मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ १० बिहीबार
  • Thursday, 23 January, 2025
२o८१ माघ १० बिहीबार १७:३o:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

दश महिनादेखि सल्यान जिल्ला अस्पतालको भवन अलपत्र 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ १० बिहीबार १७:३o:oo

विगत दश महिनादेखि सल्यान जिल्ला अस्पतालको भवन निर्माण कार्य अलपत्र परेको छ। अस्पतालपरिसरमा निर्माणाधीन दुई भवन दश महिनादेखि अलपत्र परेको हो। जिल्ला अस्पताललाई ५० शय्यामा विस्तार गर्न संघीय सरकारको १८ करोड बजेटमा २०७८ वैशाखमा आरोग्य सुवेदी जेभी कम्पनीसँग ठेक्का सम्झौता भएको थियो। विभिन्न कारण जनाउँदै निर्माण कम्पनीले सम्झौता गरेको एक वर्षपछि निर्माण सुरु गरेको थियो। अहिले भवन निर्माणको काम अलपत्र परेको छ। 

दुईवटा भवनको करिब ६० प्रतिशत काम सकिए पनि बाँकी रहेको काम कहिलेबाट सुरु हुन्छ भन्ने अझै निश्चित नभएको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डा. अर्जुन बुढामगरले बताए। उनले भने, ‘ठेकेदारले काम गरिरहेकै थियो, सात महिनामा करिब ६० प्रतिशत काम गरेकै हो, २०८० चैतमा म्याद सकियो, म्याद थपका लागि चाहिने कागजात निर्माण कम्पनीले बेलैमा बुझाएन, त्यही भएर त्यति वेला म्याद थप हुन सकेन, अहिले समय निकै घर्किसकेको छ, अब यताबाट हामीले गर्न सक्ने पहुँचको कुरा भएन।‘ 

निर्माण व्यवसायीको चौधौँ संस्करण मन्त्रिपरिषदबाट पास भएपछि मात्रै म्याद थप हुने भएकाले त्यही निर्णयलाई पर्खेर बसेको डा. बुढाको भनाइ छ। जिल्ला अस्पतालमा पर्याप्त संरचना नहुँदा थप स्तरीय सेवा प्रवाह गर्न समस्या भइरहेको उहाँले बताउनुभयो। समयमै भवन निर्माण भए डाइलाइसिस, भेन्टिलेटरसहितका विशेषज्ञ सेवा प्रवाह गर्न सहज हुने डा. बुढामगरको भनाइ छ।

अस्पतालमा अहिले दैनिक १२० बढी बिरामी उपचारका लागि आउने गर्दछन्। बिरामीको चाप धेरै भएपछि १५ शय्याको अस्पतालमा ३५ बेड थपेर ५० शय्याबाट सेवा प्रवाह भइरहेको छ। सम्बन्धित निकायले बेलैमा ध्यान नदिँदा अस्पतालको भवन अलपत्र परेको नागरिक अगुवा सनतकुमार शर्माले बताए। उनले भने, ‘निर्माण कम्पनी, अस्पताल प्रशासन, अस्पताल विकास समिति, तीनै तहका सरकार यसमा जिम्मेवार बन्नुपर्छ, अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भौतिक संरचना निर्माण कार्य अलपत्र पार्नु राम्रो होइन।’