नीरज तामाङ २ स्ट्रोकको अग्रताका साथ सूर्य नेपाल गल्फ टुर २०२४/२५ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन बुधबार शीर्ष स्थानमा रहेका छन् । पोखराको हिमालयन गल्फ कोर्समा ४ अन्डर ६५ को स्कोरमा नीरजले पहिलो दिन युवराज भुजेल र भुवनकुमार रोकालाई २ स्ट्रोकले पछि पारेका हुन । २ अन्डर ६७ को स्कोर गरेका युवराज र भुवन संयुक्त रूपमा दोस्रो स्थानमा छन् । धनबहादुर थापा र सञ्जय लामाले १ अन्डर ६८ स्कोर गरेका छन् । दुवै संयुक्त रूपमा चौथो स्थानमा रहे ।
रामे मगर र जयराम श्रेष्ठले छेटौँ स्थान बाँडे । उनीहरूले इभन पार खेल्दै ६९ स्कोर गरेका थिए । प्रदीपकुमार लामा र एमेच्योर सुन्दर राई संयुक्त रूपमा आठौँ स्थानमा छन् । दुवैले १ ओभर ७० स्कोर गरे । विष्णुप्रसाद शर्मा र एमेच्योर सुरेश तामाङ १०औँ स्थानमा रहन २ ओभर ७१ स्कोर गरे ।
सूर्य नेपाल इस्टर्न ओपन जितेका नीरजले पोखरामा पनि उत्कृष्ट सुरुवात गरे । उनले बोगीरहित फ्रन्ट नाइन खेलेका थिए । तेस्रो र चौथो होलमा बर्डी प्रहार गरी उनले फ्रन्ट नाइन २ अन्डर ३२ स्कोर गरेका थिए । १५औँ होलमा एक सट खेर फालेका नीरजले १०औँ, १३औँ र १६औँ होलको बर्डीको सहायतामा ब्याक नाइन २ अन्डर ३३ स्कोर गरे ।
युवराजको गतिलो सुरुवात
धरानका अर्का प्रो युवराजले फ्रन्ट नाइनमा १ अन्डर ३३ को प्रदर्शन गरे । उनले दोस्रो र तेस्रो होलमा बर्डीबाट खेलको सुरुवात गरेका थिए । तर, पाँचौँ होलमा डबल बोगी खेप्दा युवराजले सातौँ होलमा बोगीको सामना गरे । यसपछि आठौँ र नवौँ होलमा उनले समान एक सट बचाए । उनले ब्याक नाइन १ अन्डर ३४ मा सकाए । लगातार तीन बर्डी प्रहार गरेका उनले १०औँ र १८औँ होलमा एक–एक सट खेर फाले ।
भुवनले तेस्रो र पाँचौँ होलको बर्डीको सहयोगमा फ्रन्ट नाइन २ अन्डर ३२ मा सकाए । यसपछि ११औँ होलमा उनले डबल बोगी खेपे । १६औँ र १७औँ होलको बर्डीले उनले ब्याक नाइनमा ३५ स्कोर गरेका थिए । एमेच्योरतर्फ सुन्दर राई १ ओभर ७० का साथ शीर्ष स्थानमा छन् । उनले सुरेशलाई एक स्ट्रोकले पछि पारेका छन् । सुरेशले पहिलो दिन २ ओभर ७१ स्कोर गरे । ५४ होलको तीन दिनसम्म चल्ने प्रतियोगितामा ३४ प्रोफेसनल र १८ एमेच्योर गल्फरले प्रतिस्पर्धा गरिरहेका छन् ।