बेलायती राजकुमार एडवार्डकी श्रीमती सोफिया काठमाडौं आइपुगेकी छिन् ।
उनी बिहान त्रिभुवन विमानस्थलमा अवतरण भएकी हुन् । उनलाई परराष्ट्र मन्त्रालयका अधिकारी र नेपालस्थित बेलायतको दूतावासका कर्मचारीले स्वागत गरेका थिए । राजकुमार एडवार्ड भने केही समयपछि काठमाडौंमा अवतरण हुने जनाइएको छ।
काठमाडौं आएपछि उनीहरू दुवैजना लैनचौरस्थित बेलायती राजदूतावास जानेछन् । तालिकाअनुसार दिउँसो सवा ४ बजे दुवैजना शीतलनिवास प्रस्थान गर्नेछन् । त्यहाँ राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी पुनः लैनचौर फिर्ता आउने उच्च सुरक्षा स्रोतले जानकारी दियो । ६ दिनसम्म नेपाल भ्रमणमा रहने बेलायती राजकुमारदम्पती माघ २७ साँझ स्वदेश फिर्ता हुनेछन् ।