मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ २ बुधबार
  • Wednesday, 15 January, 2025
माघी पर्वमा सखिया नाच नाचेर रमाइलो गर्दै धनगढी उपमहानगरपालिका–५ का थारू समुदाय ।
२o८१ माघ २ बुधबार १o:१७:oo
Read Time : > 1 मिनेट
समाचार प्रिन्ट संस्करण

सखियाले गुन्जिए थारू बस्ती

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ माघ २ बुधबार १o:१७:oo

परम्परागत पोसाकमा सजिएका महिलाहरू एक घरको आँगनमा गोलो घेरामा उभिएर बाजा बजाउँदै गीत गाइरहेका थिए । बिचमा एक महिला र एक पुरुष नृत्यको तालमा मादल र डफु ठोक्दैै थिए । समूहमा रहेका महिलाहरू आफ्नै भाषामा ‘सखिया हो...’ गीत गाइरहँदा दुईजना किशोरी परम्परागत नृत्य प्रस्तुत गरिरहेका थिए ।

कैलालीको धनगढी उपमहानगरपालिका–५, जाइगाउँको थारू बस्तीमा मंगलबार दिउँसो देखिएको रौनकपूर्ण दृश्य हो यो । थारू समुदायले आफ्नो सबैभन्दा ठुलो पर्व माघी यसैगरी उल्लासपूर्वक मनाइरहेका छन् । माघी पर्वमा मादल र डफुको तालसँगै सखियालगायत परम्परागत गीत–संगीतले यहाँका थारू बस्तीहरू गुन्जिएका छन् । पुरुष र महिलाहरू समूहमा नाचगान गर्दै माघी हर्सोल्लासपूर्वक मनाइरहेका छन् ।

मिठोमसिनो खाने, आफूभन्दा ठुलाबडा र मान्यजनबाट आशीर्वाद लिने तथा नाचगान गर्दै रमाइलो गरेर माघी पर्व मनाउने गरिन्छ । पुस मसान्तमा सुरु हुने माघी २ माघसम्म मनाउने गरिन्छ । थारू समुदायले १ माघलाई नयाँ वर्षको रूपमा पनि मनाउने गर्छन् । यस दिन आफूभन्दा ठुलाबाट आशीर्वाद लिने र सानालाई स्नेह प्रकट गरिन्छ । ‘थारू बस्तीहरूमा अहिले माघी पर्वको उल्लास छ । माघी हाम्रो समुदायको सबैभन्दा ठुलो पर्व हो,’ थारू संस्कृतिका जानकार प्रभातकुमार चौधरीले भने, ‘मिठोमसिनो खाने तथा नाचगान गरेर रमाइलो गरी माघी मनाइन्छ ।’ उनका अनुसार माघीमा परम्परागत गीत–संगीतसँगै मादल र डफुको तालमा झुम्रा, सखिया, मघौटालगायत परम्परागत नृत्य गरेर रमाइलो गरिन्छ ।

पुस महिनाको अन्तिम दिन माघी पर्व सुरु हुने भए पनि माघीको उल्लास भने माघी सुरु हुनुअघिबाटै हुन्छ । थारू समुदायले पुस मसान्तमा मासुका लागि बंगुर काट्ने, राति परम्परागत खानाका परिकार बनाएर खाने तथा रातभर जाग्राम बसेर परम्परागत संस्कृतिअनुसार नाचगान गरेर रमाइलो गर्ने चलन रहेको चौधरीले बताए । उनका अनुसार आफूले पुज्ने भगवानका नाममा धुनी जगाएर (धमार) भजन कीर्तन गर्ने चलनसमेत छ ।

‘हरेक घरमा बंगुरको मासु, माछाका सिध्रा तथा ढिक्री, भात, बरिया, खरियाजस्ता परम्परागत खानाका परिकार पाक्छन्,’ चौधरीले भने, ‘खाना खाएपछि मानिसहरू गाउँका भल्मन्सा र मान्यजनको घरमा जम्मा भएर नाचगान गर्दै रातभर रमाइलो गर्ने गरिन्छ ।’ यसरी रमाइलो गर्दा मादल, डफु, झार बजाएर पुरुषहरू पम्परागत धमार गीत गाउने तथा मादल, डफुको तालमा झुम्रा, सखिया, मघौटालगायत परम्परागत नृत्य गर्दै महिला–पुरुष रमाइलो गर्छन् । १ माघमा नयाँ वर्षको स्वागत गर्ने गरिन्छ । माघेसंक्रान्तिका दिन बिहानै उठेर नजिकैको नदी, तलाउ वा जलाशयमा गई नुहाउने चलन छ । माघीमा जल किनेर मात्र नुहाउनुपर्छ भन्ने मान्यता रहेकाले नुहाउनुभन्दा अगाडि पानीमा पैसा, फूल, दियो, प्रसादका रूपमा मिठाई चढाउने गरिन्छ । 

नुहाएर घर फर्केपछि त्यसअघि छुट्याएर राखिएको चामल, दाललगायत खाद्यान्नलाई छुने र त्यसलाई चेलीबेटीका लागि छुट्याउने चलन रहेको थारू समुदायका अर्का अगुवा प्रभातकुमार चौधरीले बताए । ‘त्यसपछि आमाबुवा, परिवार तथा गाउँछिमेकमा आफूभन्दा ठुला मान्यजनलाई ढोगेर आशीर्वाद लिने र आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ,’ उनले भने । आफूभन्दा ठुलालाई ढोगेर आशीर्वाद लिने तथा सानालाई प्रेम, स्नेह प्रकट गर्ने भएकाले माघी पर्वले आपसी भ्रातृत्व र प्रेम बढाउने काम गरेको उनले बताए । माघमा थारू समुदायले गाउँको भल्मन्साको चयन गर्छन् । भल्मन्साले गाउँमा हरेक कार्यमा नेतृत्व प्रदान गर्छन् ।