दक्षिण कोरियाको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले कोरियाको पुँजी र प्रविधि नेपाल भित्र्याउन चाहेको बताएका छन्।
नेपाल र कोरियाबिच कुटनीतिक सम्बन्ध विस्तारको ५० वर्ष पुगेको अवसरमा कोरियास्थित नेपाली राजदूतावास र बुसान च्याम्बर अफ कमर्सद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले कोरियन लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रहसमेत गरे। उनले वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध रहेको बताए।
आगामी दिनमा नेपाल र कोरियाबिचको आपसी सम्बन्ध थप उचाइमा पुर्याउनुपर्ने बताउँदै उनले नेपालको उद्योग, व्यापार तथा पर्यटन क्षेत्रको विकासमा लगानी गर्न आग्रह गरे। महत्वपूर्ण व्यापार साझेदारका रूपमा रहेको कोरियाको भौतिक विकास, ज्ञान, सिप र प्रविधिलाई नजिकबाट नियालिरहेको र कोरियामा भइरहेको विकासबाट नेपालीहरूलाई थप लाभान्वित गर्न चाहेको उनको भनाइ थियो।
‘सामसुंग इलेकट्रोनिक्स र हुण्डाई मोटर्सले नेपालमै आफ्नो प्लान्ट स्थापना गरी उत्पादन सुरु गरेको छ भने कोरियाले माथिल्लो त्रिशुलीमा गरेको लगानीले यस क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुगेको छ,’ मन्त्री भण्डारीले भने, ‘वैदेशिक लगानीका दृष्टिकोणबाट कोरिया महत्वपूर्ण साझेदार हो । नेपालमा दिन प्रतिदिन लगानीको वातावरण थप सुधार भइरहेको अन्तर्राष्ट्रिय संस्थाहरूको मूल्याङ्कनले समेत पुष्टि गरेको छ।’
नेपालमा युवा जनशक्ति, कच्चा पदार्थको उपलब्धता, भौगोलिक विविधताले समेत लगानीको उच्च प्रतिफल प्राप्त हुने अवस्था रहेको उनको भनाइ थियो। भारत, चीन, बङ्गलादेशलगायतको बजारका कारणले समेत नेपाल सम्भावना भएको मुलुक रहेको मन्त्री भण्डारीले जानकारी गराए।
मन्त्री भण्डारीले नेपाली युवालाई रोजगारी प्रदान गरेकोमा कोरिया सरकारको प्रशंसा पनि गरे। ‘नेपाली युवाले यहाँ गरेको आम्दानी र सिकेको सिपलाई सदुपयोग गरी नेपालमा उत्पादन र रोजगारीका अवसर बढाउन तर्फ लागेका छौँ,’ उनले भने।