१० मंसिरमा करको दर आधा घटाएयता भाउमा सुधार, मूल्य अझै घट्ने व्यवसायीको विश्लेषण
नेपाली बजारमा सुनचाँदीको भाउ चार दिनयता निरन्तर ओरालो लागेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला एक लाख ५० हजार आठ सय रुपैयाँमा कारोबार भएको छ ।
गत बुधबार सुनको भाउ एक लाख ५४ हजार दुई सय रुपैयाँ प्रतितोला पुगेको थियो । बिहीबार स्थिर रहेको मूल्य शुक्रबार भने एक लाख ५३ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । साताको पहिलो दिन आइतबार भने प्रतितोला २२ सय रुपैयाँ घटेर कारोबार भएको महासंघले जनाएको छ ।
महासंघका निवर्तमान अध्यक्ष मणिकरत्न शाक्यले केही समयअघि मूल्य बढेका वेला अन्तर्राष्ट्रिय लगानीकर्ताले ‘नाफा बुक’ गरेका कारण अहिले मूल्य ओर्लिएको बताए । ‘अन्तर्राष्ट्रिय लगानीकर्तामा नाफा बुक गरेर बस्ने प्रवृत्ति हाबी भयो, त्यसैले अहिले निरन्तर बजार खस्किरहेको छ,’ उनले भने । अहिले सुनको सिजनसमेत नभएकाले कारोबारमा पनि सुस्तता आएको उनले बताए ।
‘अहिले सुन कारोबार हुने सिजन नै होइन । अझ पुस महिनाभरलाई बेमौसम नै मानिन्छ,’ उनले भने, ‘त्यसैले बजार मूल्य अझै ओरालो लाग्ने अनुमान छ ।’ चाँदीको मूल्य पनि यो अवधिमा घटेको छ । प्रतितोला १९ सय २५ रुपैयाँ पुगेको चाँदीको भाउ आइतबार १८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।
कर घटेपछि मूल्य डेढ लाखवरिपरि
१० मंसिरदेखि लागू हुने गरी अर्थ मन्त्रालयले सुनको भन्सार दर ५० प्रतिशत घटाएपछि मूल्य प्रतितोला डेढ लाखआसपासमै बसेको छ । सुनमा २० प्रतिशत लाग्दै आएको भन्सार महसुल १० प्रतिशतमा झारिएको छ भने १५ प्रतिशत रहेको चाँदीको भन्सार महसुल पनि ५ प्रतिशत घटाएर १० प्रतिशत कायम गरिएको छ ।
कर घटाउनुअघि ९ मंसिरमा सुनको भाउ प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँ प्रतितोला पुगेको थियो । तर, कर घट्नासाथ भोलिपल्टै मूल्यमा १५ हजार नौ सय रुपैयाँको गिरावट आएर १० मंसिरमा एक लाख ५१ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।