एमाले बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ प्रत्यक्ष मुछिएको नेसनल नमोबुद्ध सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालयमा प्रदेश सरकारअन्तर्गतको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तालाबन्दी गरेको छ । सहकारीले करिब ११ हजार बचतकर्ताको एक अर्ब ५२ करोड रुपैयाँ डुबाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । तर, सहकारीका तत्कालीन अध्यक्ष तामाङमाथि प्रारम्भिक अनुसन्धानसमेत गरिएको छैन ।
बागमती प्रदेशको सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरेको भोलिपल्ट सोमबार काठमाडौंको समाखुसीस्थित सहकारीको केन्द्रीय कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार प्रदेश सहकारीमन्त्री मदुकुमार श्रेष्ठले मन्त्रीस्तरीय निर्णयबाट समस्याग्रस्त घोषणा गरेका हुन् । तालाबन्दी गर्न समितिका अध्यक्ष प्रभात अधिकारीसहितको टोली पुगेको थियो ।
टोलीले कार्यालयमा तालाबन्दीसँगै सहकारीको आयव्ययको अवस्था जाँचबुझ गर्न कम्प्युटरका हार्डडिस्कहरू सिज गरेको छ । सहकारीको सम्पत्तिभन्दा पनि दायित्व बढी देखिएपछि प्रदेश सहकारी मन्त्रालयले उक्त सहकारीलाई आइतबार समस्याग्रस्त घोषणा गरेको थियो ।
‘हामीले नेसनल नमोबुद्ध सहकारी संस्थाको केन्द्रीय कार्यालयमा तालाबन्दी गरेर त्यहाँ रहेका कम्प्युटरका सर्भर÷हार्डडिस्कहरू अध्ययनका लागि नियन्त्रणमा लिएका छौँ,’ समितिका अध्यक्ष अधिकारीले भने, ‘अन्य कागजातसहित २ माघमा उपस्थित हुन सहकारीका व्यवस्थापक र पदाधिकारीलाई निर्देशन पनि दिएका छौँ । सम्पूर्ण कागजात र आयव्ययको अध्ययनपछि मात्रै सहकारीको वास्तविक अवस्थाबारे भन्न सकिन्छ ।’
सहकारी महाशाखाका रजिस्ट्रार कुमार तामाङले नेसनल नमोबुद्धको सम्पत्तिभन्दा दायित्व बढी देखिएपछि समस्याग्रस्त घोषणा गरिएको जानकारी दिए । बचतकर्ताले दिएको उजुरीका आधारमा सहकारीका व्यवस्थापक र पदाधिकारीलाई मन्त्रालयमा बोलाएर पटक–पटक छलफल गर्दा पनि समस्या समाधान हुने अवस्था नदेखेपछि समस्याग्रस्त घोषणा गर्नुपरेको उनको भनाइ छ ।
रजिस्ट्रार तामाङका अनुसार सहकारीका अध्यक्ष राजकुमार तामाङसहितका पदाधिकारीहरूलाई गत वर्ष १७ असोज, २२ कात्तिक र २० चैतमा छलफलका लागि बोलाइएको थियो । छलफलका क्रममा सहकारीले बचत फिर्ताका लागि ३ वैशाख ०८१ मा कार्ययोजना पेस गरेको भए पनि सोअनुसार काम नभएपछि सहकारीलाई समस्याग्रस्त घोषणा गरिएको हो । उनले बचतकर्ताहरूले उक्त सहकारीसँग १२ करोड २७ लाख बचत फिर्ताको माग गरेको जानकारी दिए । छलफलका क्रममा सहकारीसँग एक अर्ब ५२ करोड दायित्व देखिएको उल्लेख गर्दै उनले सहकारीको सम्पत्ति भने अनुमानित ७० करोड आसपास रहेको बताए ।
सहकारी बैंकलाई समेत ठगे सांसद तामाङले
प्रदेश सांसद तामाङले तत्कालीन समयमा सहकारीको अध्यक्ष छँदा महँगो ब्याज दिने प्रलोभनमा बचतकर्ताबाट कुस्त रकम उठाएका थिए । नुवाकोट लिखु गाउँपालिका– ९ थानसिंमा ४४ रोपनी जग्गा खरिद गरे । सबै जग्गा नुवाकोट ककनी गाउँपालिका– ९ की चिनीमाया लामाको नाममा दर्ता गरे । सोही जग्गा राष्ट्रिय सहकारी बैंकमा धितो राखेर बैंकबाट १४ करोड ऋण झिके । उक्त रकम मनोमानी ढंगले खर्च गरे । सुरुका केही किस्ता तिरेका उनले पछि आलटाल गर्दै गए । बैंकले ऋण तिर्न ताकेता गरे पनि विभिन्न बहाना देखाउँदै उनले ऋण तिर्ने भाका बदल्दै गए ।
केही सीप नलागेपछि बैंकले तामाङको नाममा गत १४ जेठमा ३५ दिने सूचना नै सार्वजनिक गर्यो । सूचना तामाङसहित सहकारीका वर्तमान अध्यक्ष राजकुमार लामा, उपाध्यक्ष विमला बस्नेत, सचिव राजु सापकोटा, कोषाध्यक्ष श्यामबहादुर तामाङ, सदस्यद्वय बाबुराम लोप्चन र बुद्धिबहादुर तामाङ तथा पेम्बा शेर्पा र बुद्धि तामाङको नाममा सार्वजनिक भएको थियो । तर, उक्त ऋण उनीहरूले अझै चुक्ता गरेका छैनन् । २९ पुस ०७९ मा भएको २२औँ अधिवेशनपछि सहकारीको अध्यक्ष राजकुमार लामा छन् । त्यसअघि सांसद ज्ञानबहादुर तामाङ अध्यक्ष थिए ।
सुमेरु र लालीगुराँस सहकारी पनि समस्याग्रस्त घोषणा
बागमती प्रदेश सहकारीमन्त्रीस्तरीय निर्णयबाट काठमाडौंको नेसनल नमोबुद्धसँगै ललितपुरका थप दुई सहकारीलाई पनि समस्याग्रस्त घोषणा गरिएको छ । सुमेरु सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड र लालीगुराँस बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई पनि समस्याग्रस्त घोषणा गरिएको हो ।
वीरेन्द्र महर्जन अध्यक्ष रहेको पुल्चोकस्थित सुमेरुले दुई अर्ब २५ करोड १४ लाख बचत फिर्ता नगरेको मन्त्रालयले जनाएको छ । सुमेरुले बचत फिर्ता नदिने, संस्थाको आर्थिक कारोबार उपलब्ध नगराउनेलगायतका कार्य गरेपछि समस्याग्रस्त घोषणा गरिएको सहकारी महाशाखा बागमती प्रदेशका रजिस्ट्रार कुमार तामाङले जानकारी दिए । सहकारीसँग १३ अर्बभन्दा बढीको सम्पत्ति रहेको अनुमान गरिएको छ भने सात अर्बभन्दा बढीको दायित्व छ । सुमेरुविरुद्ध ८४८ बचतकर्ताले उजुरी दिएका छन् ।
त्यस्तै, धनबहादुर तामाङ अध्यक्ष रहेको लालीगुराँसविरुद्ध ९७२ बचतकर्ताको उजुरी छ । एक अर्ब ६१ करोड ९९ लाख ७५ हजार बचत फिर्ता माग गर्दै उजुरी परेको सहकारी महाशाखाले जनाएको छ । तीन हजार २३८ सेयर सदस्य रहेको उक्त सहकारीको बचत तीन अर्ब ८६ करोड १४ लाख छ । सहकारीको लगानी भने तीन अर्ब १६ करोड २५ लाख रुपैयाँ देखिएको रजिस्ट्रार तामाङले जानकारी दिए ।
त्यस्तै, महाशाखाले प्रदेशका अन्य आठ सहकारीमाथि पनि छानबिन गरिरहेको छ । बचतकर्ताहरूले बचत फिर्ता नदिएको गुनासो गर्दै उजुरी दिएपछि महाशाखाले काठमाडौंको ज्येष्ठ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, क्यापिटल सेभिङ एन्ड को–अपरेटिभ लिमिटेड, गतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विषयमा छानबिन गरिरहेको छ । त्यस्तै, संकट बचत तथा ऋण सहकारी संस्था लिमिटेड, शुक्रपथ बचत तथा ऋण सहकारी संस्था लिमिटेड, ब्रिटिस गोर्खा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड र सुविधानगर जगदम्बा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमाथि छानबिन भइरहेको रजिस्ट्रार तामाङले जानकारी दिए । सहकारीमन्त्री श्रेष्ठले समस्या देखिएका सहकारीका व्यवस्थापक र पदाधिकारीलाई बोलाएर आफ्नै उपस्थितिमा छलफल गरिरहेको बताउँदै आठ सहकारीलाई बचत फिर्ता गर्न निर्देशन दिएको बताए ।
संकटग्रस्त घोषणा भएको सुमेरुका तत्कालीन अध्यक्ष महर्जनविरुद्ध जिल्ला अदालत ललितपुरमा ठगी मुद्दा, चार अर्बको बिगोदाबी
बागमती प्रदेश सरकारले समस्याग्रस्त घोषणा गरेको ललितपुरको पुल्चोकस्थित सुमेरु सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनविरुद्ध मात्रै जिल्ला अदालत ललितपुरमा झन्डै चार अर्ब रुपैयाँ बिगोदाबीसहित सहकारी ठगी कसुरमा मुद्दा दर्ता भएको छ । सिआइबीको अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय ललितपुुरले महर्जनविरुद्ध मुद्दा दर्ता गरेको हो । महर्जन अहिले परिवारसहित बेलायतमा बस्छन् । बेलायत जानुअघि उनले सहकारीको रकम लगानी गरी खोलिएका विभिन्न कम्पनी निजीसरह प्रयोग गर्दै आएका थिए ।
अनुसन्धान प्रतिवेदनअनुसार उनले हुँदै नभएको व्यक्तिको नाममा समेत ऋण प्रवाह गरी सहकारीको रकम दोहन गरेका थिए । समग्रमा उनले मात्रै सहकारीको तीन अर्ब ९३ करोड ४२ लाख २० हजार ९४९ रुपैयाँ अपचलन गरेको देखिएको सिआइबी प्रमुख एआइजी दिपक थापाले बताए । ‘ललितपुरको सुमेरु सहकारीका तत्कालीन अध्यक्ष भरत महर्जनले मात्रै झन्डै चार अर्ब रुपैयाँ अपचलन गरेको पाइयो । उनीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । बेलायत फरार रहेको हुँदा उनीविरुद्ध रेड कर्नर नोटिससमेत जारी भएको छ,’ उनले भने ।
प्रतिवेदनअनुसार उनले सबैभन्दा धेरै रकम सुमेरु अस्पतालका नाममा अपचलन गरेका छन् । यसका लागि उनले सहकारीबाट नौ अर्ब ४३ करोड ७९ लाख ४३ हजार ३६९ रुपैयाँ ऋण लिएका थिए । उक्त रकम उनले निजी प्रयोजनमा खर्च गरेका थिए । त्यस्तै, उनले सुमेरु सिटी अस्पतालका नाममा पनि सहकारीको रकम अपचलन गरेका छन् । उक्त अस्पतालका नाममा उनले सहकारीबाट ९० करोड ७१ लाख ७७ हजार ४२१ रुपैयाँ ऋण निकालेका थिए । उक्त रकम पनि उनले अपचलन गरेका थिए ।
त्यस्तै, महर्जनले एसियन कलेजका नाममा ५७ करोड ५३ लाख २९ हजार ७५०, सुमेरु हाउजिङका नाममा २४ करोड ४५ लाख १५ हजार ७५३, सुमेरु किड्नी अस्पतालका नाममा सात करोड ९३ लाख ७९ हजार १६९, सुमेरु डाइग्नोस्टिकका नाममा एक लाख ९९ हजार ८९२, पिए नेपालका नाममा तीन करोड ४२ लाख ७६ हजार २२९, सुमेरु मेडिकल कलेजका नाममा चार लाख र सातदोबाटो चोक कन्स्ट्रक्सनका नाममा पाँच करोड १३ लाख ६२ हजार ५६६ रुपैयाँ अपचलन गरेका थिए ।
त्यसबाहेक उनले हुँदै नभएको व्यक्तिको नाममा समेत ऋण निकाली रकमको दुरुपयोग गरेका थिए । जस्तै– विवेक मानन्धरका नाममा ५२ करोड ९३ लाख २६ हजार ०१९, अमितराज उपाध्यायका नाममा ६ करोड ६ लाख २६ हजार ६६९ र विश्वास भट्टराईका नाममा एक करोड ३६ लाख ८४ हजार ११२ रुपैयाँ ऋण झिकेर अपचलन गरेका थिए ।
सहकारीको नाममा छैमलेमा रहेको एक रोपनी १२ आना जग्गासमेत आफ्नो नाममा नामसारी गरेका थिए । त्यसबाहेक उनले नेपाल राष्ट्र बैंकको विनास्वीकृति सुमेरु सब रेमिट एन्ड इन्भेस्टमेन्ट, सुमेरु इन्भेस्टमेन्ट एन्ड रेमिटेन्स र सुमेरु इन्टरनेसनल रेमिट पनि सञ्चालन गर्दैै आएका थिए ।
सूर्य थापा नेतृत्वको उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनअनुसार सुमेरु सहकारीमा अहिले ३७ हजारभन्दा धेरै बचतकर्ताको नौ अर्ब २० करोड ९५ लाख २५ हजार ८७९ रुपैयाँ जोखिममा छ । महर्जनले सहकारीको रकम अपचलन गरेर श्रीमती राजमायाको नाममा धापाखेलमा दुई रोपनी दुई आना दुई पैसा जग्गा खरिद गरिदिएका थिए । छोरा सचिन र छोरी सरलाका नाममा टौदहस्थित सुमेरु रिसोर्टको जग्गा नामसारी गरिदिएका थिए । सहकारीमा समस्या आउने संकेत पाएपछि उनले सम्पत्ति जोगाउन अदालत पुगेर श्रीमतीसँग सम्बन्धविच्छेद गरेका थिए । त्यो कागजी सम्बन्धविच्छेद मात्रै थियो भन्ने त्यतिवेला पुष्टि भयो जब बेलायत जानुअघि उनले राजमायासँगै पुनः विवाह गरे ।