गृहमन्त्री रमेश लेखकले बोर्डर आउट पोस्ट (बिओपी) थप गर्न गृह मन्त्रालय प्रयासरत रहेको बताएका छन् । सशस्त्र प्रहरीको २४औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले मुलुकको आर्थिक सुदृढीकरणमा देखा परेको समस्या नै राजस्व चुहावट र तस्करी भएको हुँदा यसलाई रोकथाम र समाधान गर्न सशस्त्र प्रहरी बलको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्दै संगठनको विस्तार गर्न थप जनशक्तिको व्यवस्थापनसहित बिओपी थपिने बताए ।
लेखकले विभिन्न चुनौतीको समयमा महत्वपूर्ण जिम्मेवारीसहित स्थापना भएको सशस्त्र प्रहरी बल नेपालले मुलुकको शान्ति स्थापना, आतंककारी गतिविधि नियन्त्रण, सीमा सुरक्षा, विपत् व्यवस्थापनलगायत सामाजिक सेवामा समेत उत्कृष्ट योगदान दिएको बताउँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीले देखाएको इमानदारिता र बलिदानको पनि प्रशंसा गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले नागरिकको अपेक्षाअनुरूपको सुरक्षा हाम्रो सरोकारका रूपमा ग्रहण गरी राज्यको जिम्मेवार, भरोसायोग्य र व्यावसायिक सुरक्षा निकायका रूपमा जनमानसमा स्थान सुरक्षित गर्न सफल भएको बताए । सीमा सुरक्षाको अभेद्य पर्खालका रूपमा संगठनले तराईमा झापाको केचनाकवलको उष्णतादेखि सगरमाथाको चुचुरो हिमालको शुष्कतासम्म सबै भूगोलमा अर्थपूर्ण उपस्थिति जनाएको उनको भनाइ थियो ।
गृहमन्त्री लेखकले सफल सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुरका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गरे । त्यस्तै, अवकाशप्राप्त सशस्त्र प्रहरी नायब महानिरीक्षक नवराज विष्टलाई ‘एपिएफ लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरियो ।