मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष २१ आइतबार
  • Tuesday, 07 January, 2025
२o८१ पौष २१ आइतबार १६:o४:oo
Read Time : > 3 मिनेट
समाचार डिजिटल संस्करण

मान्छेबेगरका घरहरू

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ पौष २१ आइतबार १६:o४:oo

छेवैको घर जीर्ण छ । आँगन घाँसेमैदानजस्तै बनेको छ । भत्किन लागेको ढोकामा ताल्चा झुन्डिएको छ । ‘मान्छेबेगरको घर यस्तै त हुन्छ नि ! बेवारिसेझैँ’, छिमेकीविहीन घर देखेर लमजुङको राईनास नगरपालिका– १० बोराङकी ८७ वर्षीया रमादेवी न्यौपानेलाई उदेक लाग्छ ।  

उनको घर दायाँबायाँ, जहाँ त्यहीँ फर्किँदा उस्तै जीर्ण र छिमेकीबेगर घर छन् । रमादेवी अहिले लगभग छिमेकीविहीनजस्तै छिन् । उनको घरवरिपरिका झन्डै १५ घरमा ताल्चा झुन्डिएको छ । घरधनी सहरतिर छन् । गाउँमा मान्छे पलायन हुँदै गएको देख्दा अचेल बोराङ टोलभरिकै उमेरले पाकी रमादेवीको मन अत्तालिन्छ ।

उनलाई गाउँ रित्तिँदै गएकामा चिन्ता लाग्छ । किनभने त्यो गाउँसँग उहाँको बाल्यकालदेखि बुढौलीसम्मकै प्रगाढ सम्झना छ । ‘बालखैमा बिहे गरेर आएको गाउँ हो । यहाँ पहिला कति रमाइलो हुन्थ्यो । अहिले कस्तो भयो,’ उनी भन्छिन्, ‘हराउँदै गयो गाउँको रौनक ।’ बिहे भएर आएदेखिको उनको मानसपटलमा पुरानो गाउँ अझै फनफनी घुम्छ, अतित बनेर । 

‘कच्ची बाटो पारि र वारि दुवैतिर घनाबस्ती थियो,’ उनी गाउँको विगत स्मरण गर्दै भन्छिन्, ‘अहिले घरहरू छन्, बस्ने कोही छैनन् । सबै सहरतिर लागे । सुख र सुविधाले त्यति तान्यो ।’ छोराबुहारीको साथमा घरमै बस्न पाए पनि रमादेवीलाई सुनसान गाउँको अवस्थाले मन पोल्छ । अझ बढी त करेसाबारीमा फलफूल फल्दा टिपेर खाइदिने चकचके केटाकेटी नहुँदा उहाँलाई खल्लो लाग्छ । कुनै समय थियो । ‘गाउँभरका चकचके केटाकेटीले बोटमा बतिला नलाग्दै फलफूल टिपेर बिठ्याइँ गरिदिन्थे,’ उनको स्मृति बग्दै गयो, ‘उति वेला लट्ठी लिएरै भुराभुरी लखेट्दै दौडिनुपर्थ्याे । अहिले चरा र बाँदरले खाएर रित्याउँछन् । मान्छे भेटिँदैनन् ।’

लमजुङको राईनास नगरपालिका– १० बोराङलाई न्यौपाने टोल पनि भनेर चिनिन्छ । किनभने त्यहाँ तीन घर अधिकारीबाहेक प्रायः सबै न्यौपाने थरका छन् । अधिकांश शिक्षक पेसामा आबद्ध टोल भएकाले यस गाउँको अर्को नाम मास्टरटोल पनि हो । ‘यहाँका अधिकांश बुबाहरू शिक्षक पेसामै आबद्ध भए भने छोराछोरी केहीले यही शिक्षण पेसा अपनाएका छन्,’ रमादेवीका छोरा राममणि न्यौपानेले बताए । 

उनी गाउँकै महेन्द्र प्राथमिक विद्यालयको प्रधानाध्यापक हुन् । उनका अनुसार टोलमा ५५ घरधुरी छन् । यसमध्ये मुस्किलले २६–२७ घरमा मात्रै घरमूली बसोबास गर्छन् । अरू अधिकांश सहरतिरै त कोही विदेश पलायन छन् । शिक्षकहरू जन्माएको थलोप्रति राममणिलाई जति गर्व अनुभूति छ, त्यससँगै हाल आफ्नै विद्यालयमा विद्यार्थीको संख्या दिनानुदिन घट्दै गएकामा पीडा उत्तिकै छ । पाँचजनाको शिक्षक दरबन्दी घटेर अहिले दुईजनामा सीमित हुनुपरेको छ । 

कक्षा शिशुदेखि कक्षा पाँचसम्म जम्मा १७ जना विद्यार्थी पढ्न आउँछन् । त्यसमा पनि बोराङटोलको एकजना मात्रै विद्यार्थी पढ्छन् । ‘गाउँमा अभिभावक नै नभए पनि पढ्न आउने केटाकेटी कहाँ पाउनु ?’ उनी भन्छन्। अझ भनौँ कहिलेकाहीँ विद्यार्थी विद्यालय नआइदिएर कक्षा रित्तै हुने गर्छ । राममणिका अनुसार गाउँमा स्वास्थ्य सेवा, खानेपानी, यातायातलगायतका भौतिक पूर्वाधार सुविधाको अभावले गर्दा घरहरू रित्तिँदै गएको हो । यसले टोलको विकाससहित विद्यालयको पठनपाठनमा समेत असर गरेको छ । 

राईनास नगरपालिका– १० मा प्यारजुङ, लामा गाउँ, सिमघारी, पात्लेपानी,  कत्रेनी, बोराङलगायत टोल छन् । टोलैपिच्छे मौरीपालन, तरकारी खेतीजस्ता उत्पादन र उद्यमशील काम भएका छन् । यद्यपि, पालिकाले योजनाबद्ध ढंगमा आधुनिक खेती बसाउने र रोजगारोन्मुख कार्ययोजनामा खासै चासो नल्याएको हुँदा स्थानीय सहरमुखी हुन थालेको बताउँछन् । बस्तीमा मान्छे बस्न छाडेपछि प्रेम न्यौपानेको मनोबल कमजोर हुँदै गएको अनुभव सुनाउँछन् । ‘छरछिमेकी हुँदा गाह्राेसाह्राे परेको वेला सहयोगी हात हुन्थे,’ उनी भन्छन्, ‘अहिले बिरामी भइयो भने छिमेकी गुहार्न पनि ठाउँ छैन ।’

गाउँका युवा पुस्ताहरू रोजगारी र शिक्षा आर्जन गर्नका लागि सहर पसेका छन् । चाडपर्वमा घर सम्झेर एकाध परिवार आउँछन्, नभए वर्षौँदेखि घरले स्याहार नपाएको स्थानीयले बताए । प्रेमका छिमेकी हुन्, विजयराज, दामोदर, अर्जुन । उनीहरू तीनजनाको घरमा ताल्चा छ । रोजगार र छोराछोरी पढाउन काठमाडौं पसेका छिमेकी उतै बसेको प्रेम बताउँछन् ।  मेरोवरिपरि सबै घरमा ताला लागेको छ । ‘छिमेकी नहुँदा निकै नियास्रोको महसुस हुन्छ,’ उनी भन्छन्, ‘गाउँका टाठाबाठा मान्छेहरू नै सहर पसेपछि गाउँको विकास हुने कुरै भएन ।’

गाउँको छेउमै चौतारा छ । चौतारा अचेल पहिले जस्तो भरिभराउ हुँदैन । ७२ वर्षे स्थानीय विष्णुहरि न्यौपानेले अब बुढाबुढीपछि पुर्ख्यौली घर कसले धान्ला भन्ने चिन्ताले सताउन थालेको बताउँछन् । 

उनको ठुलो छोरो चितवन रोजगारका सिलसिलामा उतै छन् । माइलो र कान्छो काठमाडौंमा छन् । सुविधा न भएको गाउँमा नबस्नु सहरतिरै आउनु भनेर छोराहरू जोड गरे पनि जन्मेको थलो छोड्न मन नलाग्ने गरेको उनले सुनाए ।  ‘हामी चिसो छल्न गाउँ आएका । होइन भने प्रायः काठमाडौंतिर बस्छौँ,’ उनले भने, ‘किन बस्ने गाउँमा भो अब दुःख गर्नुपर्दैन भन्छन् छोराहरू ।’ 

बिरामी परेको वेला सिटामोलसमेत पाउन मुस्किल हुने गाउँको दुःख सम्झिँदा विष्णुहरिले गाउँको माया गर्ने आदर्श भाव ओझेल पर्दै गएको बताउँछन् । उनले भनेजस्तै गाउँमा बस्न सजिलो भने पक्कै छैन । 

जति हेर्दा क्षणभर रमाइलो लाग्छ, त्यहाँ सुविधायुक्त जीवन बिताउन चुनौतीपूर्ण छ । ६८ वर्षे डिल्लीराम न्यौपानेले गाउँका अनेक दुःखलाई बेलिबिस्तार लाए । उनको पुर्ख्याैली जिउने आधार खेती किसानी हो । सकी–नसकी लगाएको बाली बाँदर, मृग, दुम्सीजस्ता जनावरले एकैछिन सखाप पारिदिन्छन् । ‘अन्न लगायो बाँदरलाई, बाख्रा पाल्यो बाघलाई,’ उनी किसानले भोग्नुपरेको पीडा सुनाउँछन्, ‘के खाएर बस्ने हो यो गाउँमा ? अनि सहर नपसे के गर्ने ?’

लालीगुँरास आमा समूहकी अध्यक्ष राजुकुमारी न्यौपानेका अनुसार गाउँमा स्थानीय टिकाउनका लागि स्थानीय सरकारले खासै कुनै पनि योजना ल्याएकाे छैन । रोजगारको अभाव, उद्यमशीलताका आधारहरू नहुँदा युवा पलायन भएका छन् । यति मात्रै होइन, बुढापाका पनि छोराछोरीसँगै सहर पस्न थाले । यसले गर्दा गाउँ सुनसान हुँदै गएको उनले सुनाइन् । 

उनका अनुसार मान्छे नै नरहे स्थानीय क्षेत्रको विकासको आधार हराउँछ । गाउँमा मान्छे टिकाउन ग्रामीण योजना ल्याउन अति आवश्यक रहेको उनको बुझाइ छ । 

सामुदायिक सिकाइ केन्द्रमा आबद्ध रहेकी स्थानीय विमला अधिकारी न्यौपानेले कृषिमा आधुनिकीकरण गर्ने र स्वास्थ्य, खानेपानी बाटोघाटोको सुविधा विस्तार गर्न सके न्यौपानेगाउँ स्वर्गजस्तै रहेको बताउँछिन् । 

धुलो–धुवाँदेखि पर रहेको गाउँ प्राकृतिक हिसाबले जति सुन्दर छ, उति नै पर्यटकीय दृष्टिले आकर्षित छ । परम्परागत रूपमा धान, गहुँ, मकै खेती गर्दै आएका यहाँका किसानका अहिले अधिकांश जग्गा बाँझै छन् । ‘खेती गर्ने बुढापाका छन्, सक्ने गर्छन् नसक्नेको बाँझै रहन्छ,’ विमला भन्छिन्, ‘कृषिमा आधुनिकीकरण गर्न सके पनि आयआर्जनमा धेरै राहत हुन्थ्यो ।’ रासस