मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
२o८१ माघ ६ आइतबार १२:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

किसानलाई सुन्तला बिक्री गर्न सकस

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १२:२३:oo

तनहुँको देवघाट गाउँपालिकाका किसानलाई सुन्तला बिक्री गर्न सकस भएको छ । सुन्तला उत्पादक कृषकले पुल अभावका कारण आफ्नो उत्पादन बजारसम्म ढुवानी गर्न सकेका छैनन् ।

देवघाट– ३ मा वार्षिक लाखौँ रुपैयाँको सुन्तला उत्पादन हुने गरेको छ । तर, उत्पादित सुन्तला बिक्री गर्न कृषकलाई समस्या भएको छ । लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या भएको किसान बताउँछन् । देवघाट सुन्तला उत्पादनका लागि प्रख्यात छ । देवघाट– ३ बाटक, लुङग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराको सुन्तला बजार पुर्‍याउन सकस भएको देवघाट– ३ बाटकका हर्कबहादुर थापाले बताए ।

‘यस वर्ष वडा नं. ३ मा रु. तीन करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । बाटकवासीले केही वर्षयता सुन्तला बेचेरै घरखर्च चलाउन थालेका छन्,’ उनले भने ।

लुङग्रिङमा एउटै परिवारले रु. २० लाखभन्दा बढीको सुन्तला बिक्री गरेको स्थानीय भीमबहादुर रानाले जानकारी दिए। लुङग्रिङ र छिपछिपेका किसानले बुद्धसिंह मार्गको नाल्दीघाट र मुग्लिङ–नारायणगढ सडकको गाईघाटसम्म जिपमा सुन्तला ल्याएर त्यहाँबाट झोलुङे पुल तारेर राजमार्गसम्म ल्याउने गरेका छन् । छापस्वाँरा र दगराका किसानले ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै सुन्तला काठमाडौं बिक्री गर्न लैजाने गरेका छन् ।

नाल्दी र गाईघाटमा पुल भएको भए किसानलाई सहज हुने स्थानीयको भनाइ छ । पुल नहुँदा ढुवानी खर्च महँगो पर्ने गरेको छ । दगराका किसान हरिकुमार श्रेष्ठले नदीमा पुल नभएका कारण यस क्षेत्रका जनताको ढुवानीको साधन नै रोपवे भएको बताए। पुल नहुँदा यहाँ उत्पादित वस्तु बिक्रीका लागि बिचौलियाको माध्यमबाट दमौली, मुग्लिन, नारायणगढ र काठमाडौंसम्म पुग्ने गरेको छ । रासस

छुटाउनुभयो की ?