प्रधानमन्त्री केपी ओलीले पूर्वजले गरेको खोज, अध्ययनको बाटोमा सबैलाई लाग्न प्रेरणा लिएर अघि बढ्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीले योग दिवसका अवसरमा आज पूर्वज र प्रकृतिप्रति गौरव गर्दै ज्ञान पैदा गर्ने खोज, अध्ययन र अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्ने बताएका हुन् ।
‘पूर्वजहरूप्रति शिर झुकाएर श्रद्धापूर्वक नमन गर्नुपर्दछ, उहाँहरूको आदर्शबाट सिक्ने र उहाँहरूको जस्तो ज्ञान पैदा गर्ने खोज, अध्ययन, अनुसन्धानको बाटो समाउने प्रयास गर्नुपर्दछ, जीवनमा त्यसलाई आत्मसात् गर्ने प्रयास गर्नुपर्दछ,’ प्रधानमन्त्री ओलीले भने, ‘योग दिवसले देशभक्ति, पूर्वजहरूप्रति, प्रकृतिप्रति, यो भूखण्ड, यो देशप्रति हामीलाई गर्व गर्न सिकाओस् र त्यसबाट प्रेरणा लिएर अगाडि बढ्न प्रेरित गरोस्, म सबैमा यही शुभकामना व्यक्त गर्न चाहन्छु ।’
दसाैँ राष्ट्रिय योग दिवसका अवसरमा प्रधानमन्त्री ओलीले स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज राष्ट्रिय योग दिवस मनाइएको बताए ।
‘योग यस भूमिको उपज, पूर्वजहरू, जसले गणितको, आयुर्वेदको, अन्तरिक्षको अथवा स्वास्थ्य विज्ञानको जुन आविष्कार गर्नुभएको थियो, त्यो असाधारण थियो भन्ने पुष्टि हो यो,’ प्रधानमन्त्री ओलीले भने, ‘योगको महत्त्व अझ बढी प्रखर रूपमा प्रकट भएको र मानिसको सबैभन्दा महत्त्वपूर्ण कुरा स्वस्थ रहनु हो, शारीरिक र मानसिक रूपले स्वस्थ रहनु, स्वस्थ रहनका लागि योग असाधारण उपयोगी छ, साधना र लामा ध्यान चिन्तकका लागि आवश्यक हुन सक्छ ।’
विश्वलाई मानवोचित विश्व बनाउन चाहिरहेका र विश्व भनेको धर्ती र मानव समाज भएको प्रधानमन्त्रीको भनाइ छ । प्रकृति र मानव समाज सन्तुलन कायम यस ठाउँलाई आदियोग भूमि भन्न सक्ने उल्लेख छ । ‘आदियोग गुरु, आदियोगी शिव अर्थात् शम्भुनाथले यसै भूमिबाट हजारौँ वर्षअघि योगको अभ्यास, योगको चिन्तन र योग दर्शन अर्थात् जीवनसँग सम्बन्धित सम्पूर्ण विषय र जीवन र प्रकृतिको सम्बन्धको चिन्तन, ध्यानादि कुराको प्रारम्भ गर्नुभएको थियो,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण शिवलाई आदियोगी मान्दछौँ । योग आदियोगी शिवबाट सुरु भएको हो । योग कुनै धर्म, जाति वा भूगोलविशेषसँग, कुनै राजनीतिक विचारधारामा सीमित छैन । यो सम्पूर्ण मावन जातिको कल्याणका लागि निर्मित र समर्पित रहेको एउटा यस्तो विधा हो जुन अत्यन्तै वैज्ञानिक ढंगले सुरु भएको थियो ।’
प्रधानमन्त्रीको शुभकामनामा भनिएको छ, ‘योग अलिक ओझेल पर्दै गयो, विभिन्न प्रकारका भ्रम, भ्रान्ति पनि यसमा मिसिए, अहिले योग भ्रान्तिबाट मुक्त, मानवीय हित र कल्याणका लागि सम्पूर्ण रूपमा समर्पित र व्यापक, विस्तृत हुन जरुरी छ, मानव समाजव्यापी हुन जरुरी छ, यस प्रयासमा जुटेका छौँ ।’
प्रधानमन्त्री ओलीले योग कुनै धर्मविशेषसँग सम्बन्धित नभएको र योग अध्यात्मसँग सम्बन्धित नभएर दर्शनको सृष्टिभन्दा अगाडि शैव दर्शनसँग सम्बन्धित भएको बताएका छन् । सन्देशमा भनिएको छ, ‘दर्शनकै प्रारम्भ यहीँबाट भयो, योगबाट दर्शनको प्रारम्भ भयो, योगबाट ध्यान, ध्यानबाट चिन्तन, चिन्तनबाट मनन, मननबाट ज्ञान विकास भयो । संयुक्त राष्ट्रसंघले सन् २०१४ मा जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मान्यो । जसको इतिहासले हाम्रो भूमिसँग १५ हजार वर्षअघिको नाता राख्दछ । यसको सम्बन्ध कपिलवस्तुका कपिलमुनिसँग जोडिएको छ । त्यसपछि कपिलवस्तुकै सिद्धार्थ गौतम, गौतम बुद्धसँग नाता जोडिएको छ ।’