अर्थ समितिको बैठक कोरम नपुगेर स्थगित भएको छ। सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयकमा छलफल गर्न बोलाइएको बैठक गणपुरक संख्या नपुगेर स्थगित भएको हो।
समितिमा ७ जना सदस्यमात्रै उपस्थित थिए। जसमध्ये ४ जना विपक्षी सांसद थिए। समिति सभापति सन्तोष चालिसेले सांसदहरू उपस्थित नहुँदा विधेयकमा छलफल चलाउन नसकेको बताए।
आउने प्रतिबद्वता जनाएका अर्थमन्त्री विष्णु पौडेल पनि बैठकमा उपस्थित भएनन्।
माओवादीका गंगा कार्कीले विधिअनुसार समिति चलाउनुपर्ने बताए। रास्वपाका विराजभक्त श्रेष्ठले दुईतिहाईको सत्ता पक्ष समितिमा उपस्थित नहुनु र कामकारबाही प्रभावित हुनु दुर्भाग्यपूर्ण भएको बताए।