएपछि उपचार पनि कठिन र मृत्युदर बढी देखिएको छ ।’ उनका अनुसार तुलनात्मक रूपमा हेर्दा पहिलेभन्दा अहिले सचेतना बढेका कारण सुरुवाती चरणमा पनि आउने बिरामीको संख्या बढ्दो देखिन्छ । हाल भक्तपुर अस्पतालमा पहिलो चरणका १० प्रतिशत, दोस्रो चरणका २० प्रतिशत, तेस्रो चरणका ४० प्रतिशत र बाँकी चौथो चरणका बिरामी उपचार गर्न आउँछन् ।
पाठेघरको क्यान्सरसम्बन्धी विज्ञ डा. सरिता घिमिरेले नेपालमा क्यान्सर भयावह भइरहेको बताउँदै यसबारे सचेत हुने वेला आएको बताइन् । ‘क्यान्सर अत्यधिक फैलँदो छ, युवावर्गमा पनि यो बढ्दो देखिन्छ । त्यसैले हाम्रो खानपानदेखि हरेक कुरामा आफूलाई सुधार्न जरुरी छ,’ उनले भनिन्, ‘महिलाहरूमा मृत्युको मुख्य कारण पाठेघरको क्यान्सर बनिरहेको छ ।’
नेपालमा हरेक वर्ष क्यान्सरका २० हजार नयाँ बिरामी पहिचान हुने गरेका छन् । स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार हरेक वर्ष २० हजार मानिसलाई क्यान्सर रोग देखिने गरेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले ग्लोवो कोम नामक संस्थाले सन् २०२० मा गरेको अध्ययनअनुसार नेपालमा हरेक वर्ष औसतमा २० हजारजनामा क्यान्सर पहिचान हुने गरेको देखाएको बताए । यो तथ्यांकलाई आधिकारिक मानेर मन्त्रालयले रणनीति बनाएर काम गरिरहेको उनको भनाइ छ । ‘नेपालमा हरेक वर्ष २० हजारमा क्यान्सर पहिचान हुन्छ, यो भयावह अवस्था हो, तर यसको नियन्त्रणमा राज्य मात्रै लागेर हुँदैन, आमनागरिक पनि यसतर्फ बढी सचेत हुनुपर्छ,’ उनले भने, ‘अहिले सचेत नहुने हो भने अझ भयावह हुन्छ, युवाहरूमा पनि क्यान्सरदर डरलाग्दो अवस्थामा छ ।’
विश्व क्यान्सर दिवसको अवसरमा मंगलबार ‘पृथक्तामा एकता क्यान्सर भोगाइका कथाहरू’ नारासहित नेपालमा पनि क्यान्सर दिवस मनाइँदै छ । स्वास्थ्य मन्त्रालयले सोही दिवसका अवसरमा बालिकालाई एचपिभी खोप अभियानसमेत आजदेखि सुरु गर्दै छ । तर, यतिले मात्रै क्यान्सर नियन्त्रण गर्न पर्याप्त नहुने बुढाथोकीले बताए । विगतका वर्षमा मन्त्रालयले विश्व क्यान्सर दिवसको अवसरमा सचेतना जगाउने कार्यक्रम मात्रै गरे पनि यसपटक भने खोप अभियान नै सञ्चालन गर्दै छ ।
मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वार्षिक १६ हजार ६ सयको मृत्यु क्यान्सरकै कारण हुन्छ । सबैभन्दा बढी क्यान्सर मुख, फोक्सो, पाठेघर, स्तन, पेट र आन्द्राको छ भने बालबालिकामा रगत र आँखाको क्यान्सर बढी छ । क्यान्सरविज्ञका अनुसार संक्रमणले हुने क्यान्सर खोपले रोकथाम गर्न सकिन्छ । नसर्ने क्यान्सर नियन्त्रण गर्न जीवनशैली नै परिवर्तन गर्न जरुरी देखिन्छ ।
नेपालमा क्यान्सर उपचारलाई सहज बनाउन यसपटक ३५ भन्दा बढी प्रकारका किमोथेरापीसम्बन्धी ओषधि ल्याइँदै छ । अमेरिकाको सेन्ट जुड संस्थाको सहयोगमा माघको अन्तिमसम्म ती औषधि नेपाल ल्याउन लागिएको हो । यसबाहेक क्यान्सर रोगका बिरामीलाई सहजीकरण गर्न मन्त्रालयले १४ मंसिरबाट १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार निःशुल्क गर्ने निर्णयसमेत गरेको थियो । हाल वयस्क उमेरका व्यक्तिलाई पनि निःशुल्क औषधि उपलब्ध गराउन मन्त्रालयले अध्ययन गरिरहेको प्रवक्ता बुढाथोकीले बताए । ‘हाल क्यान्सर नियन्त्रण गर्न ७७ वटै जिल्लाका स्वास्थ्यकर्मीलाई पेन प्याकेज तालिम चलिरहेको छ । क्यान्सरको मुख्य कारक सुर्तीजन्य पदार्थ भएकाले यसको नियन्त्रण अभियान चलिरहेको छ,’ उनले भने, ‘तर यो पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन, अब मुखको क्यान्सर र स्तन क्यान्सरका लागि स्क्लिनिङ टेस्ट अभियान पनि सुरु भएको छ, राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति सन् २०२४–२०३० जारी भएको छ, यसले क्यान्सर नियन्त्रणमा ठुलोे भूमिका खेल्नेछ ।’
एक वर्षमा एक अर्ब ११ करोड सहयोग
संसारभर क्यान्सर उपचार निकै महँगो मानिन्छ । विपन्न नागरिकका लागि यो पहँुचबाहिर जस्तै भएकाले सरकार तथा विभिन्न संघसंस्थाले आर्थिक सहयोग गर्दै आइरहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार मन्त्रालयको विपन्न नागरिक औषधिउपचार कोषबाट एक लाख र प्रदेशले पनि ५० हजारदेखि दुई लाख रुपैयाँसम्म अनुदान दिने गरिएको छ । गत आर्थिक वर्षमा केन्द्र सरकारबाट सहयोगस्वरूप एक अर्ब ११ करोडभन्दा बढी खर्च भएको छ । हाल क्यान्सरका बिरामीको तथ्यांक एकीकृत गर्न विद्युतीय माध्यमबाट तथ्यांक एकीकृत गर्ने कार्य पनि सुरु भएको छ । भक्तपुर क्यान्सर अस्पतालका प्रमुख डा. उज्ज्वल चालिसेका अनुसार क्यान्सरको उपचार गर्न सरकारी अस्पतालमा आएका अधिकांश बिरामी आर्थिक अवस्थामा निकै दयनीय भएकाहरू छन् ।
कहाँ–कहाँ हुन्छ क्यान्सरको उपचार ?
हाल नेपालमा क्यान्सरका डेडिकेटेड सरकारी अस्पताल तीनवटा मात्रै छन् । जसमा भक्तपुर क्यान्सर अस्पताल, भरतपुर बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र नेपालगन्जस्थित सुशील कोइराला क्यान्सर अस्पताल पर्छन् । यसबाहेक वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, धरानस्थित बिपी कोइराला अस्पताल, कान्ति बाल अस्पताललगायतमा पनि क्यान्सरको केही हदसम्म उपचार हुने गरेको छ । तर, बिरामीको संख्या हेर्दा क्यान्सर उपचारको संरचना कम भएको डा.उज्ज्वल चालिसेले बताए । उनका अनुसार क्यान्सर हुनेमध्ये कतिपय भारत र निजी अस्पतालमा पनि जाने गरेका छन् ।