मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८१ माघ १० बिहीबार ११:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लोकतन्त्रको मेरुदण्डका रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्छ : राष्ट्रपति पाैडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार ११:१७:oo

राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले जिल्ला समन्वय समितिका प्रमुख एवं उपप्रमुख र जिल्ला समन्वय समिति महासंघ नेपालका पदाधिकारीसँग राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार भएको भेटघाट कार्यक्रममा उक्त धारणा व्यक्त गरेका हुन्।

‘विभिन्न कठिनाइका बाबजुद तीन तहका सरकार, निजी क्षेत्र, गैरसरकरी क्षेत्रको काममा समन्वय र अनुगमन गर्नेजस्तो महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहनुभएकै छ, संविधान र लोकतान्त्रिक शासन प्रणालीको मेरुदण्डका रूपमा रहेका निकायले जनता र विकासलाई केन्द्रमा राखेर अघि बढ्नुपर्दछ भन्ने मलाई लाग्दछ,’ उनले भने ।

राष्ट्रपति पौडेलले बजेट, योजना र कार्यादेशअनुसार काम भए–नभएको अनुगमन र समन्वय गर्ने काममा आफ्नो भूमिका र क्रियाशीलता बढाएर राज्यको ध्यान आकर्षित गर्न पनि आग्रह गरे ।

‘गाउँ, नगर र वडामा योजना, प्रक्रिया, कार्यादेशअनुसार काम भए–नभएकोबारे अलिकति चनाखो र सजग भएर क्रियाशीलता बढाउने हो भने विकासको काम पनि अघि बढ्छ, बजेट दुरुपयोग पनि रोकिन्छ र राज्यको पनि ध्यान आकर्षित हुन्छ, यसबाट राष्ट्रको विकासमा योगदान दिन्छ,’ राष्ट्रपति पौडेलले भने । आफ्नो भूमिकालाई आफैँ क्रियाशील र जागरुक बनाएर प्रभावकारिता बढाउन पनि समन्वय समितिका प्रमुख एवं उपप्रमुखलाई राष्ट्रपतिले आग्रह गरे ।

नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट प्राप्त नेपालको संविधानले संघ, प्रदेश र स्थानीय सरकारको व्यवस्था गरेको बताउँदै राष्ट्रपति पौडेलले गाउँपालिका र नगरपालिकाबिच समन्वय तथा विकास निर्माणसम्बन्धी काममा सन्तुलन कायम गर्ने गरी अनुगमन गर्नेलगायतको महत्त्वपूर्ण जिम्मेवारीसहित जिल्ला समन्वय समितिको व्यवस्था गरिएको उल्लेख गरे ।

उनले आफ्नो जिम्मेवारी अझ सशक्त र प्रभावकारी बनाउन आवश्यक रहेको र यसका लागि आवश्यक पर्ने स्रोत, साधन, नीति/कानुनको स्पष्टताका लागि सम्बन्धित निकायको ध्यान जाने विश्वास व्यक्त गरे । साथै राष्ट्रपति पौडेलले महासंघको ३०औँ स्थापना दिवस कार्यक्रमको सफलताको शुभकामनासमेत व्यक्त गरेका थिए ।

छुटाउनुभयो की ?