मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १३ आइतबार
  • Monday, 27 January, 2025
२o८१ माघ १३ आइतबार १२:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा दुई विद्यार्थीमाथि खेलमैदानमै हातपात

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १३ आइतबार १२:३४:oo

धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी भएका सल्यानटार माध्यमिक विद्यालयका दुईजना विद्यार्थीमाथि हातपात भएको छ । प्रतियोगितामा सहभागी भएका विश्वास श्रेष्ठ र कृष कुमाललाई सुजन श्रेष्ठ र केशव रिजालले खेलमैदानमै हातपात गरेका हुन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल मर्मका साथ त्रिपुरासुन्दरी गाउँपालिकाले माघ ११ गतेदेखि पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु गरेको हो । प्रतियोगितमा सहभागी भएका दुईजना विद्यार्थीलाई खेलमैदानमै हातपात गरेको सल्यानटार माध्यमिक विद्यालयका प्रधानाध्यापक ठानप्रसाद बसौलाले बताए ।

‘भाला हान्ने खेलका लागि हाम्रा विद्यार्थी खेलाडी मैदानमा थिए । भाँचिएको भाला दिएर खेल्न लगाएपछि विद्यार्थीले भाला परिवर्तन गर्न अनुरोध गरे । तर, उनीहरूले मानेनन्,’ उनले भने, ‘विश्वास र कृष भाला खेलमा सहभागी होइनन् । अन्य खेलमा सहभागी हुन् । तर, साथीहरूलाई भाँचिएको भाला दिएपछि विश्वास र कृषले भाँचिएको भाला समाएर देखाए । त्यसपछि भाला किन भाँचिस् भनेर हाम्रो विद्यार्थीलाई खेलमैदानमै सुजन श्रेष्ठ र केशव रिजालले घाँटीमा समाएर हातपात गरे ।’

विद्यार्थीलाई हातपात गरेपछि पालिकामा उपाध्यक्ष देवराज धरेललाई ध्यानाकर्षणपत्र बुझाएको प्रधानाध्यापक बस्यौला बताउँछन् । ‘तर, विद्यार्थी पिट्ने ठिक गर्यौँ भनेर हिँड्छन् । पालिका र आयोजक वास्तै गर्दैनन् । उल्टै उनीहरूले खेललाई निरन्तरता दिए । सुरक्षाको अनुभूति नभएपछि प्रतियोगिता छाडेर हामी फर्कियौँ,’ उनले भने ।

रानीपौवा माध्यमिक विद्यालयमा त्रिपुरासुन्दरी गाउँपालिकाको पाँचौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता भइरहेको छ । विद्यालयको खेलमैदानमै विद्यार्थीमाथि हातपात भएछ नि भन्ने प्रश्नमा रानीपौवा माध्यमिक विद्यालयका प्रधानाध्यापक शशिधर पाठकले भने, ‘सुजन र केशव हाम्रो छिमेकी हुन् । बाहिरका मानिसहरू दर्शक बन्न नपाउने भन्ने छैन । भालाको निहुँमा सामान्य धकेलाधकेल भएको भन्ने सुनेका हौँ । हामीले देखेका होइनौँ । हामीले खेलमैदान उपलब्ध गराएका हौँ । यो घटना र प्रतियोगिताको सबै जिम्मेवार निकाय पालिका नै हो ।’

प्रधानाध्यापक पाठकले विद्यार्थीलाई हातपात गर्नेहरू छिमेकी र खेल हेर्न आएका दर्शक भनेका छन् । रानीपौवा माध्यमिक विद्यालयमा सुजन श्रेष्ठका बुबा शिक्षक र केशव श्रेष्ठका बुबा कार्यालय सहयोगीको जिम्मेवारीमा छन् ।

ध्यानाकर्षणपत्र बुझेका पालिका उपाध्यक्ष देवराज धरेलले वडाध्यक्षसँग समन्वय गर्दा समस्या समाधान भएको जानकारी दिएको बताउँछन् । ‘प्रधानाध्यापकसँग पनि कुराकानी गरेको हो । उहाँहरू नखेल्ने भनेर जानुभयो । अध्यक्षलाई सम्बोधन गरिएको पत्र मैले बुझेर शिक्षा शाखामा पठाएको हो । समस्या समाधान भइसकेको भन्ने बुझेर मैले थप केही गरिनँ,’ उनले भने ।

पालिकाका शिक्षा अधिकृत चम्पा भट्ट यो विवादको समाधान भइसकेको बताउँछिन् । ‘दुईपटक भाला हानेर फल भयो । तेस्रोपटक यो भाला हान्दैनौँ भनेर भाला खोसेपछि विवाद उत्पन्न भएको हो । दुवै पक्षको गल्ती छ । सहमति भएर गल्ती गर्नेले माफी माग्यो । म विद्यार्थी ल्याउँछु भनेर प्रधानाध्यापक जानुभयो । तर, विद्यार्थी ल्याउनुभएन,’ उनले भनिन्, ‘सहमतिपछि ध्यानाकर्षणपत्र बुझाउनुभयो । खेलकुल समितिको बैठक बस्यौँ । उहाँहरू नआउने भन्नुभयो । खेल सुरु गरियो । अब फेरि उजुरी पर्‍याे भने छलफल होला, नभए यो विवाद टुंगिएको हो ।’