मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २९ सोमबार
  • Tuesday, 14 January, 2025
जेन टी ग्रस
२o८१ पौष २९ सोमबार o७:१३:oo
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

प्रलयको चपेटामा अमेरिका

Read Time : > 2 मिनेट
जेन टी ग्रस
नयाँ पत्रिका
२o८१ पौष २९ सोमबार o७:१३:oo

एक उदार संस्थागत व्यवस्था निर्माण र कायम राख्न पुस्तौँ नभए पनि वर्षौँको कठिन श्रम आवश्यक हुन्छ

हामीले आगामी चार वर्षसम्म ह्वाइट हाउसबाट अनौँठा एवं बहुलट्ठीपूर्ण विचारको प्रवाह देख्नेछौँ । अमेरिकाले ग्रिनल्यान्ड, पानामा नहर र सम्भवतः क्यानडासमेत कब्जा गरेर आफ्नो भूभाग विस्तार गर्ने योजना बनाउन सक्छ । यस अवस्थामा राष्ट्रपति (निर्वाचित डोनाल्ड ट्रम्पका विदेशमन्त्री उम्मेदवार सिनेटर मार्को रुबियोले आफ्ना नेतालाई यस्ता ‘असाधारण’ भूराजनीतिक विचारले रुसलाई पनि अलास्का फिर्ता लिन सोच्न बाध्य बनाउन सक्छ भनेर सचेत गर्नुपर्ने हुन्छ ।

ट्रम्प एक अत्यन्त अज्ञानी व्यक्ति हुन् । उनको विश्वसम्बन्धी ज्ञान टेलिभिजन हेरेर मात्रै बनेजस्तो देखिन्छ । उनको पहिलो कार्यकालमा विश्वका नेता विशेषतः उनले भेटेका धेरै युरोपेली राजनीतिज्ञ उनको रिक्त दिमागी अवस्था देखेर स्तब्ध भएका थिए । उनी किताबसँग एकपटक मात्रै सार्वजनिक भएका छन् 

(बाइबल बोकेर वासिङटनमा जर्ज फ्लोयड आन्दोलनको समयमा सेन्ट जोन चर्चमा कुख्यात फोटो खिचाउँदा) । मूर्खताले नपुगेको अवस्थामा ट्रम्पलाई यौन दुव्र्यवहारको आरोपमा दोषी ठहर गरिएको छ । उनी एक नश्लभेदी राष्ट्रवादी, चरमपन्थीका साथी, ‘कू’ प्रयासका योजनाकार र भिडलाई उक्साउने व्यक्ति पनि हुन् । यसबाहेक उनलाई शृंखलाबद्ध झुट बोल्ने व्यक्तिका रूपमा चिनिन्छ । उनी ठगीका एक सर्वोत्तम उदाहरण हुन्, तर आधाभन्दा बढी अमेरिकी मतदातालाई उनका हर्कत समस्याजनक लागेन । 

सन् २०२४ को राष्ट्रपतिको चुनावभन्दा धेरै पहिले अमेरिकी राजनीतिक सम्भ्रान्त वर्गलाई ट्रम्प अयोग्य छन् भन्ने थाहा थियो, तर यो तप्काले कुनै पनि प्रतिक्रिया जनाएन । पहिलो कार्यकालमा दुईपटक महाभियोग लगाइएका ट्रम्पलाई उनकै पार्टीका सिनेटरले दुईपटक पश्चिमा विश्वको सबैभन्दा ठुलो लोकतन्त्रको नेतृत्व गर्नयोग्य घोषित गरेका छन् । ट्रम्पलाई दुईपटक दोषमुक्त गर्न मतदान गरेर रिपब्लिकन सिनेटरले उनलाई अमेरिकी राष्ट्रपतिको पदबाट स्थायी रूपमा अयोग्य ठहर गर्न अस्वीकार गरेका छन् । र, यसरी जानाजान र प्रत्यक्ष रूपमा उनको पुनरागमन सम्भव बन्यो ।

यस प्रलयको प्रभाव केवल अमेरिकी सपनाको कुरूप छविमा सीमित छैन, यसले विश्वव्यापी रूपमा राजनीतिक स्थायित्वको आधारलाई कमजोर बनाउँछ । पश्चिमा लोकतन्त्रले अब कुनै पनि शासन वा नेतालाई अन्तर्राष्ट्रिय नियम र मान्यता पालना गर्न आग्रह गर्ने नैतिक अधिकार कसरी राख्न सक्छ ? हामी आफ्ना पाखण्डलाई कायम राखेर हारेको चुनावी नतिजा अस्वीकार गर्ने अलेक्जेन्डर लुकासेन्को र निकोलास माडुरोलाई कसरी आलोचना गर्न सक्छौँ ? र, जब अमेरिकाको नेतृत्व आफैँमा वैकल्पिक तथ्य बनाउने राष्ट्रपतिले गर्छन् तब युक्रेनमा भ्लादिमिर पुटिनको क्रूर युद्धबारेका झुटको पर्दाफास गर्न गरिएको हाम्रो प्रयास कति विश्वसनीय र प्रभावकारी रहला ? 

‘स्वार्थ र नाफाका कारण पुँजीपतिले बोल्सेभिकलाई त्यही डोरी बेच्नेछन् जसलाई पछि बोल्सेभिकले तिनै पुँजीपति विक्रेतालाई झुन्ड्याउन प्रयोग गर्नेछन्’ भन्ने लेनिनको भनाइलाई स्मरण गरौँ । अमेरिकी राजनीतिक वर्गले लेनिनका अपेक्षालाई समेत साथ दिएका छन् । ट्रम्पका समर्थकले विधिविहीनताको डोरी बुनेर पासो तयार गरेका छन्, जहाँ हाम्रो सामूहिक गर्दनलाई अँठ्याइएको छ र अमेरिकी गणतन्त्रलाई झुन्ड्याइएको छ । र, यसका लागि बोल्सेभिकहरूको कुनै सहायता लिनुपरेन ।

भविष्यमा कुनै दिन केही विवेकी विद्यार्थीले यो प्रलय हालको सूचना क्रान्तिको परिणाम हो, जसले सामाजिक सम्बन्ध र सार्वजनिक संवादमा कुनै वेला छापाखानाको आविष्कारले पारेको प्रभावभन्दा पनि ठुलो असर पारिरहेको छ भन्नेछन् । विद्यमान लोकतान्त्रिक संस्थाले यी क्रान्तिकारी परिवर्तनलाई व्यवस्थापन गर्न असफल हुँदै गर्दा उदार लोकतान्त्रिक व्यवस्थालाई जोगाउन किन असमर्थ देखिन्छन् भनेर बुझ्न प्रयास गर्नुपर्छ । त्यसअघि भव्य र विस्तृत सामूहिक प्रयास कहिलेकाहीँ निराशाजनक ढंगले समाप्त भएको पहिलोपटक होइन भन्नेमा पनि हामीले ध्यान दिनुपर्छ । अमेरिकाका संस्थापक असाधारण रूपमा कुशल राजनीतिक चिन्तक र प्रतिभाशाली लेखकको समूहले आफ्नो प्रस्तावित शासन प्रणालीलाई असफल बनाउन सक्ने धेरै खतराको गहिरो विश्लेषण गरेका थिए र त्यसको बचाउमा ‘द फेडरलिस्ट पेपर्स’मार्फत अद्भूत तर्क गरेका थिए । तर, मानव मूर्खता र व्यक्तिगत अहंकारप्रति यी संस्थापकको चेतनाका बाबजुद पनि एकपटकको रियालिटी टेलिभिजन कार्यक्रमका सञ्चालक र मिस युनिभर्स प्रतियोगिताका मालिकबाट अमेरिकी संविधानलाई जोगाउन संस्थागत सुरक्षा निर्माण गर्न असमर्थ रहे । 

निःसन्देह ट्रम्प एक्ला छैनन् । उनलाई साथ दिनेमा अमेरिकी सम्भ्रान्त राजनीतिक वर्ग मात्र नभई विश्वकै सबैभन्दा धनी व्यक्तिलगायत केही धनाढ्य व्यक्ति पनि समावेश छन् । र, सबैभन्दा महŒवपूर्ण रूपमा ट्रम्पलाई सात करोड ७० लाख अमेरिकी मतदाताले साथ दिएका छन् । वैश्विक मामिलामा आफ्नो प्रभावलाई मुलुकको सीमाभन्दा बाहिर कायम राख्न सक्ने महान् राष्ट्र (जर्मनी) कुनै वेला घृणा फैलाउने एक लोकरिझ्याइँवादी नेताको पछि लागेको थियो । त्यसवेला समस्याबाट पार पाउन १२ वर्ष र सात करोड मानिसको मृत्यु कुर्नुपरेको थियो । 

एक उदार संस्थागत व्यवस्था निर्माण र कायम राख्न पुस्तौँ नभए पनि वर्षौँको कठिन श्रमको आवश्यकता पर्छ । यसबाहेक दूरदर्शी सार्वजनिक सेवक र कहिलेकाहीँ चमत्कारी घटना पनि आवश्यक पर्छ । ट्रम्पले नष्ट गर्ने कुरा पुनर्निर्माण गर्न कति समय लाग्नेछ ? सबैभन्दा अनुकूल अवस्थामा हामीलाई जवाफ पाउन चार वर्ष कुर्नुपर्नेछ । यद्यपि, मेरा एक मनोवैज्ञानिक मित्रले मेरो भावनालाई बुढ्यौलीको संकेत भन्दै आफू आशावादी नरहेको भनेका थिए ।

(ग्रस प्रिन्स्टन विश्वविद्यालयका इतिहासका इमिरेट्स प्राध्यापक हुन्) प्रोजेक्ट सिन्डिकेटबाट