लुम्बिनी प्रदेश सभामा पेस भएको प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल आइतबार सकिएको छ।
प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले प्रदेश सभाको पाँचौँ अधिवेशनको तेस्रो बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए। सो प्रस्तावको सैद्धान्तिक छलफलमा तीनजना प्रदेश सभा सदस्यले भाग लिएका थिए।
प्रदेश सभा सदस्यहरू विष्णु पन्थी, इन्द्रजित थारू र निमा गिरीले छलफलमा भाग लिएका थिए। बैठकको विशेष समयमा ६ जना प्रदेश सभा सदस्यले विभिन्न विषय उठाएका थिए।
सांसदहरूले प्रदेश सरकारले दायित्व भुक्तानीलाई छिटो गर्नुपर्ने, छाडा पशुचौपायाको समस्या समाधान गर्न ठोस कार्यक्रम ल्याउनुपर्ने, विद्यालयमा विद्यार्थीमाथि शिक्षकले कुटपिट गरेर अंगभंग गराएका विषयहरूसमेत उठाए।
प्रदेश सभा सदस्य रामजीप्रसाद घिमिरेले सरकारले सामाजिक अराजकतालाई न्यूनीकरण गर्ने गरी भूमिका बढाउनुपर्ने बताए। प्रदेश सभा सदस्य भगवती अधिकारीले विद्यालयमा विद्यार्थी कुट्ने र अंगभंग भएको घटनाको छानबिन गर्न माग राखिन्।
यसैगरी, प्रदेश सभा सदस्य चन्द्रकेश गुप्ताले सदनमा उठेका प्रश्न तथा सवालको जवाफ सरकारले दिनुपर्ने माग राखे। प्रदेश सभा सदस्य नवराज लामिछानेले कपिलवस्तु क्षेत्रमा छाडा पशुचौपायाको समस्या अझै समाधान हुन नसकेको सुनाए। अर्का सदस्य यमबहादुर नेपालीले मानवीय विकासलाई प्राथमिकतामा राखेर कार्यक्रम तर्जुमा गर्न जोड दिए।
बैठकमा पाँचौँ अधिवेशनबाट पारित भई प्रदेश प्रमुखको कार्यालयबाट प्रमाणीकरण भएका विधेयकसम्बन्धी प्राप्त पत्र सभामुख तुलाराम घर्तीमगरले पढेर सुनाएका थिए। पाँचौँ अधिवेशनको चौथो बैठक सोमबार दिउँसो १ बजे बस्नेछ।