जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपी : हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्युचोलीलाई युवामाझ स्थापित गर्न वि.सं. २०७० देखि राष्ट्रिय पोसाक एवं टोपी दिवस मनाउन थालिएको हो ।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोसाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोसाक लगाएर हिँड्नेको संख्या पनि धेरै देखिने गरेको छ ।
बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोसाक दिवस मनाउन थालिएको थियो । दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोसाक लगाउने युवाको संख्या बढ्न थालेको छ ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोसाकको पुनर्जागरण हुन थालेको छ । औपचारिक रूपमा राष्ट्रिय पोसाक हटाइएपछि युवाहरू जागरुक भएर यो अभियान सुरु गरेका हुन् ।
यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुने जनाइएको छ ।