मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १९ शुक्रबार
  • Sunday, 05 January, 2025
मोहन विष्ट कञ्चनपुर
२o८१ पौष १९ शुक्रबार १४:५८:oo
Read Time : > 3 मिनेट
अर्थ डिजिटल संस्करण

उखुले बढायो किसानको आर्थिक उपार्जन, कञ्चनपुरका दश हजार उखु किसान लाभान्वित 

Read Time : > 3 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८१ पौष १९ शुक्रबार १४:५८:oo

नगदे बालीको रूपमा रहेको उखु खेती कञ्चनपुरका किसानका लागि घरदैलोमै रोजगारी बनेको छ । उखुले किसानको जीवनमा सुधार ल्याइदिएको छ । जिल्लाको दक्षिणी क्षेत्र बेलौरी र पुनर्वासमा चिनी उद्योग स्थापना भएसँगै उखु किसानको जीवनमा आर्थिक सुधार आइरहेको छ ।

१४ वर्षअघि बेलौरी– १० शिवनगर र नाै वर्षअघि पुनर्वास नगरपालिका– २ दशरथ बस्तीमा चिनी उद्योग सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्र बेलडाँडी, बेलौरी, पुनर्वास, लालझाडीसहितका जिल्लाका अन्य पालिका गाउँबस्तीका उखु किसानको जीवनमा आर्थिक सुधार ल्याएको छ । 

दुवै चिनी उद्योग नहुँदा पनि थोरै किसानले उखुखेती गर्दैै आएका, उद्योग सञ्चालनमा आएसँगै जिल्लामा अहिले थुप्रै किसानले उखु खेती गरिरहेका छन् । उनीहरूले स्वदेशमा रहेका केही गुण उद्योग र भारतमा बेच्दै आएका थिए । गाउँमै उद्योग नहुँदा सस्तोमै भारतमा उखु बेच्नुपर्ने पनि किसानको बाध्यता थियो, तर अहिले उखु किसानका अधिकांश समस्या टर्दै गएका छन् । 

झन्डै २०–२२ किलोमिटर दूरीमा दुई चिनी उद्योग सञ्चालनमा आएपछि स्थानीय उखु किसानलाई ठुलो राहत मिलेको छ । लालझाडी गाउँपालिका– ३ नन्दगाउँका उखु किसान बहाली रानाले जिल्लाका दुई चिनी उद्योग स्थापना भएसँगै सहजै उखु उत्पादनको दायरासमेत वृद्धि गरेको बताए । ‘मैले ०६२ सालदेखि नियमित उखु खेती गर्दै आएको छु, उतिवेला चिनी उद्योग थिएनन्, रतनपुरमा भएको एक सानो चिनी उद्योग पनि बन्द भयो, गाउँकै कोलुमा बेच्दै आएका थिएँ, अहिले फेरि चिनी उद्योग सञ्चालनमा आएपछि उखुखेती विस्तार गरेको छु ।’ 

विगतमा १० कट्टामा उखु खेती गर्दै आएका राना अहिले तीन बिघामा गर्दै आएका छन् । उनले उखुबाट वार्षिक आठदेखि १२ लाखकाे कारोबार गर्दैै आएको बताए । ‘अरू खेतीभन्दा उखुले नगदै प्रतिफल दिन्छ,’ उनले भने, ‘त्यही भएर उखु खेती गरिरहेको छु ।’ रानाले सरकारी अनुदान पाउनमा मुस्किल र झन्झटिलो भएकाले कि हटाउनुपर्ने नभए सहज बनाउनुपर्ने माग राखेका छन् ।

बेलडाँडी– ४ वैवाहका उखु युवा किसान दिलप्रसाद शर्माले उखु खेतीलाई स्वरोजागरकै रूपमा काम गरेको बताए । ‘मेरो परिवारले २० वर्षदेखि  उखु खेती गर्दै आएको थियो, उतिवेला गाउँमा गुण उत्पादन गर्ने कोलु मात्रै थिए, अहिले दुई ठुला चिनी उद्योग सञ्चालनमा आएका छन्, मैले विदेश जानुभन्दा अरूको जमिन पनि भाडामा लिएर उखु खेती गर्छु, अन्य किसानको उखु पनि मिलसम्मै ओसार्छु ।’ शर्माले कञ्चनपुरमा आठ बिघा र बर्दियामा समेत ६ बिघा जमिनमा उखु खेती गरेका छन् । उनले आफूले वार्षिक एक करोडको कारोबार गर्दै आएको बताए । 

बेलौरी नगरपालिका– १० सडकघाटका प्रभावशाली उखु किसान चक्रबहादुर कडायतले ३२ बिघा जमिनमा उखु खेती गरेका छन् । उनी उखु खेतीबाटै ठाउँठाउँमा सम्पत्ति पनि जोडेको बताउँछन् । ‘मैले २२ वर्षदेखि उखुखेती गर्दै आएको छु,’ उनले भने, ‘स्वदेशमा चिनी मिल नहुँदा भारतमा बेच्नुपर्ने बाध्यता थियो, अहिले दुई चिनी उद्योग सञ्चालन भएपछि सहज भएको छ ।’ खडायतले वार्षिक ५० देखि ६० लाखको उखु बेच्दै आएका छन् । उनले मल, बिउ, औषधिका कारण उखु किसानलाई समस्या भएको बताए ।

चिनी उद्योगले दुईदेखि चार साताभित्रै भुक्तानी गर्दै आएपछि किसानलाई सुविधा भएको उनले बताए । बेलडाँडी गाउँपालिका– ४ वैवाहकै अर्का उखु किसान रनीसिंह धामीले पनि दुई दशकदेखि उखु खेती गर्दै आएका छन् । ‘मैले विगतमा १० कट्टामा उखु खेती गर्दै आएको थिएँ, उद्योग सञ्चालनमा आएपछि अहिले डेढ बिघामा उखुखेती गर्छु,’ उनले भने, ‘घर–परिवारको आयको स्रोत पनि उखु नै छ, तर सरकारी अनुदान लिन झन्झट भएको छ ।’ गत मंसिरदेखि सञ्चालनमा आएका दुवै चिनी उद्योगले प्रतिक्विन्टल ५८५ रुपैयाँमा उखु खरिद सुरु गरिरहेका छन् । 

१० हजार उखु किसान लाभान्वित 

कञ्चनपुरका झन्डै १० हजार किसानले उखु खेतीमा गर्दै आएका छन् । दुई ठुला उद्योगसहित गुण उद्योगमा उखु किसानले उखु बेच्दै आएका हुन् । जिल्लामा दुई ठुला चिनी उद्योग सञ्चालनमा आएसँगै उखु खेती गर्ने किसानको संख्या ह्वातै बढेको हो । 

उखु उत्पादन हकहित किसान समितिका कोषाध्यक्ष चेतनकुमार राईले पहिलेदेखि जिल्लाका किसानले उखु खेती गरे पनि ०६७ सालदेखि बेलौरी नगरपालिका– १० शिवनगरमा महाकाली सुगर इन्डस्ट्रिज प्रालि र ०७२ सालदेखि पुनर्वास नगरपालिका– २ दशरथ बस्तीमा भागेश्वर सुगर मिल एन्ड केमिकल्स इन्डस्ट्रिज प्रालि सञ्चालनमा आएसँगै ह्वातै किसानको संख्या वृद्धि भएको बताए । ‘पहिला गाउँकै कोलु उद्योग र भारतमा बेच्दै आएका थिए, उतिवेला किसान निकै समस्यामा परे पनि अहिले गाउँकै ठुला चिनी उत्पादन उद्योग सञ्चालनमा आएसँगै किसानलाई सहज भएको छ ।’ उखुले किसानको जीवनस्तरमा आर्थिक वृद्धि गरेसँगै स्वदेशमै पनि रोजगारीको आधार बनेको बताए । 

उनले सरकारले दिने प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान लिनका लागि झन्झट हुने भएकाले उखुकै मूल्यमा समायोजनमा जोड दिए । तीनै तहका सरकारले युवा वैदेशिक पलायन रोक्नका लागि युवाहरूलाई उखु किसानका कार्यक्रममा संलग्न गराउनुपर्ने बताए । 

दुवै चिनी उद्योगका अनुसार जिल्लामा झन्डै १५ हजार हेक्टर जमिन क्षेत्रफलमा उखु खेती गरिँदै आएको छ, तैपनि उद्योगलाई अन्तिमतिर कच्चा पदार्थको अभाव हुँदै आएको छ । 
महाकाली सुगर इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख कालुसिंह ठगुन्नाले यस वर्ष १७ मंसिरदेखि उद्योगले उखु क्रसिङ गरिरहेको बताए । उनले दैनिक २५ हजार क्विन्टल उखु क्रसिङ भइरहेको र उद्योगसँग प्रत्यक्ष चार हजार हाराहारीमा किसानले वार्षिक उखु बेच्दै आएको बताए ।

वार्षिक २१ लाख क्विन्टल उखु क्रसिङ गर्दै आएको उद्योगले गत वर्ष एक लाख ८० हजार क्विन्टल चिनी र आठ लाख लिटर स्प्रिड उत्पादन गरेको बताए । उनले कच्चा पदार्थ अभाव हुने र सडक सुविधा चुनौतीपूर्ण रहेको बताए ।  भागेश्वर सुगर मिल एन्ड केमिकल इन्डस्ट्रिज प्रालिका प्रशासन प्रमुख डम्बर खड्काले गत २० मंसिरदेखि उखु क्रसिङ गरिरहेको बताए । उनले दैनिक २५ हजार वार्षिक २५ लाख उखु क्रसिङ गर्दै आएका छन् ।