कोशी प्रदेश सभा एमाले संसदीय दलका प्रमुख सचेतक विदुरकुमार लिङ्थेपले सरकार हेरफेर भइरहँदा त्यसको असर प्रदेश सभामा सञ्चालनमा परे पनि अब नियमित संसद् चल्ने बताएका छन्
संसदीय पत्रकार मञ्च कोशीले आइतबार आयोजना गरेको अन्तरसंवादमा प्रमुख सचेतक लिङ्थेपले अब एमाले–कांग्रेसको गठबन्धन सरकार स्थायी प्रकारको भएकोले राजनीतिक प्रभावमा नपरी प्रदेश सभाको बैठक नियमित चल्ने बताएका हुन्। लिङ्थेपले भने, ‘संघमा जस्तै कोशी प्रदेशमा पनि कांग्रेस–एमाले मिलेर दह्रो सरकार बनेको छ। यो स्थिर भएर जाने र संसद् पनि नियमित चल्नेमा ढुक्क भए हुन्छ।’
उनले ७ माघ सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशन नियमित सञ्चालन हुने र सबैभन्दा बढी विधेयक पारित गर्ने घोषणा पनि गरे। उनका अनुसार योपटक सरकारले हिउँदे अधिवेशननमा कम्तीमा संशोधनसहित १० वटा विधेयक लैजाँदै छ। उनले भने, ‘संशोधनसहित केही फ्रेस विधेयकसमेत सभामा पेस हुँदै छन्। योपटक कम्तीमा दुई महिनासम्म बिजनेस अभाव हुनेछैन।’
कोशीमा विपक्षी दलहरूले प्रदेश सभाको बैठक सरकारको छायामा परेको भन्दै आलोचना गर्दै आएका छन्। प्रमुख विपक्षी दल माओवादीले कांग्रेस एमाले गठबन्धन सरकारले अझैसम्म संसदमा हिउँदे अधिवेशनका लागि आवश्यक विधेयक दर्ता गरी नसकेको र कतिपय तयारी गर्न नै बाँकी रहेकोले भनाइ र गराइमा धेरै अन्तर रहेको बताउँदै आएका छन्। उनीहरूले चाँडो प्रदेश सभाको बैठक बोलाउन माग गर्दै आएका छन्। माओवादीका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने, ‘संसद् नियमित हुनुपर्छ भन्ने हाम्रो पनि माग हो, तर सरकारको तयार हेर्दा विश्वस्त हुने आधार देखिँदैन।’
१७ पुस ०७९ देखि सुरु भएको कोशी प्रदेश सभाको दोस्रो कार्यकालको संसद् अधिवेशनहरू राजनीतिक उतारचढावले गर्दा प्रत्यक्ष प्रभावित हुँदै आएको थियो। पछिल्लोपटक ११ जेठ ०८१ देखि सुरु भएको कोशी प्रदेश सभाको बर्खे अधिवेशनको बैठक राजनीतिक अस्थिरताले गर्दा बजेट पारित गरिसकेपछि ८ असारदेखि अनिश्चितकालका लागि स्थगित भएर १४ भदौदेखि फेरि सुरु भएको थियो। तर, माओवादीले सरकारको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिइसकेपछि कोशी प्रदेश सभाको पाँचौँ तथा बर्खे अधिवेशन ४ असोजदेखि अन्त्य भएको थियो। कोशी प्रदेश सभाको दोस्रो कार्यकालमा केन्द्रीय राजनीतिक अस्थिरताकै कारण ६ पटकसम्म सरकार परिवर्तन भैसकेको छ।