‘मेयरसाब, दारु बन्द गरिदिनुपर्याे । यसका कारण बालविवाह बढेको छ,’ अछाम कमलबजार नगरपालिका– ५ कुइकाकी १५ वर्षीया उर्मिला चलाउनेले नगर प्रमुख यज्ञप्रसाद ढकाललाई भनिन्, ‘मदिराकै कारण घर–घरमा बालविवाह भइरहेको छ । यो गाउँका पुरुषहरूले मदिरा खाएर आमा र छोरीहरूलाई गाली गर्छन् । हामीले डर, धम्की सहनुपर्छ । उजुरी गर्दा वडाध्यक्षलाई समेत धम्की दिन्छन् । यही समस्याले उमेर नपुगेका छोरीहरू विवाह गरी गाउँ छोड्न बाध्य छन्, योबारे गम्भीर भइदिनुपर्यो ।’
कुइकाको महाकाली माविमा आयोजित बाल कचहरी नामक छलफलमा बोल्दै उनले मदिरा नियन्त्रण गरी अभिभावकलाई चेतना दिने गरी गाउँगाउँमा छलफल चलाउनुपर्ने माग राखिन् ।
‘बुबाहरू मात्र होइन, सानै उमेरका छोराहरूसमेत मदिराकै लतमा छन्, गाउँ त बर्बाद भइसक्यो । गरिब, दलित र विपन्न समुदायका पुरुषले बढी यस्तो गर्छन्, उनीहरू हरेक रात घरमा आतंक मच्चाउँछन्,’ छलफलपछि बाटोमा भेटिएकी एक महिलाले सुनाइन्, ‘यो मदिराले कलिला छोरीहरू आफ्नै बुबा, काका र दाइसँग सुरक्षित छैनन् ।’
बालविवाह गरेर समस्यामा परेका, अभिभावक गुमाएका, पढ्न नपाएका, अपांगता भएका, कुलतमा फसेका र विपन्न परिवारका बालबालिकाका समस्याबारे बृहत् छलफल सकेर फर्किँदै गर्दा महाकाली माविमाथिको उकालोमा नगरप्रमुख ढकाल, उपप्रमुख शारदा विष्ट कुँवर, प्रहरी र पत्रकारसहितको टोलीलाई मदिराले मातेका दुईजनाले बाजा बगाउँदै बाटो छेकेर पैसा उठाइरहेका थिए ।
‘पत्रकारज्यू, देखिहाल्नुभयो,’ स्थानीय एक शिक्षिकाले भनिन्, ‘गाउँमा नबसी कहाँ जानु, तर यहाँ बस्नै मन लाग्दैन ।’ कुइकामा मात्र होइन, यहाँका बयाला, बजुडा, चाल्सालगायत अधिकांश गाउँका घरहरू मदिराले अशान्त छन् । जसका कारण बालिकाहरू उमेर नपुग्दै विवाह गरेर घर छाड्ने क्रम बढेको छ । बयालाको नेपाल राष्ट्रिय माविमा भएको छलफलमा त झन् मदिराले मातेका अभिभावकहरू नै सहभागी थिए ।
वेलावेला उठेर कार्यक्रम अवरोध गर्न खोजिरहेका उनीहरूलाई नगर प्रमुख ढकाल र कांग्रेस क्षेत्रीय सभापति पुष्पराज शर्माले थामथुम पारेको देखिन्थ्यो । छलफलमा सहभागी नगरस्तरीय बाल सञ्जालका उपाध्यक्ष दिनेश उपाध्यायले मदिराका कारण घरमा अशान्ति हुन थालेपछि छोरीहरूको सुरक्षाका लागि आत्मरक्षा तालिमको माग गरे । त्यस्तै स्थानीय दीपिक्षा विक, मनीषा टमट्टा, नीराजन उपाध्यायलगायतका बालबालिकाले मदिरा नियन्त्रणसहित बालविकासका लागि बजेट, गाउँमै उच्च शिक्षा र आफूहरूको अर्थपूर्ण सहभागिता गराउन आग्रह गरेका थिए ।
अहिले यहाँका गाउँहरूमा पुग्ने नयाँ जोकोहीलाई बालबालिकाहरूले मदिरा नियन्त्रण गरी अभिभावकलाई सचेत नपारेसम्म बालविवाह रोक्न नसकिने सुझाव दिने गरेका छन् । ‘बालविवाह रोक्न बालबालिका आफैँ सक्रिय छन्, उनीहरू रातदिन नभनेर खटिन्छन्, समस्या अभिभावक हुन्,’ वडा नम्बर ५ कुइकाका वडाध्यक्ष सत्यराज तिमिल्सिनाले भने, ‘अभिभावकलाई पनि सचेत पार्न जरुरी छ, हामी त्यसमा लाग्छौँ ।’ कमलबजार नगरपालिकाले ०८३ सालमा नगरलाई बालविवाहमुक्त घोषणा गर्ने लक्ष्यका साथ काम गरिरहेको छ ।
तर, बालबालिकासँगको छलफलका क्रममा उठेका यस्ता समस्याले चुनौती थपेको भन्दै नगर प्रमुख ढकालले प्रत्येक वडामा बाल कचहरीमार्फत व्यापक परामर्श गरिने बताए । यहाँका चारवटा वडामा वर्ल्डभिजनसँगको साझेदारीमा आस्था नेपालले काम गरिरहेको छ भने अन्य ६ वटा वडामा नगरपालिका आफैँले बालबालिकाका गुनासो सुन्न कचहरी सञ्चालन गर्ने भएको छ ।