एक महिनाअघि भक्तपुरको बालकोटमा बुवा र भाइको हत्या गर्ने मिलन आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्। प्रहरी र अदालतमा पनि साबिती बयान दिएका उनलाई जिल्ला अदालत भक्तपुरले गत २६ पुसमै कारागार पठाउने आदेश दिएको हो।
गत ७ पुसमा उनले बुवा कुलप्रसाद र भाइ प्रवीणको हत्या गरेका हुन्। घटनाको दुई दिनपछि महाराजगन्जमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।
उनलाई जन्मकैद सजायको माग गरी मुद्दा दायर भएकोमा जिल्ला अदालत, भक्तपुरले पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेलले बताए। अदालतको आदेशअनुसार उनी केन्द्रीय कारागार चलान भएका छन्।
लोकसेवाको परीक्षामा बारम्बार फेल भएको र प्रगति गर्न नसकेको भनेर बुवाले भनेको कुराले विक्षिप्त भएर आफूले त्यसरी हत्या गरेको बयान उनले दिएका छन्।
शनिबार बेलुका सँगै खाना खाएर उनीहरू सुतेका थिए। बुवा र मिलन एउटै कोठामा सुतेकोमा त्यो दिन पनि बुवाले लोकसेवामा नाम निकाल्न नसकेको भनेर गुनासो गरेपछि रातभरि निधाउन नसकेको र बिहान सबैलाई मारेर मर्ने योजना बनाएको उनको बयान छ।
प्रहरीका अनुसार सुरुमा उनले बुवाको हत्या गरेका थिए। डम्बबेलले टाउकोमा प्रहार गरी निदाएको अवस्थामा बुवाको हत्या गरेका हुन्। त्यसपछि किचनमा गएर पानी पिएको र त्यहाँ सुतिरहेका भाइलाई सिलौटोले हानेर हत्या गरेका थिए।
हत्यापछि रगत लागेको लुगा झोलामा राखेर कोठामा बाहिरबाट ताला लगाई उनी निस्किए। त्यहाँबाट भक्तपुरको बिरुवास्थित जंगलमा गएर गलबन्दीले पासो लगाएर आत्महत्या प्रयास गरेको, तर गलबन्दी खुस्किएपछि आफूलाई मर्नुहुन्न भन्ने लागेर चाबहिल पुगेको उनको बयान छ।
हत्यापछि दुई दिनसम्म चाबहिलको सगरमाथा गेस्ट हाउसमा बसेका थिए। आइतबारदेखि नै मोबाइल स्विच अफ गरेका थिए। मंगलबार बिहान पत्रिकामा बुवा र भाइको हत्याबारे समाचार पढेपछि उनी प्रहरी वृत्त महाराजगन्जमा पुगेका थिए।
आफूबाट परिवार र आफन्तले धेरै अपेक्षा गरेको, तर त्यसअनुसार प्रगति गर्न नसक्दा तनावमा आएर यस्तो निर्णय गरेको उनले प्रहरीमा बताएका छन्। उनले नायब सुब्बा पदमा सातपटक र अधिकृत पदमा एकपटक लोकसेवाको परीक्षा दिएका थिए। तर, असफल भएपछि सधैँ बुवाले गुनासो गरेकोले आफू थप तनावमा परेको उनको भनाइ छ।
उनका बुवा कुलप्रसाद आचार्य जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त प्रमुख थिए। हत्याको केही दिनअघि मात्र लाइसेन्स बनाउन खोटाङबाट भक्तपुर आएर छोराको डेरामा बसेका थिए। उनका भाइ प्रवीण भिएस निकेतन कलेजमा स्नातक तहमा अध्ययनरत थिए।
यस्तो छ उनको बयान र उनीविरुद्धको अभियोगपत्र