सुडानको राजधानी खार्तुमको जुम्ल्याहा सहर ओमदुरमानको क्षेत्रमा भएको गोलाबारीमा १२० जनाभन्दा बढीको मृत्यु भएको स्वयंसेवक उद्धारकर्ताहरूले बताएका छन्।
पश्चिमी ओमदुरमानमा सोमबार भएको ‘अन्धाधुन्ध गोलाबारी’ मा १२० जना सर्वसाधारणको मृत्यु भएको जनाइएको छ।
स्वास्थ्य कार्यकर्ताहरूका अनुसार उद्धारकर्ताहरूले ‘विभिन्नस्तरका चोटपटकबाट पीडित ठुलो संख्यामा घाइते व्यक्तिहरूको’ उपचार गर्न संघर्ष गरिरहेका वेला चिकित्सा आपूर्तिको अत्यन्त अभाव रहेको बताए।
सुडानमा २० महिनाभन्दा लामो युद्धपछि हालैका हप्ताहरूमा सेना र अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ) बिचको लडाइँ बढेको छ।
सहायता एजेन्सीहरूका अनुसार युद्धमा दसाैँ हजार मानिस मारिएका छन्, जसले देशलाई अनिकालको सँघारमा पारेको छ। सेना र आरएसएफ दुवैमाथि स्वास्थ्य कार्यकर्तासहित सर्वसाधारणलाई लक्षित गरेको र आवासीय क्षेत्रमा अन्धाधुन्ध गोलाबारी गरेको आरोप लगाइएको छ।
ओमदुरमानको अधिकांश भाग सेनाको नियन्त्रणमा छ भने आरएसएफले राजधानी र बृहत्तर खार्तुम क्षेत्रको केही भाग नियन्त्रण गरेको छ।
नाइल नदीका दुवैतर्फका बासिन्दाहरूले नदी पार गरेर गोलाबारी भएको बताएका छन्। त्यहाँ बम र छर्राहरू नियमित रूपमा घरहरू र नागरिकहरूमाथि पर्ने गरेका छन्।