मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ पौष १ सोमबार
  • Monday, 16 December, 2024
२o८१ पौष १ सोमबार १o:५८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुरमा आजदेखि इन्टेलिजेन्स ट्राफिक लाइट सञ्चालन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ पौष १ सोमबार १o:५८:oo

पहिलाे चरणमा कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा इन्टेलिजेन्स ट्राफिक लाइट जडान

ललितपुर महानगरपालिकाले इन्टेलिजेन्स ट्राफिक लाइट आजदेखि औपचारिक रुपमा सन्चालनमा ल्याएको छ । महानगरपालिकाका मेयर चिरिवाबु महर्जन र वागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले सोमबार बिहान पुल्चोकस्थित महानगरपालिका अगाडिको चोकमा राखिएको लाइटको स्विच अन गरेर उद्घाटन गरे । इन्टेलिजेन्स प्रणालीमा आधारित यी लाइटले जता धेरै सवारीसाधनको संख्या छ त्यतैतिर हरियो बत्ती बाल्छन् । 

ललितपुर महानगरपालिकाले डेढ महिनाअघि मात्रै कुपन्डोलदेखि जावलाखेलसम्म पाँच स्थानमा यस्ता लाइट जडान गरेको थियो। जडानको सबै प्रकृया सकिएपछि सोमबारदेखि नियमित सन्चालनमा ल्याइएको हो । पहिलो चरणमा पुल्चोकमा दुई, कानदेवता स्थानमा एक, दमकल चोकमा एक र जावलाखेलमा एक गरी पाँचवटा लाइट जडान गरिएको छ ।

लाइटसँगै राखिएको भेइकल डिटेक्टर मेसिनले सडकमा सवारीसाधनको संख्या तत्काल रिड गरेर तत्कालै ट्राफिक लाइटको चिप तथा सर्भरलाई जानकारी गराउँछ । सोही आधारमा सिस्टमले जता धेरै सवारीसाधन छन् त्यतातिर हरियो बत्ती बाल्छ । काठमाडौंतर्फका ट्राफिक लाइटमा यात्रुले धेरै समय कुर्नुपर्ने भए पनि ललितपुरमा धेरैमा ३०-५० सेकेन्ड मात्रै पर्खे पुग्छ । 

महानगरका मेयर चिरिबाबु महर्जनले प्राविधिक अध्ययन गरेर ट्राफिक व्यवस्थापन गर्ने लाइट जोडिएको बताए । ‘हाम्रो उद्देश्य काठमाडौंतर्फको ट्राफिक जाम र लाइट पार गरेर थापाथली पुल हुँदै ललितपुरतर्फ आएकालाई केही समय पनि रोक्न नपरोस् र ट्राफिक लाइटले सहजता प्रदान गरोस् भन्ने हो,’ उनले भने, 'यो लाइट निकै प्रभावकारी छ, अन्य देशमा पनि उपयोगी मानिएकोले ललितपुरमा हामिले जडान गरेका हौँ ।' 

यो लाइट स्वचालित भएकाले अन्य परम्परागत ट्राफिक लाइटभन्दा फरक र सहज पनि छ । यससँगै राखिएको भेइकल डिटेक्टरले सवारीसाधनको नम्बर तथा विवरण रिड गर्छ । सिस्टमले नै कुन दिशातर्फ कति टाइमिङ चाहिने हो आफैँ सेट गर्छ । हाल यसको मनिटरिङ सिस्टम ट्राफिक कार्यालयमा राखिएको छ ।

यो लाइट फिक्स , पुलिस म्यानुअल , सिङ्क्रोनाइजेशन, एटिसिएस लगायत आवश्यकता अनुसारको मोडमा प्रयोग गर्न सकिने प्राविधिक सुयोसभक्त माथेमाले बताए । उनका अनुसार यसमा पाँच वर्षसम्म डेटा स्टोर हुन्छ भने सवारीसाधनको र दुर्घटनाको रेकर्ड समेत रहन्छ । लाइट जडान गरेको नमुना पावर ग्रेड जेभिले सुरुमा ११७ स्थानमा सम्भाव्यता अध्ययन गरेपनि अति आवश्यक पर्ने पाँच स्थानमा जडान गरिएको हो ।

महानगरपालिकाका उपमेयर मन्जली शाक्यले यो लाइटले ट्राफिक व्यवस्थापनमा सहज हुने बताइन्। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी सन्जय बहादुर राउतले पुर्ण रुपमा प्रविधि नहुदा ट्राफिस व्यवस्थापनमा समस्या भएको बताए । उनका अनुसार हाल उपत्यकामा ६४ स्थानमा ट्राफिक लाइट राखिएपनि ३५ स्थानमा मात्र ट्राफिक लाइटले काम गरेको छ ।