मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ६ आइतबार
  • Sunday, 19 January, 2025
२o८१ माघ ६ आइतबार १८:२४:oo
Read Time : > 1 मिनेट
फिचर

अगुवा किशोरीहरू नै बार्छन् छाउ

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ ६ आइतबार १८:२४:oo

‘मेयरसाब, म अगुवा किशोरी हुँ । महिनावारी हुँदा म नै छाउगोठमा बस्न बाध्य छु । यो कुराले यहाँका अरू किशोरी र महिलाको अवस्था पनि बुझिहाल्नु भयो होला ।  

अहिले पनि हाम्रो गाउँमा कडा रूपमा छाउ बार्ने चलन छ । यसको कारण देवताको डर र घरका ज्येष्ठ नागरिकहरू हुन् ।’ अछाम कमलबजार नगरपालिका–३, बयालास्थित वडा बाल सञ्जालकी अध्यक्ष १४ वर्षीया मनीषा बडुवालले नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा विष्टसमक्ष गुनासाको पोको फुकाइन्, ‘ज्येष्ठ नागरिकलाई सचेत गराई देवता व्यवस्थापन गरिदिनुस्।’

बालबालिकाका गुनासा सुन्न बयालाको नेपाल राष्ट्रिय माविमा आयोजित बाल कचहरीमा रामताल, विष्टवाडा, विद्यानगर, रातिमाटे गणेशदेवलगायत ११ भन्दा बढी टोलका किशोरीसहित आएकी बडुवालले स्थानीय महिला जनप्रतिनिधि र शिक्षिकाहरूसमेत छाउ बार्न गोठमा बस्ने गरेको बताइन्। 

बाल कचहरीमा सहभागी स्वस्तिका विष्ट, रविना विष्ट, प्रियंका ढकाल, शान्ति कुँवर, अस्मिता विष्ट, निलम नचेललगायतका किशोरीले समेत महिनावारी हुँदा छाउ बार्ने गरेको स्वीकार गरे। 

छाउपडी कुप्रथा हटाउन अग्रसर भएर लाग्नुपर्ने दायित्व बोकेका बाल सञ्जालका किशोरीहरू, महिला जनप्रतिनिधि र शिक्षिकाले नै छाउ बार्न बाध्य भएको सुनेपछि कमलबजार नगरपालिकाका प्रमुख ढकाल, वडाध्यक्षलगायतका जनप्रतिनिधि निरास बने। नगरप्रमुख ढकालले भने, ‘यो कुरामा तपाईंहरू गम्भीर हुनुहोस् । सासुससुराले मान्दै मान्नु भएन, देवता रिसाए भनेर अपराध ढाकछोक गर्न पाइँदैन ।’ बयालालगायत नगरका धेरै ठाउँमा फेरि छाउगोठ निर्माण भइरहेका र अधिकांश गाउँमा छाउ बार्ने गरेको सूचना आइरहेकाले अब यसविरुद्ध कडा रूपमा लाग्ने ढकालले बताए। 

यस्तो कुप्रथाविरुद्ध महिला र किशोरीहरू एकजुट हुनुको साटो उनीहरू नै बाधक बन्न थालेकाले अब कानुनबमोजिम कारबाही गर्नुपरे पनि पछि नहट्ने उपप्रमुख शारदा विष्टले चेतावनी दिइन्। उनले छाउगोठमा बसेको भेटाए पक्राउ गर्नेसमेत बताइन्।

वडाध्यक्ष नन्दसिंह कुँवरका अनुसार बयालामा देवताकै डरले महिला र किशोरीहरूले छाउ बार्ने गरेका छन्। यहाँका सबै घरमा महिनावारी भएको वेला दुध, दही खान नपाउने र छाउगोठमा बस्नुपर्ने चलन रहेको उनले बताए। अब यसविरुद्ध कानुनी रूपमै नलागेसम्म आफूहरूले सम्झाएर छाउ बार्ने चलन रोक्न सम्भव नरहेको कुँवरले बताए। 

नगरप्रमुख ढकालसमक्ष वडाका समस्या सुनाउँदै उनले छाउ बार्ने चलन मात्र नभएर बालविवाह, अभिभावक गुमाएका, पढ्न नपाएका र अपांगता भएका बालबालिकाका समस्या पनि उस्तै रहेकाले यी विषयमा ध्यान दिन आग्रह गरे।

उनले वर्ल्डभिजन र आस्था नेपालको सहयोगमा यस्ता समस्याविरुद्ध काम भइरहेको भए पनि नगरले थप बजेटसहित कार्ययोजना निर्माण गरे जिल्लाकै पुछारमा रहेको बयालामा समृद्धिको ढोका खुल्ने बताए। 

यस्ता समस्याविरुद्ध अभियानकै रूपमा लागे विकास साझेदारका तर्फ स्थानीय सरकारलाई सहयोग गर्न तयार रहेको भन्दै आस्था नेपालका सचिव कृष्णप्रसाद देवकोटाले रूपान्तरण कक्षा, अभिभावक शिक्षा र प्रजनन शिक्षा सुधारमा जोड दिए। 

मुलुकी अपराध संहिताले महिनावारी भएका वेला गरिने विभेदलाई अपराध माने पनि अछाममा अगुवाहरू नै बाधक बनेको भन्दै अधिवक्ता पुष्पराज शर्माले अगुवा किशोरी, जनप्रतिनिधि, अधिकारकर्मी र शिक्षिकाले नै छाउ बार्दा कानुन कार्यान्वयनमा समस्या उत्पन्न भएको बताए। अछाम जिल्लामा अहिलेसम्म १४ किशोरी तथा महिलाको छाउगोठमा मृत्यु भएको तथ्यांक छ। यसरी मृत्यु हुनेमा अधिकांश किशोरी छन्।

 


 

छुटाउनुभयो की ?