वीरगन्ज भन्सार नाकाबाट चालू आर्थिक वर्षको ६ महिनामा रु. २९ अर्ब २७ करोड ८२ लाख चार हजार मूल्यबराबरका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । आव ०८०/८१ को ६ महिनाको तुलनामा चालू आवको सोही अवधिमा निर्यात शतप्रतिशत अर्थात् रु. १४ अर्ब ७१ करोड रकमले निर्यात वृद्धि भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालू आवको ६ महिनाको अवधिमा प्रशोधित भटमास र सूर्यमुखी तेल छिमेकी मुलुक भारत बढेकाले समग्रमा निर्यात बढेको बताए । ‘गत आवको तुलनामा चालू आर्थिक वर्षमा समग्रमा प्रशोधित भटमास र सूर्यमुखीको तेल निर्यात बढेको छ,’ उनले भने, ‘अन्य कपडाजन्य सामग्री पनि बढेकाले निर्यात झन्डै दोब्बर भएको हो ।’
गत आवको ६ महिनामा यो नाका हुँदै रु. १४ अर्ब ५६ करोड ७१ लख ८५ हजार मूल्यबराबरका वस्तु तथा सामान विदेशमा निर्यात भएको थियो । कार्यालयले चालू आवको ६ महिनामा वस्तु तथा सामान निर्यात गरेबापत रु. १७ करोड ६६ लाख ६३ हजार राजस्व संकलन गरेको थियो ।
गत आवको सोही अवधिमा निर्यात गरेबापत भने रु. १० करोड तीन लाख ८१ हजार राजस्व संकलन गरेको थियो । वीरगन्ज नाका हुँदै विशेष गरी भटमासको तेल प्रशोधित, सूर्यमुखीको प्रशोधित तेल, सेन्थेटिक यार्न, पशु आहाराको कच्चा पदार्थ, विभिन्न किसिमका कपडा, सिन्थेटिक कपडालगायत छन् ।
वीरगन्ज नाका हुँदै चालू आवको ६ महिनामा रु. दुई खर्ब ७७ अर्ब १५ करोड ५७ लाख १६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । त्यसैगरी, गत आवको ६ महिनाकै अवधिमा भने रु. दुई खर्ब ६० अर्ब ३६ करोड ६१ लख ६६ हजार मूल्य पर्ने वस्तु तथा सामान आयात भएको थियो । गत आवको तुलनामा चालू आवको सोही अवधिमा आयात पनि ६.४५ प्रतिशतले बढेको छ ।