जारी महिला त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेपाल र थाइल्यान्डबिच खेल हुँदै छ । टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेलमा थाइल्यान्डले टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । योसँगै नेपालले पहिला बलिङ गर्ने भएको छ ।
जारी सिरिजमा नेपाल लगातार तेस्रो हार व्यहोरेर दबाबमा रहेको छ । नेपालका लागि आजको खेल जित्नैपर्ने अवस्था रहेको छ । नेपालले यसअघि नेदरल्यान्डससँग दुईपटक हार व्यहोरेको छ भने थाइल्यान्डसँग एक खेलमा हार व्यहोरेको थियो । त्यस्तै, थाइल्यान्डले भने लगातार तेस्रो जित हासिल गर्दै सिरिजमा उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
तीन-तीन खेलको राउन्ड रोबिनका आधारमा जारी रहेको यस सिरिजमा ५ फेब्रुअरीमा नेपाल र नेदरल्यान्डस, ६ फेब्रुअरीमा नेदरल्यान्डस र थाइल्यान्ड तथा ७ फेब्रुअरीमा नेपाल र थाइल्यान्डबिच खेल हुने क्यानले जानकारी दिएको छ ।
क्यानले यस सिरिजका लागि इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको छ । नेपाली टिममा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, अलिशा के यादव, रोमा थापा, मनीष उपाध्याय र ईश्वरी विष्ट रहेका छन् ।