चार महिनापछि बसेको सुदूरपश्चिम प्रदेश सभा बैठकमा प्रदेश सांसदहरूले सरकारको आलोचना गरेका छन्। बिजनेस नदिएर सदनलाई लामो समयसम्म कामविहीन बनाएको र काम गर्न नसकेको भन्दै सांसदहरू प्रदेश सरकारप्रति आक्रामक देखिएका हुन्।
स्वतन्त्र सांसद डा. तारा जोशीले लामो समयपछि प्रदेश सभा बैठकमा आउँदा आफू भर्खर चुनाव जितेर प्रदेश सभामा आएकोजस्तो अनुभूति भएको भन्दै कटाक्ष गरे। ‘शिशिर योगीको एउटा गीत छ– म एउटा मान्छे खोजिरहेछु भन्ने। म पनि एउटा मान्छे खोजिरहेको छु, जो मुख्यमन्त्री यहाँ रोस्ट्रममा आएर भनोस्– म एक वर्षमा यो काम गर्छु, यति वर्षमा यो काम गर्छु’ जोशीले भने, ‘सरकारसँग काम गर्ने योजना नै छैन।’ हरेक वर्ष बजेटका नाममा भ्रष्टाचारको भूकम्प आइरहेको उनले टिप्पणी गरे।
माओवादी केन्द्रको संसदीय दलका नेता मानबहादुर धामीले चार महिनापछि प्रदेश सभा बैठक बोलाएको भन्दै प्रदेश सभा सचिवालय र प्रदेश सरकारलाई धन्यवाद दिएर कटाक्ष गरे। सरकारका गतिविधिबारे सदनमा जानकारी नभएको भन्दै उनले आपत्ति जनाए। ‘लामो समयपछि माननीयज्यूहरूको फेरि परिचय भएको छ। यो अवसर जुराइदिएकोमा धन्यवाद ज्ञापन गर्दछु,’ उनले भने।
राप्रपाकी खेमादेवी विष्टले सरकारले काम नदिँदा प्रदेश सभा सरकार बनाउन, गिराउन, बजेट बनाउनमा मात्रै केन्द्रित रहेको आरोप लगाइन्। विष्टले गुप्तवासमा बसेको सरकारको आज दर्शन गर्न पाइएको भन्दै कटाक्ष गरिन्। मुख्यमन्त्रीले गफ मात्र गर्ने र काम नगरेको उनको आरोप थियो।
‘सदूरपश्चिममा झुट बोल्ने को भनेर तथ्यांक निकाल्ने हो भने एक नम्बरमा हाम्रो मुख्यमन्त्री पर्नुहुन्छ,’ बिष्टले भनिन्, ‘उहाँले कुरा राम्रा गर्नुहुन्छ । उहाँका कुरा आकर्षक हुन्छन् । तर ती कुरा लागू कहिले पनि हुँदैनन् ।’
सत्तारुढ नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरीले सरकारले काम गर्न नसक्दा सरकारप्रति नागरिकमा सरकारप्रति असन्तुष्टि बढेको बताए। सरकारका संयन्त्र र संसदीय समिति चलायमान हुन नसकेका उनले बताए। ‘संसदीय समिति मिनी सदन हो, तर ती समिति चलायमान छैनन्’ चौधरीले भने।
एकीकृत समाजवादीको संसदीय दलका उपनेता प्रकाश रावलले चार महिनासम्म प्रदेशसभा बैठक नहुँदा सरकार हराएको गुनासो आउने गरेको बताए। सरकारले काम नगर्दा प्रदेश सभा सदस्यले जहाँ गए पनि गाली खानुपर्ने अवस्था सृजना भएको उनको भनाइ थियो। उनले भने, ‘प्रदेश सरकारको औचित्य छैन भन्न थालिएको छ । यो अवस्थालाई सुधार गर्न आवश्यक छ ।’
सत्ताको नेतृत्व गरिरहेको नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बिक्रमसिंह धामीले प्रदेश सरकारप्रति गुनासो बढ्दै गइरहेको बताए । प्रदेश संरचनालाई बदनाम हुनबाट जोगाउन सबै मिलेर काम गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सडक, पर्यटन, शिक्षा, स्वास्थ्यलगायतका पूर्वाधार विकासमा अभियानका रुपमा लैजानुपर्ने धारणा राखे । आवश्यकताको पहिचान गर्दै विकास गर्नुपर्ने उनले बताए। प्रदेशको विकासका लागि सत्तापक्ष र प्रतिपक्षी मिलेर जानुपर्ने उनको भनाइ थियो। गत ६ असोजपछि प्रदेश सभा बैठक आइतबार बसेको हो।