१. बच्चालाई स्तनपान गराउने आमाको संख्या घट्नुले के संकेत गर्छ ?
हामीले पनि यस विषयमा गहन अध्ययन गरेका छौँ । हाम्रो अध्ययनले पनि स्तनपान गराउने आमाको संख्या घटिरहेको देखाएको छ । यसका केही कारण देखिन्छन् । सहरी क्षेत्रका कामकाजी महिलाले काम नगरी जीविका चलाउन कठिन छ । काममा जानुपर्नेले चाहेर पनि स्तनपान गराउन सम्भव नहुन सक्छ । कतिपय आमाले देखासिकीले पनि स्तनपान नगराएको देखिन्छ । उनीहरूमा स्तनपान गराउँदा फिगर या ब्युटी बिग्रिन्छ भन्ने डर देखिन्छ । ‘फर्मुला फिडिङ कम्पनी’ हरूको आकर्षक विज्ञापनमाथिको विश्वासले पनि यो संख्यामा कमी ल्याउन सघाएको छ । कतिपयमा चाहिँ यसको महŒवबारे थाहै नभएको पनि देखिन्छ ।
२. स्तनपानबाट वञ्चित बच्चामा कस्ता असर पर्न सक्छन् ?
स्तनपान नगराउनुको सबैभन्दा ठुलो असर भनेको आमा र बच्चाबीचको ‘बन्डिङ’ कम हुनु हो । आमाको दुध खान नपाउँदा बच्चाको रोगप्रतिरोधी क्षमता कमजोर हुन्छ । स्तनपान गराउने आमाको महिनावारी ढिलो हुन्छ । जसले गर्दा पुनः गर्भवती बन्ने सम्भावना कम हुन्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहनुपर्दैन । आमाको दुध निःशुल्क प्राप्त हुन्छ र यसलाई स्टोर गरेर राख्न पनि सकिन्छ । प्रसूति गृहमा ‘ह्युमन मिल्क बैंक छ, जहाँ आमाको दुध संरक्षण गरेर राखिन्छ ।
३. ‘फर्मुला फिडिङ’विरोधी कानुन कार्यान्वयनमा किन समस्या आएको होला ?
कानुनतः आमाको दुधको ‘सप्लिमेन्ट’ भनिएका वस्तुको विज्ञापन गर्न पाइँदैन । तर, कसैले स्वस्फूर्त रूपमा खोजी गरेमा दिनुपर्छ । यसलाई रोक्ने हो भने सरकारले नियमनमा कडाइ गर्नुपर्छ र ‘यो आमाको दुधको विकल्प होइन, यसले कत्ति पनि फाइदा दिँदैन। यो बच्चाका लागि हानिकारक छ’ भन्ने सूचना त्यस्ता सामग्रीका बट्टामा ९० प्रतिशत ढाक्नेगरी राख्नैपर्ने व्यवस्था गर्नुपर्छ ।