गुल्मीको मालिका गाउँपालिकाले कम गुणस्तरको मदिरा बिक्री–वितरणमा बन्देज लगाउने निर्णय गरेको छ । मालिका गाउँपालिकाको– ८, मरभुङमा मादक पदार्थको सेवनका कारण एक सातामै दुई ठुला घटना भएपछि मदिरा बिक्री–वितरणमा बन्देज गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।
आइतबार मालिका गाउँपालिकाका कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालको अध्यक्षतामा बसेको बैठकले मदिरा बिक्री–वितरणमा बन्देज गर्ने निर्णय सार्वजनिक गरेको छ । मालिका गाउँपालिका– ८ मा केही दिनअघि मदिरा सेवन गरेर झै-झगडा हुँदा छोराले बुबाको निर्मम हत्या गरेका थिए । यस्तै, एक महिलाको अत्यधिक मदिरा सेवनको कारण ज्यान गएको थियो । मदिराको कारण समाजमा पारिवारिक झगडा, बेमेल र ज्यान जाने घटनाहरू दिनानुदिन बढ्दै गएको अवस्थामा न्यूनीकरण गर्न मदिरा नियन्त्रणको अभियान सुरु गरिएको कार्यवाहक अध्यक्ष उपेन्द्र अर्यालले बताए ।
बैठकले प्लास्टिककाे बाेतलमा राखी बिक्री–वितरण गर्दै आएको अत्यन्तै कम गुणस्तरको सोफी (बोलचालको भाषामा टुङकुला) मदिरालाई बिक्री–वितरणमा पूर्ण रूपमा बन्देज गर्ने र व्यवसायीहरूसँग भएको स्टकलाई सात दिनभित्र व्यवस्थापन गरिसक्नका लागि समय उपलब्ध गराउने निर्णय गरेको छ । त्यस्तै, मदिरा बिक्री–वितरणका लागि अनुमतिप्राप्त व्यवसायीहरूले साँझ ५:३० देखि ८ बजेसम्म मात्र बिक्री–वितरण गर्ने र नाबालक, महिला तथा दीर्घरोगीहरूलाई बिक्री–वितरण नगर्ने, कम गुणस्तरको मदिरा ढुवानी तथा बिक्री–वितरण सम्बन्धमा प्रहरी प्रशासनलाई अनुगमनका लागि खटाउने र जरिवानाबाट प्राप्त २५ प्रतिशतले हुन आउने रकम सुरक्षाकर्मीलाई उपलब्ध गराउने निर्णय बैठकले गरेको छ ।
जरिवानाको रकम सुरक्षाकर्मीको सवारीसाधन मर्मत–सम्भारमा प्रयोग गरिनेछ । निर्णयहरूविपरीत कार्य गरेको पाइएमा व्यवसायी तथा सामान ढुवानी गर्ने सवारीसाधनलाई पहिलोपटकलाई पाँच् हजार जरिवाना गरिने गाउँपालिकाले जनाएको छ ।
समाजमा अपराधको प्रमुख कारण मदिरा बनेको छ । त्यो घरेलु वा प्लास्टिकको मदिरा किन नहोस् । तर, एकातिर सरकारपिच्छे हुने सेलेब्रिटी बन्ने होडले निर्णयहरू भएका छन् भने अर्कोतिर आफैँले गरेको निर्णय कार्यान्वयनमा लत्रेपछि थप निर्णय गर्ने परिपाटी छ । गुल्मीमा हत्या, बलात्कार, आगलागी र घरेलु हिंसाको प्रमुख कारण मदिरा बनेको छ ।
त्यो विषय सरकार प्रमुखहरूलाई थाहा हुँदा पनि सभाहरूमा मदिरा ब्रान्डिङका निर्णयहरू अहिले पनि भइरहेका छन् । जिल्लामै सबैभन्दा पहिला इस्मा गाउँपालिकाले कानुन बनाएर मदिरा नियन्त्रण अभियान सुरु गर्दा छिमेकी पालिका मालिकाले ०७८ साउन १० गते घरेलु मदिरा उत्पादन, बिक्री–वितरण तथा ब्रान्डिङ गर्ने ऐन पारित गरेको थियो । तर, त्यो निर्णय कार्यान्वयन भएन ।