नेपाल–भारत अन्तरदेशीय ‘क्विक रेस्पोन्स कोड’ (क्युआर) भुक्तानी प्राप्ति बढ्दै गएको छ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले भारतको फोनपेसँगको सहकार्यमा फागुन ०८० देखि सीमापार क्युआर भुक्तानी प्राप्ति सुरु गरेको हो । त्यसअन्तर्गत भारतीय फोनपे, पेटिएम, गुगल–पे र भीम एपबाट नेपाली फोनपेको मर्चेन्ट खाताको क्युआर स्क्यान गरेर भुक्तानी गर्न मिल्छ । यस्तो भुक्तानी पछिल्लो समय बढ्दै गएको नेपाल राष्ट्र बैंक र फोनपेबाट प्राप्त तथ्यांकले देखाउँछ ।
फोनपेले नेपाली खाताबाट भारतीय क्युआर स्क्यान गरेर भुक्तानी गर्ने सेवा प्रवाह गर्न पनि राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ । तर, भारतीय पक्षबाट तयारी पूरा नहुँदा सेवा सुरु हुन सकेको छैन । अहिले भने भारतीय पर्यटक तथा नागरिकले त्यहाँको फोनपे, पेटिएम, गुगल–पे र भीम एपबाट नेपाली फोनपेको मर्चेन्ट खाता (क्युआर)मा गर्ने भुक्तानी बढ्दो छ ।
यस्तो सेवा सञ्चालनमा आएको आव ०८०/८१ (फागुन–असार)मा ३२ करोड १० लाखबराबरको एक लाख ३४ हजार सात सय एकवटा अन्तरदेशीय क्युआर भुक्तानी प्राप्ति भएको थियो । चालू आव ०८१/८२ को पहिलो पाँच महिनामा नै ६६ करोड ५० लाखबराबरको अन्तरदेशीय क्युआर भुक्तानी प्राप्ति भइसकेको छ । कारोबार संख्या पनि दुई लाख २५ हजार ६ सय आठवटा रहेको देखिन्छ ।
कम्पनीले उपलब्ध गराएको तथ्यांकअनुसार साउनमा आठ करोड ६० लाखबराबरको अन्तरदेशीय क्युआर भुक्तानी प्राप्ति भएको छ । साउनको कारोबार संख्या भने ३७ हजार सात सय आठवटा रहेको छ । यसैगरी, भदौमा नौ करोड १० लाख रुपैयाँबराबरको ३६ हजार आठ सय २७ वटा यस्ता कारोबार भएका छन् ।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार असोजमा १३ करोड ९० लाख रुपैयाँबराबरको अन्तरदेशीय क्युआर भुक्तानी प्राप्ति भएको छ । उक्त महिना ४३ हजार नौ सय ६ वटा कारोबार भएको तथ्यांकमा देखिन्छ । कात्तिकमा १५ करोड ६० लाख रुपैयाँबराबरको ५० हजार चार सय ५५ वटा र मंसिरमा १९ करोड ३० लाख रुपैयाँबराबरको ५६ हजार सात सय १२ वटा अन्तरदेशीय क्युआर प्राप्ति भएका छन् ।
नेपाल घुम्न आउने भारतीय नागरिकले नेपालको वस्तु तथा सेवा खरिद गरेबापत यहाँको होटेल, रेस्टुरेन्ट, सुपर मार्केटलगायतका मर्चेन्ट खाता (फोन पेको क्युआर बनाएको खाता)मा क्युआरमार्फत भुक्तानी गरेका हुन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिवसकुमार सापकोटाले पछिल्लो समय नेपाल–भारत अन्तरदेशीय क्युआर भुक्तानी प्राप्ति बढ्दै गएको बताए । ‘नेपालमा भारतीय पर्यटकको हिस्सा धेरै नै छ । तर, अन्तरदेशीय डिजिटल पेमेन्टको सुविधा नहुँदा उनीहरू नगद नै बोक्न बाध्य थिए । तर, अहिले क्युआरबाट भुक्तानी गर्ने सुविधा भएपछि नेपाल घुम्न आउने भारतीय पर्यटकलाई सहज हुँदै गएको छ,’ उनले भने ।
अन्तरदेशीय डिजिटल भुक्तानी पनि अन्तिम चरणमा
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)ले पनि सबै प्रकृतिका नेपाल–भारत अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्ने तयारी अन्तिम चरणमा पु¥याइसकेको छ । नेपाल र भारतबिच अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्न जेठ ०८० मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणमा नेपालको तर्फबाट नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) र भारततर्फ नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपिसिआई)बिच सम्झौता भएको थियो । त्यसपछि उनीहरूले एक–अर्काको भुक्तानी प्रणालीलाई अन्तरआबद्ध गरेर परीक्षणसमेत गरिसकेका छन् । परीक्षण सफल भएपछि अहिले ‘क्लोज युजर ग्रुप’मा अन्तरदेशीय डिजिटल भुक्तानी भइरहेको छ । अब छिट्टै सर्वसाधारणका लागि पनि अन्तरदेशीय डिजिटल भुक्तानी खुला गरिने एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान प्रधानले जानकारी दिए ।
नेपालका वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंककोे मोबाइल बैंकिङलगायतका माध्यमबाट भारतीय बैंकको खातामा भुक्तानी गर्न सकिनेछ । साथै, भारतीय बैंकको खाताबाट नेपालका वाणिज्य र राष्ट्रियस्तरको विकास बैंकको खातामा डिजिटल माध्यमबाट व्यक्तिगत खातामै भुक्तानी गर्न सकिनेछ । अर्थात्, ‘पर्सन टु पर्सन’ मोडेलमा अन्तरदेशीय डिजिटल भुक्तानी सुरु गर्न सकिनेछ ।
अहिले नेपाल र भारतबिच फोनको क्युआर भुक्तानी प्राप्तिबाहेक स्विच र एटिएम कार्डमार्फत अन्तर्राष्ट्रिय कारोबार तथा भुक्तानी हुने गरेको छ । एटिएम कार्ड नगदमै आधारित कारोबार हो । स्विच कारोबारलाई डिजिटल मान्ने गरे पनि यो बैंक र भुक्तानी प्रणाली सञ्चालकले प्रयोग गर्ने प्रविधि हो ।