कानुनमा शक्तिको ‘प्रभाव’
समाजमा न्याय र शान्ति कायम गर्ने उद्देश्य राख्ने कानुनको जालो अत्यन्त कठोर हुन्छ । यसलाई बुझ्न जापान मानव तस्करी प्रकरणमा तानिएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, प्रलोभनमा जापान गएका तीन युवा र फोटोकपी पसल सञ्चालकका विषयमा अपनाइएका अनुसन्धान र मुद्दा प्रक्रिया हेर्न सकिन्छ ।
जापानमा मानव तस्करी तथा सरकारी कागजात किर्ते अभियोगमा पक्राउ परेका कोशीका तत्कालीन कानुनमन्त्री अधिकारीले शक्तिको आडमा उन्मुक्ति पाएका छन् । उनीवरुद्ध मुद्दा नै नचलाउने निर्णय भयो । तर, अधिकारीसँगै जापान जाने प्रलोभनमा साढे ३१ लाख गुमाएका तीन युवाले पैसा त डुबाए नै, उल्टै लिखत किर्ते कसुरमा मुद्दा झेलिरहेका छन् ।
सत्तारूढ दल एमालेका प्रदेश सांसद अधिकारीलाई प्रमाण नपुगेको भन्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उन्मुक्ति दिँदा उनीसँगै जापान पठाइएका पीडितसहित ११ विरुद्ध भने १० मंसिरमा मुद्दा चलाइएको थियो । प्रारम्भिक अनुसन्धानमै मानव तस्करीमा अधिकारीको भूमिका देखिएपछि गत २५ कात्तिकमा विराटनगरस्थित घरबाटै उनलाई प्रहरीले पक्राउ गरेको थियो । तीन साता लामो अनुसन्धानपछि प्रहरीले उनीसहित १२ जनाविरुद्ध नै मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन दिएको थियो । तर, सरकारी वकिल कार्यालयले अधिकारीले अनुसन्धानमा सघाएकोजस्ता विषयलाई आधार बनाएर मुद्दा नचलाउने निर्णय गरेको थियो । महान्यायाधिवक्ता कार्यालयकै निर्देशनमा सांसद अधिकारीलाई मुद्दा नचलाउने निर्णय भएको स्रोत बताउँछ ।
पूर्वमन्त्री अधिकारीविरुद्ध मुद्दा नचलाउनुमा सरकारी वकिल कार्यालयले घटनाका मुख्य बिचौलिया महेश पाण्डेसँग कुनै सम्पर्क नभएको, मन्त्री अधिकारीले नै घटनामा संलग्नविरुद्ध कारबाही गर्न प्रहरीलाई सूचना दिएको, जापान सरकारले मन्त्री अधिकारीलाई ‘डिपोर्ट’ नगरेको, तर सँगै गएका तीनजनालाई ‘डिपोर्ट’ गरेपछि आफ्नै अनुरोधमा नेपाल फिर्ता भएकोलगायत विषयलाई आधार मानेको छ । तर, प्रहरी अनुसन्धानमा मन्त्री अधिकारी र बिचौलिया पाण्डेबिच पटक–पटक टेलिफोन संवाद भएको देखिएको थियो । घटना संगठित प्रकृतिको भए पनि प्रहरीले त्यसतर्फ अनुसन्धान नगरी सामान्य अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
अधिकारीसँगै जापान जाने प्रलोभनमा साढे ३१ लाख गुमाएका तीन युवाले लिखत किर्ते कसुरमा मुद्दा झेलिरहेका छन् । गुमेको रकम फिर्ता हुनुको सट्टा धरौटीबापत उल्टो जनही ५०–५० हजार रुपैयाँ अदालतमा पेस गर्नुपरेपछि उनीहरू अझ अप्ठ्यारोमा परेका छन् । जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पुनरावेदन गर्न उच्च अदालत पाटन पुगेका उनीहरूलाई अधिवक्ताको ‘फी’ जोहो गर्नुपर्ने अर्को बाध्यता आइलागेको छ । पीडितमध्येका जनक राईका अनुसार जापान जाने चक्करमा दलाललाई बुझाएको सबै रकम ऋण गरेर जम्मा गरिएको हो ।
‘जापान जाने प्रलोभन दिइयो । सोही चक्करमा दलाललाई रकम बुझायौं । तर, न जापान पुग्न सक्यौँ, न रकम नै फिर्ता पायौँ । उल्टो अदालतले हामीसँग ५०–५० हजार धरौटी माग्यो,’ उनले भने, ‘गाउँमा सय कडा तीनका दरले ऋण गरेर जम्मा गरिएको रकम हो । फिर्ता गर्नुको विकल्प हामीसँग छैन । दलालले फिर्ता गर्न मानिरहेका छैनन् । हामी नखाएको विषको सिकार भयौँ ।’
जापान जाने प्रलोभनमा खोटाङ कोपिलासगढी गापा– ४ का ४१ वर्षीय जनक राईले १० लाख, रसुवा कालिका गापा– ५ का २२ वर्षीय कञ्चन देवकोटाले ११ लाख ५५ हजार र खोटाङ ऐँसेलुखर्क गापा– २ का ३६ वर्षीय दावा शेर्पाले १० लाख गरी कुल ३१ लाख ५५ हजार रुपैयाँ गुमाएका थिए । घटनामा संलग्न महेश पाण्डे, दिवकारबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई, जुगल रिजालसहितको टोलीले जनक, कञ्चन र दावालाई मन्त्री अधिकारीसँगै जापान छिराउने योजना बनाएका थिए ।
योजनाअनुसार तीनै युवालाई मन्त्री अधिकारीसँग गत ११ कात्तिकमा जापान पठाए । तर, जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनले मन्त्री अधिकारीसहित चारैजनालाई नेपाल फिर्ता गर्यो । फिर्ता भएलगत्तै तीनै युवालाई प्रहरीले गत १४ कात्तिकमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गर्यो । उनीहरूविरुद्ध लिखत किर्ते कसुरअन्तर्गत मुद्दा लगाइयो ।
दबाबपछि उनीहरूसँगै फिर्ता भएका मन्त्री अधिकारी पक्राउ त परे, तर उनीविरुद्ध कुनै मुद्दा लगाइएन । अहिले उनी साधारण तारेखमा छन् । सँगै गएका तीन युवा भने अदालतको घनचक्कर छन् । पीडितमध्येका राई भन्छन्, ‘रकम पनि गुमायौँ, धरौटी पनि बुझायौँ । र, त्यसले नपुगेर हामीविरुद्ध किर्ते कसुरमा मुद्दा छ । जिल्ला अदालतको आदेशविरुद्ध उच्चमा गएका छौँ ।’
उनीहरूको गुमेको रकम फिर्ता हुने–नहुने कुनै ठेगान छैन । मुद्दा फिर्ता लिन अनेक ठाउँबाट दबाब आइरहेका छन् । ‘तर, रकम फिर्ता गर्ने विषयमा कसैले कुरा गर्दैन । गाउँमा मुख देखाइसक्नु छैन,’ उनले भने ।
जबकि पाण्डेको योजनामा जापान जाने प्रयोजनमा मोरङका गोपाल भनिने योगराज गौतमसँग मन्त्री अधिकारीको ११ पटक फोन भएको छ । योगराजले उनलाई १२ पटक फोन गरेको देखिएको छ । त्यस्तै, घटनाका मुख्य बिचौलिया पाण्डेलाई योगराजले १८ पटक तथा पाण्डेले योगराजलाई २१ पटक फोन गरेको देखिएको छ ।
पाण्डेसहितको टोलीले राई, देवकोटा र शेर्पालाई जापानमा हुने ‘इन्टरनेसनल कन्फ्रेन्स अन ओपन एक्सेस टु कल्चर, २०२४’ कार्याक्रममा सहभागी गराउने भनेका थिए । र, त्यसपछि उतै लुक्न भनेका थिए । सोही प्रयोजनमा उनीहरूले रकम बुझाएका थिए । त्यसबापत पेस गर्नुपर्ने कागजात पनि पाण्डेसहितको टोलीले नै तयार गरेका थिए ।
उनीहरूलाई बिदाइ गर्न ११ कात्तिकमा पाण्डेसहित जुगल रिजाल, विष्णु भट्टराई र दिवाकर भट्टराई विमानस्थल नै पुगेका थिए । तयार कागजात खाममा हालेर उनीहरूले नै दिएका थिए । सोही कागजात बोकेर उनीहरू जापान उडे । तर, उनीहरूसँगै मन्त्री अधिकारी पनि गइरहेको खबर भेउ हङकङ पुगेपछि मात्रै पाए । ‘सबै कागजात उनीहरूले नै तयार गरेका हुन् । हामीसँगै मन्त्री अधिकारी पनि गइरहेको खबर हङकङ पुगेपछि मात्रै खुल्यो,’ राईले भने, ‘मुद्दा हामीविरुद्ध पनि लाग्यो । पीडित साथीहरू अरू पनि छन् ।’
गुडी, जनक, कञ्चन र दावालाई पनि मुद्दा चलाउनुपर्ने कानुन पनि छ ? स्वाभाविक प्रश्न उठ्छ । वैदेशिक रोजगार ऐन, २०६४ अनुसार विनाइजाजत कसैलाई पनि वैदेशिक रोजगारमा पठाउन पाइन्न । यदि कसैले विनाइजाजत विदेशमा रोजगार दिने प्रलोभनमा रकम लिए वा विदेश पठाए उक्त व्यक्तिलाई कानुनअनुसार जरिवानासहित तीनदेखि सात वर्षसम्म कैद सजाय हुन्छ ।
ऐनको दफा ४३ मा ‘विनाइजाजत वैदेशिक रोजगार व्यवसाय सञ्चालन गरेमा वा कसैलाई वैदेशिक रोजगारमा लगाइदिने भनि झुटो आश्वासन वा प्रलोभन देखाई वैदेशिक रोजगारीमा लगाइदिने उद्देश्यले कुनै रकम लिएमा वा विदेश पठाएमा त्यसरी लिएको रकम र सोको ५० प्रतिशतले हुने हर्जनाबापत असुल गरी त्यस्तो व्यक्तिलाई विदेश जान र आउन लागेको खर्चसमेत भराई निजलाई तीन लाख रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षदेखि सात वर्ष कैद सजाय हुनेछ’ भनिएको छ ।
कानुनको उक्त दफाअनुसार पाण्डे, दिवाकर, विष्णुलगायतका टोलीले जनक, कञ्चन र दावालाई रोजगारका लागि जापान लैजाने प्रलोभन दिएको देखिन्छ । यसका लागि आवश्यक कागजात पनि नक्कली तयार गरेको देखिन्छ । र, यसबापत उनीहरूले तीनजनाबाट ३१ लाख ५५ हजार रुपैयाँ असुलेका छन् ।
तर, उनीहरूले यसका लागि सरकारको कुनै निकायबाट स्वीकृति लिएका छैनन् । यसर्थ घटनामा संलग्न हुनेले असुल गरेको रकम जनक, कञ्चन र दावालाई निसर्त फिर्ता गर्नुपथ्र्योे । तर, त्यस्तो नभई उनीहरूविरुद्ध नै लिखत किर्तेको कसुरमा मुद्दा चलेको छ ।
नेपाल बार एसोसिएसनका पूर्वसचिव तथा अधिवक्ता मनोज चौधरी यो घटनामा जनक, कञ्चन र दावा पीडित देखिने बताउँछन् । ‘घटना हेर्दा जनक, कञ्चन र दावा जापान जाने प्रलोभनमा परेकोे देखिन्छ । तर, जसले उनीहरूलाई जापान लैजाने भने र रकम पनि असुले, त्यसका लागि उनीहरूले कुनै निकायबाट इजाजत लिएका छैनन्,’ चौधरी भन्छन्, ‘कानुनअनुसार यस्तो अवस्थामा प्रलोभन दिई रकम असुल्नेबाट जरिवानासहित भराउनुपर्छ, तर त्यस्तो भएको देखिएन । यस अर्थमा तीन युवालाई पीडित मान्न सकिन्छ ।’
अपरिचितको डकुमेन्ट फोटोकपी गरिदिएकै कारण पसले गुडी राईमाथि कानुनको तरबार
१७ दिन हिरासतमा राखियो, अझै तारेख धाउँदै
तत्कालीन मन्त्रीलाई नछोएको कानुनको तरबारले बागबजारको गल्लीमा सानो फोटोकपी पसल चलाउनेलाई चोट पुर्याएको बेग्लै कहानी छ । ओखलढुंगा रातमाटेकी ३५ वर्षीया गुडी राईको बागबजार गल्लीमा ‘मंगोलग्राफी क्रिएसन एन्ड प्रिन्टर्स’ नामको सानो फोटोकपी पसल छ । कात्तिक पहिलो साता ‘कलर प्रिन्ट’ भन्दै एक अपरिचित पसल आएका थिए । २५० रुपैयाँ शुल्क लिएर उनले ‘प्रिन्ट’ गरिदिइन् र अपरिचित (ग्राहक)लाई बुझाइन् । ‘कलर प्रिन्ट’ गरेको करिब दुई सातापछि सादा पोसाकका प्रहरी उनको पसलमा आए । सोधपुछ गर्न भन्दै जिल्ला प्रहरी परिसर काठमाडौं लिएर गए । उनलाई फर्किन दिइएन, १७ दिन हिरासतमा राखियो । अहिले पनि प्रत्येक महिना तारेख बुझ्न अदालत जानुपर्छ । यो घटनापछि आफू असाध्यै तनावमा रहेको गुडीले बताइन् ।
‘म पसल गर्ने मान्छे हुँ । ग्राहक आउँछन् र फोटोकपी गर्न भन्छन् । त्यस दिन पनि भएको त्यही हो, तर त्यो कानुनको नजरमा अपराध भएछ,’ उनले गुनासो गरिन्, ‘१७ दिन हिरासत बस्नुपर्यो । यसबिचमा व्यहोरेको क्षति बयानसम्म गर्न सक्दिनँ । अहिले पनि प्रत्येक महिना तारेख बुझ्नुपर्छ ।’ गुडीका अनुसार उनी घरकी एक्ली आम्दानीकर्ता हुन् । उनकी आमा ६५ वर्षीया राधा राई क्यान्सरको चौथो ‘स्टेज’की बिरामी हुन् । हरिसिद्धि क्यान्सर अस्पतालमा उपचाररत राधाका लागि मात्रै प्रत्येक महिना साढे आठ हजार रुपैयाँ औषधिमा खर्च हुन्छ । उनका अनुसार पसल चलेको छैन, खर्च जुटाउनै धौ–धौ छ । फोटोकपी गर्ने मेसिन, मोबाइल, ल्यापटप प्रहरीले बरामद गरेर लगेको र आम्दानीको स्रोत टुटेको उनले बताइन् । आफन्तसँग सम्पर्क गर्न उनीसँग अहिले मोबाइल फोन खरिद गर्ने रकमसमेत छैन । ‘पसलमा दुईवटा फोटोकपी गर्ने मेसिन थियो । ल्यापटप, मोबाइल थियो । सबै प्रहरीले लिएर गएको छ, अहिले पसल खाली छ र आम्दानी टुटेको छ,’ उनले भनिन्, ‘आमा क्यान्सरको रोगी हुनुहुन्छ, उपचार गर्ने रकम छैन । आफन्तसँग बदनाम भइएको छ । सम्झिँदा मुटु दुखेर आउँछ ।’