विद्यालयमा नियमित रूपमा विद्यार्थी आउन छाडेपछि रामेछापको उत्तरी हिमाली क्षेत्रमा पर्ने उमाकुण्ड गाउँपालिका– १ गुम्देलको ल्हाछ्योरमा रहेको श्री हिमालय आधारभूत विद्यालयमा दिवा आवासको व्यवस्था गरिएको छ।
वडा कार्यालयको आर्थिक सहयोगमा उक्त विद्यालयका विद्यार्थीलाई बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म दिवा आवास सञ्चालन गरेपछि विद्यार्थी नियमित विद्यालय आउन थालेकाे विद्यालयका प्रधानाध्यापक पोटराज घिमिरेले बताए।
‘विद्यार्थीहरू नियमित रूपमा विद्यालय नआउने, केही विद्यार्थीहरू आए पनि समयमा विद्यालय नआउने, विद्यालय आउँदा पनि शिक्षकले कक्षाकोठामा दिएको गृहकार्य नगरी आउनेलगायतका समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले विद्यार्थीलाई विद्यालयमै बसेर पठनपाठन गर्ने व्यवस्था मिलाइएको हो,’ प्रअ घिमिरेले भने ।
अध्ययनका लागि बिहान ७ बजे विद्यालय आउने विद्यार्थीलाई बिहानको खाजा, खाना तथा दिउँसोको खाजाको समेत व्यवस्था विद्यालयमै गरिएको छ। ल्हाछ्योरका बालबालिकाहरूलाई अध्ययन गर्न निकै टाढा जानुपर्ने भएपछि त्यस गाउँका बालबालिकाहरूलाई थोरै भए पनि अध्ययनमा सहज होस् भन्ने उद्देश्यले ल्हाछ्योरमा ०३७ सालमा विद्यालय स्थापना गरिएको थियो।
विद्यार्थीको नियमित उपस्थिति र पठनपाठनलाई व्यवस्थित गराउन दिवा आवाससहितको कक्षा सञ्चालन गरिएको उमाकुण्ड गाउँपालिकाको शिक्षा शाखाका अधिकृत ङावा शेर्पाले जानकारी दिए। उनले भने, ‘विद्यालयमा दिवा वासको व्यवस्था भएपछि विद्यार्थी बिहान सबेरै विद्यालय आउने गरेका छन् । बिहान विद्यालय आएका बालबालिका १० बजेसम्म पढ्छन् । त्यसपछि नियमित कक्षा सुरु हुन्छ र ४ बजेपछि पनि विद्यालयमा नै बसेर गृहकार्य गछन् । गृहकार्य सकेपछि साँझ ५ बजेपछि मात्र घर फर्किन्छन्।’
सो विद्यालयमा कार्यरत शिक्षकहरूलाई पनि विद्यालयमा नै आवास र निःशुल्क खानाको व्यवस्था मिलाइएको छ। त्यस्तै, विद्यालयमा विद्युत् जडान गरी इन्टरनेट, कम्प्युटर, प्रिन्टर र हिटरको समेत व्यवस्था गरिएको गाउँपालिकाको वडा नं १ का वडाध्यक्ष ङावातिण्डु शेर्पाले बताए।