उत्तरपश्चिमी युरोपेली मुलुक इस्टोनियाले नेपालको साइबर सुरक्षामा सहयोग गर्ने आश्वासन दिएको छ ।
नेपालका लागि स्टोनियाका अवैतनिक वाणिज्यदूत नवराज दाहालसँगको भेटमा त्यहाँको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले डिजिटल प्रणालीको प्रयोग, विस्तार र साइबर सुरक्षाको क्षेत्रमा सहयोग गर्ने बताएका छन्।
उनीहरूले ई–गभर्नेन्स र साइबर सुरक्षासम्बन्धी विज्ञहरूलाई नेपाल पठाएर सरकारी कर्मचारी, निजी क्षेत्र (बैंकिङ र गैरबैंकिङ) तथा नेपालका विभिन्न विश्वविद्यालयमा सूचना प्रविधि (आइसिटी) विषय अध्ययनरत विद्यार्थीहरूलाई व्यावसायिक तालिम दिन सकिने बताएको दाहालले जानकारी दिए । ‘उहाँहरूले विज्ञहरूको टिम नै पठाएर नेपालमा प्रणाली विस्तार र साइब सेक्युरिटीबारे तालिम दिने प्रस्ताव गर्नुभएको छ,’ दाहालले भने, ‘म नेपाल फर्किएपछि परराष्ट्र मन्त्रालयमार्फत कुरा अघि बढाउँछु ।’
स्टोनिया सरकारी कामकाज, बैंकिङ प्रणाली, जागिर र चुनावलगायतमा शतप्रतिशत अनलाइन (डिजिटल) प्रणाली प्रयोग गरेको मुलुक हो । युरोपका अधिकांश देश र भारतसम्म स्टोनियाको अनलाइन व्यापारमा बलियो उपस्थिति छ । दाहालले स्टोनियाका अधिकारीहरूसमक्ष नेपाल विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरीय चिया, कफी र ह्याण्डीक्राफ्टका सामान उत्पादक मुलुक भएकाले ती सामानको बजार विस्तारमा सहयोग गर्न पनि आग्रह गरेको बताए ।
दाहालले सोमबार स्टोनियाको परराष्ट्र मन्त्रालयअन्तर्गत मानव अधिकार र आप्रवासनसम्बन्धी विभाग प्रमुख केटरिन किभी, सोही विभागअन्तर्गत अफ्रिका, मध्यपूर्व र एसिया प्रशान्त क्षेत्र हेर्ने ग्रेटी भेथर, संयुक्त राष्ट्रसंघीय संयोजक लिसा साफ्रिक, परराष्ट्र मन्त्रालयअन्तर्गतकै व्यापार, कूटनीति र मानव स्राेतसम्बन्धी विभागका निदेशक अर्बाे एन्टोन, शिक्षा आर्थिक कूटनीति हेर्ने विभागका पिप जाहिलो, व्यापार र कूटनीतिसम्बन्धी विभागका एसिया क्षेत्रका सल्लाहकार कार्मेन पाजुस्टे, ई–गभर्नेन्स एकेडेमीको तालिम दिनेसम्बन्धी विभागका प्रमुख एनेला किराट्स् र भारतका लागि इस्टोनियाका पूर्वराजदूत तथा रिहो क्रुभसँग भेटेका थिए ।
भेटबाट आगामी दिनमा नेपाल र स्टोनियाबिच आर्थिक र कूटनीतिक सम्बन्ध थप मजबुत, गतिशील र पारस्परिक रूपमा थप लाभदायी हुने विश्वास बढेको उनको बताए ।
यसअघि ‘इस्टोनिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री’का पदाधिकारीसँग पनि दाहालले भेटेका थिए । त्यस क्रममा नेपाल–इस्टोनिया चेम्बर अफ कमर्स स्थापना गर्नेबारे सहमति भएको थियो ।