मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
एकेन्द्र बहादुर खड्का
२o८१ माघ ६ आइतबार १५:१८:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण डिजिटल संस्करण

उपेक्षित खेलको अनपेक्षित सफलता

Read Time : > 2 मिनेट
एकेन्द्र बहादुर खड्का
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १५:१८:oo

पछिल्ला केही दिनदेखि खो खो खेलको समाचारले सामाजिक सञ्जाल तातेको छ। नतातोस् पनि कसरी, पहिलोपटक विश्वकप खेल्न गएका महिला र पुरुष टोलीहरू एकपछि अर्को सनसनीपूर्ण जित निकालिरहेका छन्।

फाट्टफुट्ट अनलाइनमा पोस्ट गर्नुबाहेक विश्वकपको सेमिफाइनलमा पुगेको खबरलाई मेनस्ट्रिमका मिडियाले खासै स्थान दिएको पाइँदैन। अझ भन्दा अस्ति शुक्रबार बेलुका ६ बजे नै फैलिएको समाचार हिजो शनिबार कुनै छापा अखबारको कुनामा भेटिएन।

सामाजिक सञ्जालको समाचारको पोस्टमा कतिले यो खेलको नाम नै खो खो होइन, के हो के हो भनिरहेका छन् त कतिले पहिलोपटक सुनेको प्रतिक्रिया दिइरहेका छन्। खो खो खेल धेरैलाई थाहै छैन। केहीले यो खेलबारे सुनेका छन् अनि थोरैले खेलेका छन्।

कत्तिको याद गर्नुभएको छ !
विद्यालयस्तरमा स्वास्थ्य तथा शारीरिक शिक्षा विषयको खेलकुदको पाठमा खो खो खेल पनि पढ्नुपर्थ्यो। विद्यालयमा शारीरिक शिक्षाको पाठ्यक्रममा ०३८ सालदेखि नै यो खेल समावेश थियो। अहिले पनि अनिवार्य रूपमा कक्षा ६ देखि आठसम्मको स्वास्थ्य, शारीरिक शिक्षा तथा सिर्जनात्मक कला विषयको शारीरिक शिक्षाको अंशमा यो खेल समावेश छ। अनि ऐच्छिक रूपमा कक्षा नाैदेखि स्नातकोत्तरसम्म नै शारीरिक शिक्षा विषयमा यो खेल समावेश छ।

०५२ सालमा नेपाल खो खो संघ राष्ट्रिय खेलकुद परिषदमा दर्ता भएपछि एक वर्षअघि प्रा.डा. रामकृष्ण महर्जनको अध्यक्षतामा बनेको तदर्थ समितिकाे नेपाल खो खो समितिले मान्यता पाएको थियो।

अहिले भारतको दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय रंगशालामा भइरहेको सात महादेशका २४ राष्ट्र सम्मिलित खो खो विश्वकप २०२५ मा नेपालका दुवै टिम पहिलोपटक फाइनल खेल्दै छन्। यो नेपाली खेलकुदको इतिहासमा अहिलेसम्मकै ठुलो सफलता हो।

खेलाडीहरूको पहिलो प्रेरणाको स्राेत प्रतियोगिता हो। चार दशक अघिदेखि विद्यालय पाठ्यक्रममा समावेश भएको खेलको विद्यालयस्तरमा सीमित केही पालिकाहरूले मात्रै यस खेलको वार्षिक रूपमा प्रतियोगिता गर्छन्। राष्ट्रपति रनिङ सिल्डमा यो प्रतियोगिता समावेश गर्ने हो भने पनि यो खेलले आफ्नो परिचय फेर्नेछ। यसको ज्वलन्त उदाहरण हो– बर्दियाको ठाकुरबाबा नगरपालिका जहाँ अहिले राष्ट्रपति रनिङ सिल्डमा यो खेल समावेश हुँदा अत्यधिक मात्रामा राम्रा खेलाडी उत्पादन भएका छन्। त्यसैको प्रतिफल हो नवाैँ राष्ट्रिय प्रतियोगितामा नियमित विजेता विभागीय क्लब त्रिभुवन आर्मीबाट उपाधि खोस्नु। भक्तपुरमा भएको अन्तरनगरपालिका र धनगढीमा भएको यू– २१ अन्तरप्रदेश प्रतियोगिताको उपाधि जित्नु। अनि यसैकारण हो अहिलेको विश्वकपमा ठाकुरबाबा नगरपालिकाकै १२ जना उत्कृष्ट खेलाडी टिममा पर्नु।

यस खेलको प्रतियोगिता राष्ट्रिय खेलकुद सातौँ संस्करणदेखि मात्रै समावेश भएको हो। खासै नाम नसुनिएको र चर्चा नपाएको हुँदा यो खेलका लागि निजी क्षेत्र पनि लगानी गर्न हिचकिचाउँछ। सरकारले पनि आवश्यक परेको वेला खुलेर सहयोग गर्दैन।

यही वर्षको असोजमा मात्रै भारतसँग त्रिदिवसीय टेस्ट सिरिज खेल्दा र विश्वकपका लागि खेलाडीहरू छनाेट गर्दा आर्थिक अभावमा जुधिरहेको खो खो संघले आफ्नै संघका पदाधिकारीहरूबाट निश्चित रकम जुटाएर प्रतियोगिता सञ्चालन गर्‍याे। विश्वकपअघिको एक महिनाको बन्द प्रशिक्षणमा पनि खेलाडीहरूलाई काठमाडौं एक महिना राख्न, सन्तुलित आहारा खुवाउन निकै संघर्ष गर्नुपर्‍याे।

अनुभवको हिसाबले भारतीय टोली नेपाली टोलीभन्दा धेरै अगाडि छ। भारतले अघिल्लो वर्ष मात्रै ५६औँ राष्ट्रिय महिला तथा पुरुष खो खो प्रतियोगिता र एउटा अल्टिमेट खो खो लिग सञ्चालन गरिसक्दा नेपाल भने सातौँ महिला तथा आठौँ पुरुष राष्ट्रिय प्रतियोगिता र खो खो लिगको तयारीमा छ।

१२औँ र १३औँ साग गेममा समावेश यो खेलमा नेपालको १२औँ सागमा महिला तथा पुरुष दुवै टिमले कांस्य र १३औँ सागमा महिलातर्फ रजत र पुरुषतर्फ कांस्य पदक हासिल गरेको छ। एसियाली प्रतियोगिताको पहिलोदेखि चौथो संस्करणसम्म खाली हात आउनुपरेको छैन।

सन् २०२३ को मार्चमा भारतको असाममा भएको चौथो एसियाली प्रतियोगितामा यसअघिको बाधक बन्ने बंगलादेशलाई महिला र पुरुष टिमले पराजित गरेर फाइनलमा भारतसँग पराजित भएर पहिलोपटक एसियाली प्रतियोगितामा ऐतिहासिक रजत पदक ल्याएको थियो।

नेपाली टोली भारतसँगको खेलमा सन् २०१९ साग गेमभन्दा २०२३ को एसियाली खेलमा थोरै अन्तरले पराजित भएको हो भने एसियायीभन्दा अझै थोरै अन्तरले विश्वकपको लिगमा पराजित भएको छ। यसबाट के प्रस्ट हुन्छ भने नेपालले खो खो खेलको स्तर ६ वर्ष अगाडिभन्दा अहिले धेरै नै माथि उकासिसकेको छ। अब विश्वलाई खो खो खेल आफ्नो देशको हो र खो खोमा हामी नै पहिलो नम्बरमा हो भन्ने भारतको उपाधि आफ्नो नाममा ल्याउन नेपाली टोलीलाई धेरै समय लाग्नेछैन। शारीरिक तन्दुरुस्ती र टिमसँगको समन्वय नेपाली खेलाडीहरूको राम्रो पक्ष हो।

खो खो खेल नयाँ होइन। चर्चा मात्रै कम भएको हो। यो एक महाभारतको पौराणिक कथामा आधारित भारतको महाराष्ट्रबाट सुरुवात भएको गति, सहनशीलता, चपलता र सामूहिक समन्वयमा खेलिने बेजोडको सामूहिक खेल हो। यो खेलका लागव खासै खेल सामग्रीहरू पनि चाहिँदैन। २७x१६ मिटरको आयताकार मैदानमा दुई पोल गाडेर खेलिन्छ। यस खेलमा १२ जना र अतिरिक्त तीनजना खेलाडीको आवश्यकता पर्छ।

यो खेललाई शारीरिक तन्दुरुस्तीको राजाभन्दा फरक पर्दैन। नेपालमा विद्यालयस्तरमा धेरैजसो कैलाली, कञ्चनपुर, दाङ, बर्दिया, नवलपरासी, कास्की, काठमाडौं, भक्तपुर संखुवासभा, बारा, सप्तरी, धनुषा, झापालगायतका जिल्लामा खो खो प्रतियोगिता र गतिविधि भएको पाइन्छ। नेपालमा अहिलेसम्म यसको छैटौँ महिला राष्ट्रिय प्रतियोगिता र सातौँ पुरुष राष्ट्रिय प्रतियोगिता सञ्चालन भइसकेको छ भने यही माघ १६–१७ गते पुरुष राष्ट्रिय प्रतियोगिता र निकट भविष्यमा बर्दियामा खो खो लिगको तयारी हुँदै छ।

(खड्का खो खो खेलका राष्ट्रिय निर्णायक हुन्।)

छुटाउनुभयो की ?