मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
२o८१ माघ २ बुधबार १o:४३:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

६ महिनामा सल्यानबाट ४९ करोडको ताजा तरकारी बिक्री

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १o:४३:oo

सल्यानबाट चालू आर्थिक वर्षको ६ महिनामा ४९ करोडभन्दा बढीको ताजा तरकारी तथा फलफूल अन्य जिल्लामा बिक्री गरिएको छ । बेमौसमी तरकारी खेतीका लागि परिचित सल्यानबाट उक्त अवधिमा ४९ करोड १६ लाखबराबरको ६२ हजार तीन सय ११ क्विन्टल तरकारी तथा फलफूल अन्य जिल्लामा पठाइएको कृषिउपज बजार सञ्चालक समिति कपुरकोटले जनाएको छ ।  

जिल्लाबाट सबैभन्दा बढी राजमा सिमी एक सय ७७ रुपैयाँ प्रतिकिलो र सबैभन्दा कम फर्सी प्रतिकिलो १५ रुपैयाँका दरले बिक्री भएको कृषिउपज बजार सञ्चालक समिति कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिए । त्यस्तै, सबैभन्दा धेरै २७ हजार पाँच सय ६८ क्विन्टल टमाटर बिक्रीबाट किसानले २४ करोड ५३ लाख आम्दानी गरेको उनले जानकारी दिए ।

सल्यानमा उत्पादन भएको बेमौसमी तरकारी विशेष गरी दाङ, बुटवल, पोखरा, नेपालगन्ज, धनगढी र काठमाडौंसम्म पुग्छ । देशकै दोस्रो ठूलो तरकारी संकलन केन्द्र कपुरकोटमा मंसिरसम्म तरकारीको बजार सञ्चालन हुने गर्छ । उत्पादित कृषिउपज यसपटक राम्रो भाउ पाएकाले किसानले आकर्षक आम्दानी गरेको अध्यक्ष शर्माले जानकारी दिए ।

कपुरकोटमा कृषि मिनील्याब 
सल्यानको कपुरकोटमा कृषि मिनील्याब स्थापना गरिएको छ । किसानको खेतबारीको माटो परीक्षण तथा रोग–किराको पहिचान गर्न कपुरकोट गाउँपालिकाले कृषि मिनील्याब सञ्चालनमा ल्याएको हो । ल्याब सञ्चालनमा आएसँगै माटो परीक्षण र रोग–किरा पहिचानका लागि जिल्लाबाहिर जानुपर्ने कृषकहरूको बाध्यता हटेको कपुरकोट गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताए । उनले भने, ‘माटोमा कुन पदार्थ कति छ, माटोमा उर्वराशक्ति बढाउन के गर्नुपर्छ, रोग–किराको उपचार कसरी गर्ने भन्नेबारे कृषि मिनील्याबले किसानलाई जानकारी दिन सहज हुन्छ ।’  

पछिल्लो समय अत्यधिक रासायनिक मल र विषादी प्रयोगका कारण माटोको अवस्था बिग्रँदै गएको र नयाँ रोग तथा किराहरू देखा परेकाले यसलाई नियन्त्रण गर्न कृषि क्षेत्र विकास कार्यक्रम (एएसडिपी)को सहयोगमा कृषि मिनील्याब स्थापना गरिएको भण्डारीले बताए । उनका अनुसार कृषि मिनील्याबमा पालिकाभित्रका किसानले निःशुल्क तथा पालिकाबाहिरका किसानले शुल्क तिरेर आफ्नो खेतबारीको माटोको परीक्षण र रोग–किराको पहिचान गरी उपचार विधि पत्ता लगाउन सक्नेछन् । ल्याबसँगै रोग–किरा तथा किसानको गुनासो सुनुवाइ गर्न कृषक परामर्श केन्द्रको समेत सञ्चालनमा ल्याइएको कृषिउपज बजार सञ्चालक समिति अध्यक्ष तिलक शर्माले जानकारी दिए ।