पाँच वर्षदेखि डिजेल मात्रै ढुवानी भइरहेको पाइपलाइनबाट सबै पेट्रोलियम आयात गर्न मिल्ने पूर्वाधार अमलेखगन्जमा तयार,दुई अर्बभन्दा बढी खर्चेर बनाइएको पूर्वाधार सञ्चालनमा आएपछि भारतबाट ट्यांकरमा तेल ओसार्नुपर्ने बाध्यतामा कमी आउने
एउटै पाइपलाइनबाट नियमित रूपले पेट्रोल, डिजेल र मट्टीतेल ढुवानी छिट्टै सुरु हुने भएको छ । बाराको अमलेखगन्जमा तयार भइसकेको पूर्वाधार उद्घाटनको पर्खाइमा रहेको आयल निगमले जनाएको छ ।
परियोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी ओलीले इच्छा देखाएका छन्, तर उनको समय छुट्याउन ढिलाइ भएकाले मोतीहारी–अमलेखगन्ज पाइपलाइनबाट तीनवटै पेट्रोलियम नियमित आयात हुन सकेको छैन । आयल निगमले हिजो (आइतबार) उद्घाटनको मिति तय गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार गरेको थियो, तर प्रधानमन्त्री कार्यालयबाट जवाफ नआउँदा उद्घाटनको मिति सरेको छ ।
आयल निगमका प्रवक्ता पूर्ण रिजालले छिट्टै मिति तय गरेर पाइपलाइनबाट नियमित इन्धन ढुवानीको कार्यतालिका बनाइने बताए । ‘प्रधानमन्त्रीज्यूकै तहबाट उद्घाटन हुने भएकाले केही समय लागेको हो,’ उनले भने, ‘अब चाँडै अर्को मिति तय भइहाल्ने कुरा छ ।’ सबै पूर्वाधार तयार भइसकेकाले निगमले साताभित्रै परियोजना उद्घाटनको पहल गरिरहेको छ ।
अमलेखगन्जमा २४ भदौ ०७६ देखि नियमित रूपले डिजेल पाइपलाइनका माध्यमबाट आइरहेको छ । अब भने सोही पाइपलाइनाट पेट्रोल र मट्टीतेलसमेत आयात हुनेछ । निगमको मधेश प्रादेशिक कार्यालय, अमलेखगन्जले १८ असोजमा ५० लाख लिटर पेट्रोल र २६ मंसिरमा १० लाख लिटर मट्टीतेल आयातको सफल परीक्षण गरिसकेको छ ।
‘एउटै पाइपबाट तीन थरी पेट्रोलियम आयातको सफल परीक्षण भइसकेको छ । अरू पूर्वाधार पनि तयार छन्,’ अमलेखगन्ज डिपो प्रमुख प्रलयंकर आचार्यले भने, ‘अब चाँडै उद्घाटन गरेर नियमित रूपमा पेट्रोल, डिजेल र मट्टीतेल ल्याउन सकिन्छ ।’
मिश्रणविनै आयात
‘ट्रान्समिक्स ट्यांक’मा मिश्रण भएको पेट्रोलियम खन्याउने व्यवस्था छ
पाइपबाट तीनवटै पेट्रोलियम आयात गर्दा मिश्रण हुन सक्ने जोखिमलाई हटाउन अमलेखगन्जमा अढाई लाख लिटर क्षमताका दुईवटा ‘ट्रान्समिक्स ट्यांक’ बनाइएको छ । यहाँ मिश्रण भएको पेट्रोलियम खन्याउने र शुद्ध पेट्रोल, डिजेल र मट्टीतेल सम्बन्धित स्टोरेज ट्यांकमा पठाउने व्यवस्था छ । अमलेखगन्जमा पाइपलाइनको पेट्रोल राख्न दुईवटा, डिजेल राख्न ६ वटा र मट्टीतेल राख्न एउटा स्टोरेज ट्यांक बनाइएको छ । सबै स्टोरेज ट्यांकलाई पाइपलाइनसँग जोडिएको छ भने कम्प्युटर कक्षबाट नियमन हुने व्यवस्था छ । ‘कम्प्युटरमा एक क्लिक गरेकै भरमा पाइपको तेल अलग–अलग भण्डारणगृहमा जाने व्यवस्था छ,’ अमलेखगन्ज डिपो प्रमुख प्रलयंकर आचार्यले भने ।
पेट्रोलको मूल्य बढ्यो डिजेलको घट्यो
नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । आइतबार रातिबाट लागू हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँ प्रतिलिटर बढाइएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर समान दुई रुपैयाँ घटाइएको छ ।
मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ६२ रुपैयाँ प्रतिलिटर पुगेको छ भने मूल्य घटेपछि डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक सय ५१ रुपैयाँ कायम भएको छ । आइतबार दिउँसो इन्डियन आयल कर्पोरेसन (आइओसी)ले पेट्रोल प्रतिलिटर २.२८ बढाएर र डिजेल प्रतिलिटर १.४८ रुपैयाँ घटाएर पठाएपछि नेपाली बजारमा सोहीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
आइओसीले प्रत्येक १५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्य पठाउने गरेकाले नेपाली बजारमा समायोजन हुने गरेको छ । पेट्रोल र डिजेलबाहेक अन्यको मूल्य भने यथावत् राखिएको छ ।