पाथीभरा केबलकार बनाउने विवादले फेरि उग्र रूप लिएको छ। पाथीभरामा केबलकार निर्माण सुरु भएको तीन दिनपछि प्रहरी र केवलकार खारेजी समूहविच झडप हुँदा जनपथ र सशस्त्र प्रहरीका तीनजना घाइते भएका छन्।
फुङलिङ नगरपालिका ११ को पाथीभरा क्षेत्रको बलुडाँडामा भएको झडपमा सशस्त्र प्रहरीले ५ सेल अश्रुग्यास र तथा २ ग्रिनेट ग्यास प्रहार गरिएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए।
घाइते हुनेमा जनपथ प्रहरी जवान अनुज विक, प्रहरी सहायक निरिक्षक रामदेव यादव र सशस्त्र प्रहरी जवान संजीव बस्नेत रहेकाे प्रहरी प्रमुख पहरी नायब उपरीक्षक रवि रावलले बताए।
उता, आन्दोनकारिले भने प्रहरीले गोली हानेको दाबी गरेको छ। उनीहरूले विशाल श्रेङको कपडा र थोरै छाला छेडेर गएको र घाइते भएको बताएका छन्। आन्दोलनकारीले शान्तिपूर्ण तरिकाले आन्दोलन गर्ने बताए पनि एक्कासि प्रहरी प्रशासनले आक्रमण गरेको उनीहरूको आरोप छ।
पाथीभरा क्षेत्रको बुलुडाँडा क्षेत्रमा केवलकार खारेजी समूहले विभिन्न घरेलु हतियार लुकाईछिपाई राखेको भन्ने सूचनाका आधारमा प्रहरीको टोली त्यसतर्फ गएपछि पहिचानबादीहरुले प्रहरीहरुमाथी नै एक्कासी ढुङ्गामुढु गरेपछि दोहोरो झडप भएको बताइएको छ।
केबलकारको विरोध गर्दै आएको पहिचानवादी समूहले प्रहरीमाथि आक्रमण गर्नुका साथै प्रमुख जिल्ला अधिकारीमाथि ज्यान मार्ने धम्की समेत दिएको छ। प्रमुख जिल्ला अधिकारी (सिडिओ) नेत्रप्रसाद शर्माले आफूलाई ज्यान मार्ने धम्की आएको बताए। पहिचान पक्षधर बताउने प्रतीक मादेनलगायतको समूहले आफूलाई टेलिफोनमार्फत ज्यान मार्ने धम्की दिएको उनले बताए। प्रशासन माथि नै धावा बोल्ने जोसुकै भएपनि कानुनी कारवाही गरिने प्रजिअ शर्माले बताए।
यसअघि कात्तिकमा पनि केबलकार निर्माणको विषयलाई लिएर झडप भएको थियो। गत मंगलबारदेखि केवलकार निर्माण गरेको र १५ महिनाभित्र बनाई सक्ने गरि काम अगाडी बढाएको काम गरिरहेको हिमालयन कन्ट्रक्सनले जनाएको थियो। अहिले भने स्थिति सामान्य भएको छ।