भारतले लगातार दोस्रोपटक आइसिसी महिला यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता जितेको छ । आइसिसीले विश्वकपभरि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी समेटेर ड्रिम ११ टोली घोषणा गरेको छ । ड्रिम ११ मा नेपालकी कप्तान पूजा महतोले पनि स्थान बनाएकी छिन् । सुपर ६ मा नपुगेका राष्ट्रमध्येबाट उनले मात्र स्थान सुरक्षित गरेकी हुन् । ड्रिम ११ मा च्याम्पियन भारतबाट सर्वाधिक चार र उपविजेता दक्षिण अफ्रिकाबाट दुई खेलाडी छनोट भएका छन् । नेपालकी पूजालाई अलराउन्डर खेलाडीका रूपमा आइसिसीले राखेको छ । दक्षिण अफ्रिकाकी कायलालाई कप्तानी जिम्मेवारी दिएको ड्रिम ११ मा १२औँ खेलाडीमा दक्षिण अफ्रिकाकी निनी रहेकी छिन् ।
१. त्रिषा गोन्गाडी (भारत)
रनः ३०९, औसत : ७७.२५, उच्च : १००
भारतले लगातार दोस्रोपटक यू–१९ विश्वकप ट्रफी उचाल्दा ब्याटिङमा त्रिशाले उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । विशेषतः उनले फाइनलमा अलराउन्ड प्रदर्शन नै गरेकी थिइन् । ब्याटिङ गर्ने क्रममा उनले ३३ बलमा ४४ रनको योगदान गरिन् । साथै, बलिङ इनिङ्समा उनले १५ रन खर्चेर दक्षिण अफ्रिकाविरुद्ध तीन विकेट लिइन् । यसै असाधारण प्रदर्शनका कारण उनी प्रतियोगिताकै म्यान अफ दी सिरिज भइन् । आइसिसीको ड्रिम ११ मा त्रिषा ओपनरका रूपमा रहेकी छिन् ।
२. जेमा बोथा (द.अफ्रिका)
रनः १०५, औसत : २६.२५, उच्च : ३७
आइसिसीको ड्रिम ११ मा त्रिषाको ओपनिङ जोडीका रूपमा दक्षिण अफ्रिकाकी जेमा रहेकी छिन् । जेमाले सेमिफाइनलमा अस्ट्रेलियाविरुद्ध विस्फोटक ब्याटिङ गरेकी थिइन् । दक्षिण अफ्रिकाले १०६ रनको लक्ष्य पछ्याउँदा उनले २४ बलमा ३७ रनको योगदान गरिन् । जसमा चार चौका र दुई छक्का उनले प्रहार गरेकी थिइन् ।
३. डाभिना पेरिन (इंग्ल्यान्ड)
रनः १७६, औसत : ३५.२०, उच्च : ७४
योपटक इंग्ल्यान्डले फाइनल स्थान बनाउन सकेन । तर, उसका शीर्ष क्रमका खेलाडी निकै चलेका थिए । डाभिनाले प्रत्येक खेलमा इंग्ल्यान्डका लागि गतिलो योगदान दिइन् । क्रिजमा आक्रामक रूपमा प्रस्तुत हुने उनले अमेरिकाविरुद्ध दमदार प्रदर्शन गरेकी थिइन् । डिभानाले अमेरिकाविरुद्ध केबल ४५ बलमा ७४ रनको योगदान गरेकी थिइन् । आइसिसीको टोलीमा उनले तेस्रो क्रम ब्याटिङ जिम्मेवारी पाएकी छिन् ।
४. कामालिनी जी (भारत)
रनः १४३, औसत : ३५.७५, उच्च : ५६
भारतकी कामालिनीले कहिले पनि ओपनिङ गरेकी छैनन् । तर, उनको क्षमताअनुसार सहजै ओपनिङ पनि गर्न सक्छिन् । कामालिनीलाई मनपर्ने स्थान नै मध्यक्रम हो । उनले सेमिफाइनलमा साबिक उपविजेता इंग्ल्यान्डविरुद्धको ५६ रन बनाउँदा भारतले लगातार दोस्रोपटक फाइनल स्थान सुरक्षित गरेको हो । स्कटल्यानडविरुद्ध भारतले १५० रनको फराकिलोअन्तरले जित निकाल्दा उनले अर्धशतकीय इनिङ्स खेलेकी थिइन् ।
५. काओमिहे ब्राय (अस्ट्रेलिया)
रनः ११९, औसत : २९.७५, उच्च : ४५
आइसिसीको ड्रिम ११ मा अस्ट्रेलियाकी १५ वर्षीया काओमिहेले मध्यक्रम स्थान पाएकी छिन् । प्रतियोगिताको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध अस्ट्रेलियाबाट सर्वाधिक रन प्रहार गर्ने उनी मात्र हुन् । उनले ३६ रन बनाएकी थिइन् । ब्याटिङमा मात्र नभएर उनले अस्ट्रेलियाका लागि अलराउन्ड प्रदर्शन गरेकी थिइन् । काओमिहेले बलिङमा सात विकेट हात पारेकी थिइन् । उनलाई अलराउन्डर खेलाडीका रूपमा हेरिएको छ ।
६. पूजा महतो (नेपाल)
रनः ७०, उच्च : २७, बलिङ : ९ विकेट, उत्कृष्ट ४/९
यू–१९ विश्वकपमा नेपालले १३औँ स्थान हात पारेको थियो । नेपाल सुपर ६ मा पुग्न नसके पनि कप्तान पूजाले असाधारण खेल प्रस्तुत गरेकी थिइन् । प्ले अफ चरणसम्म उनी प्रतियोगिताकै सर्वाधिक विकेट लिने बलर थिइन् । नेपालले प्रतियोगितामा एक मात्र जित निकाल्दा पूजाले नै उत्कृष्ट प्रदर्शन गरेकी थिइन् । एक किसिमले नेपालको आशा उनी मात्र थिइन् । उनले ब्याटिङ, बलिङ र फिल्डिङमा प्रेरणादायी प्रदर्शन गरेकी थिइन् । यसै कारण उनी अलराउन्डर खेलाडीका रुपमा आइसिसीको ड्रिम ११ मा स्थान बनाउन सफल भएकी हुन् । समूह चरणबाटै बाहिरिएका राष्ट्रबाट पूजाले मात्र आइसिसीको टोलीमा स्थान बनाएकी हुन् । उनले ब्याटिङमा ७० रन तथा बलिङमा नौ विकेट लिइन् ।
७. कायला रेनेके (कप्तान), (द.अफ्रिका)
विकेट : ११, औषत : ६.२७, उत्कृष्ट ३/२
८. काटिए जोनेस (विकेटकिपर), (इंग्ल्यान्ड)
आउट : ९ (२ क्याच, ७ स्टम्पिङ)
९. आयुसी शुक्ला (भारत)
विकेटः १४, इकोनोमी : ३.०१, उत्कृष्ट ४/८
१०. चामोदी प्रावाडा (श्रीलंका)
विकेटः ९, इकोनोमी : ३.८०, उत्कृष्ट ३/५
११. वैष्णवी शर्मा (भारत)
विकेटः १७, इकोनोमी : ४.३६, उत्कृष्ट ५/५
विश्वकपकै उत्कृष्ट बलिङ रेकर्ड राखेकी भारतीय वैष्णवीले मलेसियाविरुद्ध असाधारण प्रदर्शन गरेकी थिइन् । उनले पाँच रन दिएर मलेसियाका पाँचै खेलाडीलाई आउट गरी सनसनी मच्चाएकी थिइन् । बायाँहाते स्पिनर वैष्णवीले मलेसियासँगको खेल ह्याट्रिकसमेत गरिन् । स्पिनर खेलाडीका रूपमा उनले भारतको बलिङ नेतृत्व गरेकी थिइन् ।
– श्रीलोचन राजोपाध्याय एजेन्सीको सहयोगमा