दोस्रोपटक थपिएको म्याद पुस मसान्तमा सकिँदै, बल्ल ६० प्रतिशत काम
झापाको मुख्य बजार बिर्तामोडदेखि सदरमुकाम भद्रपुर जाने सडक चार लेनमा विस्तारको काम दुईपटक म्याद थप्दा पनि सकिएको छैन । निर्माण कम्पनीको ढिलासुस्तीका कारण सडक स्तरोन्नति समयमा नसकिएको हो । बिर्तामोड–भद्रपुर सडकअन्तर्गत धौलापुलदेखि भद्रपुरसम्मको ८.४१ किलोमिटर सडकको काम ठेक्का लागेको चार वर्ष पुग्दा पनि सकिएको छैन । निर्माण कम्पनीले सडक निर्माणको ठेक्का लिएर पेटी ठेकेदारमाथि विश्वास गर्दा यो सडक समयमा नसकिएको हो।
चार लेनको यो सडक ६ माघ ०७७ मा काठमाडौंको एम–एस कन्टेक प्रालिले भ्याटसहित ५८ करोड दुई लाख २८ हजार रुपैयाँमा ठेक्का लिएको थियो । सडक ५ साउन ०७९ मा सक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो । तर, ठेक्का सम्झौता मिति सकिएको २८ महिनामा पनि सडक निर्माणको काम सकिएको छैन ।
सडक डिभिजन कार्यालय दमकका इन्जिनिरियर उज्ज्वल खतिवडाका अनुसार यो सडक निर्माणका लागि दुईपटक म्याद थपिएको छ । दोस्रोपटक थपिएको म्यादको समय पनि एक महिनापछि अर्थात् पुस मसान्तमा सकिँदै छ । दोस्रोपटक थपिएको म्याद सकिनै लाग्दा पनि सडक निर्माणको काम ६० प्रतिशत मात्र भएको इन्जिनियर खतिवडाले बताए । ‘अहिले कामको गति त तीव्र छ । तर, पुस मसान्तभित्र काम सकिँदैन होला । यद्यपि, अहिले सन्तोषजनक काम भइरहेको छ,’ उनले भने, ‘सुरुमा निर्माण कम्पनीले गम्भीर रूपमा लिएन । हामीले पटक–पटक ताकेता गरेपछि अहिले कामले तीव्रता पाएको छ ।’
सडक निर्माणमा साइड क्लियर नहुँदा पनि केही समस्या निम्तिएको छ । चार लेनको सडक निर्माण गर्दा चन्द्रगडी बजारमा केही घर भत्कने भएका कारण समस्या निम्तिएको सडक डिभिजन कार्यालय दमकले जनाएको छ । चन्द्रगढीका २१ घरधुरीले भने घर भत्काउने सडक डिभिजनको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन् । ‘२१ घरधुरीको सन्दर्भमा सर्वोच्चले काम नगर्न÷नगराउन अन्तरिम आदेश दिएको छ । त्यहाँ छाडेर हामी काम अघि बढाउँछौँ,’ खतिवडाले भने, ‘चन्द्रगढी बजारमा अन्य घर पनि छन् । २१ वटा बाहेकमा समस्या छैन । कतिवटा घर र जग्गा पर्छ भनेर भद्रपुर नगरपालिकासँग समन्वय गरिरहेका छौँ । अन्य ठाउँमा खाली गराउने गरी काम थलिसकेका छौँ ।’
सदरमुकाम जाने मुख्य सडक समयमा नबन्दा यात्रुले दैनिक कष्ट भोगिरहनुपरेको छ । सदरमुकमा जाँदा स्थानीयले बर्खामा हिलो र हिउँदमा धुलोको सामना गर्नुपर्ने अवस्था छ । ‘यो सडकको काम नसकिँदा हामीले सास्ती भोग्नुपरेको छ । पाँच वर्षदेखि काम अलपत्र छ । काम नसकिँदा धुलो र हिलोले सताएको छ,’ बिर्तामोड–७ का जनार्दन ठाकुर भन्छन्, ‘दुर्घटनाको जोखिम पनि उस्तै छ । काम नगर्ने ठेकेदारलाई काम दिनु भएन । काम समयमा गर्नेलाई मात्र ठेक्का दिनुपर्यो ।’