राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध सरकारी वकिल कार्यालयले चौथो मुद्दा दायरको तयारी गरेको छ। प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा चितवनमा मंगलबार मुद्दा दायर हुन लागेको हो।
जिबी राईको समूहले सञ्चालन गरेको सहारा चितवन बहुउदेश्यीय सहकारीको रकम हिनामिनामा लामिछानेसहित थप १४ जनालाई मुद्दा चलाउन लागिएको छ। मूल मुद्दा गत ८ असोजमा दायर भइसकेको छ। त्यति वेला सहकारी ठगी मुद्दा मात्र दायर भएकोमा यसपटक संगठित अपराधको कसुरसमेत जोडेर मुद्दा दायर हुन लागेको हो।
थप १४ जनाविरुद्ध करिब ३८ करोड रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गर्ने तयारी सरकारी वकिल कार्यालयको छ। सो सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको र लामिछानेले चेक काटेर खर्च गरेको आधारमा उनलाई पनि प्रतिवादी बनाउन लागिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलका अनुसार मंगलबार पूरक अभियोगपत्र दायर हुने सम्भावना छ। ‘यसअघि करिब ३७ करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो,’ उनले भने, ‘सहकारीका २५ जना सदस्यले थप ४३ लाख रुपैयाँको जाहेरी दिनुभएको छ, त्यसलाई पनि जोडेर मुद्दा चलाउँछौँ।’
यसअघि प्रत्यक्ष रूपमा सहकारी ठगीमा संलग्नलाई प्रहरीले मुद्दा चलाएको थियो। यसपटक सहकारीबाट गएको रकम खर्च गर्ने भूमिकामा रहेकालाई पनि प्रतिवादी बनाउन लागिएको छ। संसदीय छानबिन समितिले समेत सहकारीबाट पैसा लैजाने भूमिकामा लामिछानेको संलग्नता नदेखिएको भनेर प्रतिवेदन दिँदा पनि उनलाई मुद्दा चलाइएको रास्वापाको दाबी छ।
लामिछानेविरुद्ध यसअघि कास्की, काठमाडौं र रुपन्देहीमा मुद्दा दायर भइसकेको छ। जसमा कास्कीमा ६५ लाख, काठमाडौंमा ६० लाख र रुपन्देहीमा उनलाई एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको थियो।
पर्सामा पनि प्रहरीले अनुसन्धान टुंगाएर सरकारी वकिललाई फाइल बुझाउने तयारी गरेको छ।
जिबी राईको समूहले सञ्चालन गरेका विभिन्न सहकारीको रकम गैरकानुनी रूपमा गोर्खा मिडियामा लगिएको र प्रबन्ध निर्देशकका रूपमा लामिछानेले पनि त्यो रकम खर्च गर्ने भूमिकामा रहेको भन्दै उनीविरुद्ध सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग पनि लगाइएको छ। रास्वपाले भने राजनीतिक प्रतिशोधका आधारमा लामिछानेविरुद्ध मुद्दा दायर गरिएको भन्दै विरोध गर्दै आएको छ।