सामाजिक सञ्जाल विधेयक २०८१ मा ‘मालइन्फोर्मेसन’लाई समेटिएकै छैन, जबकि यस्तो सूचना समाजका लागि झनै खतरनाक हुन्छ
भन्ने गरिन्छ, ‘कलम र जिब्रो सोचेर चलाउनुपर्छ’ किनकि कलमको प्रभाव र जिब्रोले दिएको चोट लामो समयसम्म रहन्छ । संविधानले अभिव्यक्ति स्वतन्त्रता दिए पनि त्यसको सीमासमेत निर्धारित गरेको छ । तर, आधुनिकीकरण र वैज्ञानिक प्रविधिमा आएको परिवर्तनसँगै अभिव्यक्ति स्वतन्त्रता र त्यसका सीमा भत्किएका छन् । यसले विकासका पाइला अघि सार्दै गर्दा केही नयाँ र नौला समस्याको सामना गर्नुपरिरहेको छ । यस्ता अनेक समस्यामध्ये ‘गलत सूचना’ पनि अग्रस्थानमा पर्छ । मुख्यतः गलत सूचना दुई प्रकारका पाइन्छन् । पहिलो– ‘मिथ्या सूचना’ जसलाई अंग्रेजीमा ‘मिसइन्फोर्मेसन’ भनिन्छ र अर्को ‘भ्रामक सूचना’ जसलाई अंग्रेजीमा ‘डिसइन्फोर्मेसन’ भनिन्छ । सामाजिक सञ्जालमा लुकिछिपी मिसिन आउने यस्ता भ्रामक समाचार तथा सूचनाले दैनिक जीवनमा गम्भीर समस्या सिर्जना गर्छन् ।
समाधानको खोजी : यस्तो समस्याको समाधान भनेको सूचनालाई प्रभावकारी ढंगले नियमन तथा नियन्त्रण गर्नु नै हो । सामाजिक सञ्जालमा आउने भ्रामक सूचनालाई कानुनी दायरामा ल्याई कसुरदारलाई हदैसम्मको सजाय दिलाउन ‘सामाजिक सञ्जाल विधेयक २०८१’ हाल राष्ट्र सभामा पेस भएको छ ।
विज्ञहरूको अभिव्यक्ति : सामाजिक सञ्जाल विधेयकबारे विभिन्न टिप्पणी भएकाले ‘लिगल रिसर्च सोसाइटी’ले सहिद दिवसको अवसर पारी ‘मिसइन्फोर्मेसन’ एन्ड डिसइन्फोर्मेसन’ छलफल कार्यक्रम आयोजना गरी सम्बन्धित विज्ञलाई आमन्त्रित गरेको थियो । कार्यक्रमका वक्ता काठमाडौं विश्वविद्यालय स्कुल अफ आट्र्सका प्राध्यापक डा. सुधांशु दाहालका सुझाव मननीय छन् । उहाँ भन्नुहुन्छ– ‘मिसइन्फोर्मेसन’ भन्नाले झुक्किएर वा सामान्य त्रुटि भएर फैलिएको गलत सूचना हो भने ‘डिसइन्फोर्मेसन’चाहिँ नियतवश हुँदै नभएका कुरालाई कसैलाई हानि पु¥याउने नियतले फैलाइएको भ्रामक सूचना हो । यी दुईभन्दा पनि खतरनाक ‘द्वेषपूर्ण जानकारी हो’ जसलाई अंग्रेजीमा ‘मालइन्फोर्मेसन’ भनिन्छ । उहाँले ‘मालइन्फोर्मेसन’लाई गोपनीयता भंग गरी अनावश्यक रूपमा कसैलाई नियतवश पीडा तथा समस्या दिने नियतले फैलाइएको सूचनाका रूपमा व्याख्या गर्नुभयो । उहाँ भन्नुहुन्छ– ‘सामाजिक सञ्जाल विधेयक २०८१’ मा मालइन्फोर्मेसनलाई समेटिएकै छैन, जबकि यस्तो सूचना समाजका लागि झनै खतरनाक साबित हुन्छ । भाषाले पनि सूचना सम्प्रेषणमा निकै प्रभावकारी भूमिका निर्वाह गर्छ । तर, यस विधेयकमा कस्तो सूचनालाई ‘मिसइन्फोर्मेसन’ र कस्तोलाई ‘डिसइन्फोर्मेसन’ भन्नेबारे परिभाषा स्पष्ट छैन ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले समेत ‘सामाजिक सञ्जाल विधेयक २०८१’ को दफा २० मा रहेको ‘साइबर स्टकिङ’ को परिभाषा नै गलत रहेको बताउनुभयो । अतः यसमाथि थप दफाबार छलफल नगरी जस्ताको त्यस्तै अघि बढाउनु उचित हुँदैन भन्ने बाँस्कोटाको भनाइ छ । बाँस्कोटा भन्नुहुन्छ– हतार गरी पेस गरिएको विधेयकलाई कानुन बनाउँदा समस्या आउन सक्छन् । तर, अहिलेको अवस्थामा आवश्यक परेको हुनाले सकभर केही प्रतिशत भए पनि भ्रामक सूचनाको नियमन तथा नियन्त्रण गर्न यो विधेयक आएको हो । वरिपरि जंगल भएको स्थानमा
चट्याङ पर्दा रुखमुनि बस्नु खतरनाक साबित हुने भए पनि जताततै रुख नै रुख रहेकाले चट्याङबाट बच्न रुखकै सहारा लिनुपर्ने पनि हुन्छ भन्ने बाँस्कोटाको भनाइ छ ।
कानुनका विभिन्न प्रकारमध्ये एक सामाजिक कानुन पनि हो । खासमा कुनै पनि कानुनलाई समाजमा कार्यान्वयन गर्न सामाजिक कानुनको रूप धारण गर्नुपर्ने हुन्छ । समाजले नअपनाएसम्म जस्तोसुकै कानुन बने पनि समाजमा कार्यान्वयन हुन सक्दैन । यस विषयमा पत्रकार तथा सञ्चारकर्मीको पनि गुनासो छ । कार्यक्रममा सञ्चारकर्मी टीकाराम यात्रीले भन्नुभयो– ‘अहिलेको अवस्थामा समाजले विशेषज्ञको भनाइ र रायभन्दा बढी कुनै सामाजिक सञ्जालमा भाइरल भएका सोसल मिडिया स्टारहरूको भनाइलाई बढी महत्व दिने र अझ बढीभन्दा बढी सेयर गर्ने गर्छ । यसले भ्रामक सूचना फैलाउन निकै प्रभावकारी भूमिका निर्वाह गर्छ ।’ उहाँको यो तर्कले सामाजिक सञ्जालमा आएका सूचनालाई विचार गरेर मात्र विश्वास गर्नुपर्ने सन्देश दिन्छ ।
समाधान : प्राडा सुधांशु दाहाल भन्नुहुन्छ– भ्रामक सूचनाबाट बच्ने केही उपाय छन् । जसलाई प्रयोग गर्ने हो भने केही हदसम्म यसलाई रोकथाम गर्न सकिन्छ ।
१. पर्खनुस् : कुनै पनि सूचनालाई आँखा चिम्लेर विश्वास गरेर आफ्नो सामाजिक सञ्जालमा सेयर गर्नुभन्दा पहिले पर्खनुस्, सोच्नुस्, सत्य या असत्य जाँच गर्नुहोस् अनि मात्र विश्वास गर्नुहोस् ।
२. सूचनाको जाँच गर्नुहोस् : आफूले पाएको सूचना कति सत्य हो, जाँच गर्ने केही ‘प्लाटफर्म’ तथा ‘साइट’ छन् । जस्तै ‘फ्याक्ट चेक डट ओआरजी, पोलिटी फ्याक्ट, अल्ट न्युज, नेपाल फ्याक्ट चेक डट ओआरजी आदि ।
३. आधिकारिकता : कुन सूचना कोबाट आएको हो ? लेखक को हो ? वक्ता को हो ? जाँच गर्नुहोस् । कुनै विषयमा विशेषज्ञ व्यक्तिले लेखेको वा भनेका कुरालाई मात्रै विश्वासमा लिनुहोस् ।
यस्ता उपाय प्रयोगमा ल्याउने हो भने भ्रामक सूचनाबाट जोगिन सकिन्छ । कानुन र त्यसको कार्यान्वयनका आफ्नै पाटा छन्, तर आफ्नो सुरक्षाको जिम्मेवारी सर्वप्रथम आफैँले आफ्नो हातमा लिनुपर्छ । प्रविधिलाई सकारात्मक रूपमा आत्मसात् गर्ने हो भने त्यसबाट सबैको हित हुन्छ । विज्ञान र प्रविधि दुवै वरदान हुन् । भ्रमको खेती गरेर यिनलाई दूषित बनाउँदै श्रापमा परिणत हुन दिनुहुँदैन ।
(लिगल रिसर्च सोसाइटीका सदस्य बख्रेल कानुनका विद्यार्थी हुन्)