देशकै अति दुर्गम हुम्ला जिल्लाको ताँजाकोट गाउँपालिकाका नागरिकलाई स्वास्थ्य संस्था पुग्न निकै कठिनाइ छ। ताँजाकोटस्थित मैला स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल हुम्ला पुग्न तीन दिनको पैदल यात्रा गर्नुपर्छ। गाउँपालिकाको जिवना, भैसामाज, गोठेलबाडालगायत गाउँका बासिन्दालाई मैला स्वास्थ्य चौकी पुगेर सामान्य चेकजाँच गर्न पनि एक दिन लाग्छ।
तर, मैला स्वास्थ्य चौकीमा नर्सका रूपमा अनिता थापा आएपछि पछिल्लो दुई वर्षयता गर्भवती महिलालाई घण्टौँको पैदल यात्रा गर्नुपरेको छैन। गर्भवती महिलाहरूको चेकजाँचका लागि अनिता साथमा उपकरण बोकेर आफैँ गाउँ पुग्छिन्। पहिले स्वास्थ्य संस्थासम्म पुग्ने अफ्ठ्यारा बाटा र समयका कारण धेरै गर्भवतीले ज्यान गुमाएको स्मरण गर्दै स्थानीय मर्मा सार्कीले अहिले अवस्था फेरिएको बताइन्।
२२ वर्षीया मर्मा स्वास्थ्यकर्मी अनिता आफ्ना लागि भगवानजस्तै भएको बताउँछिन्। केही महिनाअघि मात्र आफ्नो पेटको बच्चा उल्टो रहेको र टाउकोमा पानी जमेर ठुलो भइसकेको थाहा पाए पनि आर्थिक अभावले उनले घरमै प्रसूति गराउने निर्णय लिइन्। तर, अन्तिम अवस्थामा अनिताले आफ्नै जोडबलमा बाजुराको कोल्टी स्वास्थ्य चौकी लगेर ज्यान जोगाइदिएको उनले सुनाइन्।
गत मंसिरमा अनिताले उच्च रक्तस्राव भएकी ताँजाकोट– ४ ढकालटोलकी २३ वर्षीया जनसरा ढकालको ज्यान जोगाइन्। मैला स्वास्थ्य चौकीमा उपचार हुन नसक्दा अनिताले गर्भवती ढकाललाई आफैँ कोल्टी स्वास्थ्य चौकी पुर्याएर उपचार गरी ज्यान बचाएकी हुन्।
यस्तै, उनले वडा नं. १ की १८ वर्षीया अवकति खड्कालाई पनि उच्च रक्तस्राव हुँदा बाजुराको कोल्टी स्वास्थ्य चौकी पुर्याएर ज्यान जोगाएकी छिन् । मर्मा, जनसरा, अवकति अनिताको सेवाभावका केही उदाहरण हुन्। यस्ता जटिल प्रकृतिका धेरै गर्भवती महिलाहरूलाई अनिताले बचाएकी छिन्।
बाजुराको बुढीगंगा नगरपालिका– ६ साइलकी ३१ वर्षीया अनिता दुई वर्षदेखि हुम्लाको ताँजाकोट गाउँपालिकास्थित मैला स्वास्थ्य चौकीमा कार्यरत छिन्। उनले आठ वर्ष जिल्ला अस्पताल बाजुरामा काम गरिन्। जिल्ला अस्पतालमा कार्यरत रहँदै कर्णाली प्रदेश लोकसेवाबाट सरकारी सेवामा नाम निकाल्न सफल भएपछि उनी हुम्ला आएकी हुन्।
गाउँमा उपचार नपाएर मृत्युसँग लडिरहेका आमाहरूलाई हुम्लाको विकट स्थानबाट सुविधासम्पन्न अस्पताल लगेर उपचार गराएर घर फर्काउन पाउँदा आफूलाई खुसी मिल्ने अनिता बताउँछिन्।
मैला स्वास्थ्य चौकीबाट जिल्ला अस्पताल हुम्ला पुग्न तीन दिनको पैदल यात्रा गर्नुपर्छ। यस्तो दुर्गम ठाउँमा बसेर पनि दर्जनौँ गर्भवतीको ज्यान जोगाउन अनिताले गरेको प्रयास प्रशंसनीय रहेको ताँजाकोट गाउँपालिकाका स्वास्थ्य संयोजक धनराज ढकालले बताए।