मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २२ मंगलबार
  • Tuesday, 04 February, 2025
२o८१ माघ २२ मंगलबार १६:४३:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

जोखिमयुक्त झोलुङे पुलमार्फत यात्रा गर्न बाध्य भक्तजन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २२ मंगलबार १६:४३:oo

प्रसिद्ध धार्मिक स्थल देवघाटधाममा एकमहिने महामहोत्सव चलिरहेको छ । महामहोत्सव लागेसँगै भक्तजनको आगमन बढ्दो छ । भिड बढेपछि जीर्ण अवस्थामा पुगेको झोलुङे पुलमार्फत आवतजावत गर्न भक्तजन बाध्य भएका छन् । तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथिको झोलुङे पुलबाट आवतजावतमा समस्या हुनुका साथै जोखिममा यात्रा गर्न भक्तजन बाध्य छन् ।

भिड धेरै हुँदा पुल चुँडिने जोखिम भएपछि आवतजावतका लागि सीमा तोकिएको छ । भक्तजनको भिडका कारण तोकिएको सीमा पार हुने गरेको स्थानीय बताउँछन् । जोखिम न्यूनीकरणका लागि एकपटकमा एक सयजना मात्र आवतजावत गर्न स्थानीय प्रशासनले अनुमति दिएको छ । भिड बढी हुँदा अनुमति कार्यान्वयनमा आउन मुस्किल भएको छ । जोखिमबाट बच्नका लागि पुलको दुवैतर्फ प्रहरी परिचालन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा त्रिशूली नदीमा रहेको ४४ वर्ष पुरानो उक्त झोलुङे पुलमा तीर्थयात्रीको चाप बढ्दा जोखिम भएकाले सीमा निर्धारण गरिएको उल्लेख गरिएको छ । उक्त पुलमा वारपार गर्न नियन्त्रित रूपमा एकपटकमा एक सयजना व्यक्ति मात्रै आवतजावत गर्ने र मोटरसाइकल पूर्ण रूपमा बन्द गर्ने व्यवस्था मिलाउन जिल्ला प्रहरी कार्यालयसहित सबै सरोकारवालालाई निर्देशन दिइएको छ ।

सस्पेन्सन ब्रिज डिभिजन पुल्चोक ललितपुरले सोमबार जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाउँदै उक्त पुल तथा सर्वसाधारण यात्रुको सुरक्षाका लागि पुलमा सावधानीका सबै उपाय अवलम्बन गर्न अनुरोध गरेको थियो। सो ठाउँमा मोटरेबल पुल नहुँदा भक्तजन अझै पनि झोलुङे पुलमार्फत यात्रा गर्न बाध्य भएका छन् ।

वर्षौँ अघिदेखि मोटर चल्ने पुलको माग राखे पनि सुनुवाइ नहुँदा भक्तजन बढ्दाको समयमा समस्या भएको तनहुँको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए । माघेसंक्रान्ति मेला लाग्ने वेलामा मात्रै समस्या आउने गरेको जीर्ण अवस्थामा पुगेको झोलुङे पुलको यात्रामा अहिले अझ जोखिम बढेको उनले बताए।

‘देवघाटधाममा भक्तजनको हिन्दु धर्मावलम्बी आउने स्थान हो, सहज हुने गरी झोलुङे पुल भएकै स्थानमा मोटरेबल पुलको आवश्यकता छ,’ अध्यक्ष थापाले भने, ‘अकल्पनीय घटना नघटोस् भनेर पटक–पटक सम्बन्धित निकायसमक्ष यस स्थानमा मोटरेबल निर्माण गर्न माग गरिरहेका छौँ, तर हाम्रो मागको सुनुवाइ भने भएको छैन ।’ उनले पालिकाले मात्रै यहाँको पुल निर्माण गर्न सक्ने बजेट नहुँदा पनि प्रदेश तथा संघ सरकारसमक्ष माग गरिरहेका भए पनि बेवास्ता गर्ने गरेको पाएको बताए ।

चितवनको दासढुंगा, ठिमुरा र नवलपुरतर्फमा मोटरबल पुल छन् । तर, आफ्ना सवारीसाधन नभई दर्शनका लागि आउने भक्तजनलाई घुमाउरो पर्ने हुँदा पनि जोखिमयुक्त झोलुङे पुलमार्फत यात्रा गर्न भक्तजन बाध्य भएका हुन् । उक्त पुल ०३७ मा निर्माण गरिएको हो । भक्तजनको आवतजावत बढ्ने समयमा मर्मत गर्दै सञ्चालनमा ल्याउने गरिएको छ । दीर्घकालीन रूपमा समस्याको समाधान हुने अवस्थातर्फ भने सरकारको ध्यानाकर्षण गएको छैन ।