Skip This
कता जाँदै छ कीर्तिपुर ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ मङ्सिर ११ मंगलबार
  • Tuesday, 26 November, 2024
तारालाल श्रेष्ठ
२o८१ मङ्सिर ११ मंगलबार o८:४९:oo
Read Time : > 5 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

कता जाँदै छ कीर्तिपुर ?

Read Time : > 5 मिनेट
तारालाल श्रेष्ठ
नयाँ पत्रिका
२o८१ मङ्सिर ११ मंगलबार o८:४९:oo

कीर्तिपुरमा कस्तो राजनीतिक अभीष्ट बोकेर कस्ता मानिसले चलखेल गरिरहेका होलान्, यसै भन्न सकिने अवस्था छैन 

काठमाडौं उपत्यकामा हिउँदे प्रदूषण बढ्दै छ । उचाइमा अवस्थित कीर्तिपुरमा चिसो चढ्दै छ । दक्षिणकाली–थानकोट नाकाबाट बहने हावाको झोक्काले पहिले कीर्तिपुर किल्लालाई छुन्छ । अनि, धुवाँधुलोसँग मिसिँदै हावा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेलतिर बहन्छ । उपत्यकाका अन्य सहरभन्दा कम प्रदूषित कीर्तिपुरलाई आगामी १६ मंसिरमा तय गरिएको उपनिर्वाचनले तताउँदै छ । नाराजुलुस, आमसभा, घरदैलो, चियागफ, किनमेल, भाषणले कीर्तिपुर राम्ररी सुत्न सक्ने अवस्थामा छैन ।

आखिर राजनीति नै रहेछ मूल नीति । मेयर पदका लागि उपनिर्वाचन हुन लागेको एक मात्र स्थानीय तह भएकाले पनि कीर्तिपुरमा सबैको ध्यान केन्द्रित हुने नै भयो । कीर्तिपुरका मेयर तथा वडा नंं १ र ४ का वडाध्यक्षको निधनपछि रिक्त स्थान परिपूर्तिका लागि निर्वाचन हुँदै छ । कीर्तिपुरमा नगरप्रमुख पदका लागि मात्र २० उम्मेदवार उपनिर्वाचनमा होमिएका छन् । तीमध्ये ११ जना स्वतन्त्र उम्मेदवार छन् । ०७९ को उपनिर्वाचनमा कीर्तिपुरमा ३० हजार ३२८ मतदाता रहेकामा उपनिर्वाचनमा ७८४ जना थपिएर ३१ हजार ११२ पुगेका छन् । कुल १४.७६ वर्गकिमि क्षेत्रफलमा फैलिएको कीर्तिपुरमा ८१ हजार ५७८ जनसंख्या बसोवास गर्छन् (जनगणना २०७८) । ठुलो संख्यामा बाहिरका मानिस कीर्तिपुरमा भाडामा बस्ने गर्छन् ।

उपत्यकामा अन्यत्र चुनाव छैन । कीर्तिपुरलाई भने बिहान सबेरैदेखि राति अबेरसम्म राजनीतिक चहलपहलले छपक्कै छोपिरहेको हुन्छ । उपत्यकावरिपरिबाट मात्र होइन, धरानदेखि कीर्तिपुरसम्म आएर आफ्नो उम्मेदवारलाई दिनरात सघाइरहेका अभियन्ता भेटिन्छन्, कीर्तिपुर चोकचोकमा । धनगढीबाट समेत उम्मेदवारलाई सघाउन कीर्तिपुर आउने छन् । अन्यत्रबाट पनि त्यसैगरी आउने नै भए । 

सांस्कृतिक सहरमा राजनीति : प्राचीन बस्तीबिच डाँडामा अवस्थित कीर्तिपुर किल्ला बागभैरव परिसरमा सबेरैदेखि अनाज, फलफूल, तरकारी किनमेल केन्द्रलाई समेत राजनीतिक चहलपहलले चारैतिरबाट घेरिरहेको हुन्छ । पाँगा, नगाउँ, चोभार, भाजंगल, टौदह, ट्यांलाफाँट, चम्पादेवी, सल्यनथान, नयाँबजार, भत्क्यापाटी सबैतिर पुराना बस्तीबिच दिनमा मात्रै होइन, रातमा पनि आमसभा, घरदैलो चलिरहेका हुन्छन् । राजनीतिक अभियान र अभियन्ताभन्दा पर उभिन सक्ने स्थान भेटिन्नन् । सानो क्षेत्रफलमा अवस्थित कीर्तिपुर नगरपालिकामा भोट माग्दै हिँडिरहेका व्यक्तिसँग पाइलैपिच्छे ठोक्किने अवस्था छ । 

विश्वविद्यालय जान्छु, प्राध्यापक–विद्यार्थी कीर्तिपुरको उपनिर्वाचनकै बारेमा गफिइरहेका हुन्छन् । विश्वविद्यालयका कक्षाकोठामा भेटिने कतिपय विद्यार्थी उम्मेदवारसँग घरदैलो गरिरहेका देखिन्छन् । कक्षाकोठामा पठनपाठनको सन्दर्भ र उदाहरण कीर्तिपुर निर्वाचनसँगै जोडिन्छन् । त्रिविका सेवानिवृत्त प्राध्यापकसमेत निर्वाचनमा उम्मेदवार बनेका छन् । प्राध्यापक, डाक्टर र शिक्षकसँगै विद्यार्थीसमेत मिसिएर भोट माग्दै घरदैलो गरिरहेका भेटिन्छन् । कीर्तिपुर किल्लावासी र त्रिविबिच पुरानो दूरी थाती नै छ । कतिपय उम्मेदवारले सो ऐजेन्डासमेत जोडेर पनि भाषण गरिरहेका आवाज विश्वविद्यालयसम्मै सुनिन्छ । विश्वविद्यालय कीर्तिपुर किल्लासँग जोडिएको भए पनि कीर्तिपुरका आदिवासी जनजाति विश्वविद्यालयसँग राम्ररी जोडिएका छैनन् । कीर्तिपुर किल्लाका विद्यार्थी, शिक्षक, कर्मचारी निकै न्यून मात्रामा कीर्तिपुर केन्द्रीय क्याम्पसमा आबद्ध देखिन्छन् ।

अधिकांश उम्मेदवार प्राध्यापक, डाक्टर, इन्जिनियर, शिक्षक, वकिल, समाजसेवी या उद्यमी छन् । शैक्षिक योग्यता कम भएका उम्मेदवार पनि तँभन्दा म के कम भन्ने शैलीमा निर्वाचनमा होमिएका छन् । स्थापित दलले अन्याय गरेको भन्दै कतिपय स्वतन्त्र उम्मेदवार बनेका छन् । सबै खालका उम्मेदवार सराबरी भोट माग्न आउँछन् । आफू परेँ दलको विकल्प दल मान्ने तर कुनै पनि दलसँग आबद्ध नरहेको स्वतन्त्र भोटर । सक्दो निरपेक्ष बनेर राजनीतिक चहलपहल नियाल्दै छु । दार्शनिकले देश चलाउने जमाना गइसक्यो । समय अर्कै भइसक्यो । भोटका लागि जेसुकै गर्ने जमानामा कीर्तिपुरमा कस्तो राजनीतिक अभीष्ट बोकेर कस्ता मानिसले चलखेल गरिरहेका होलान्, यसै भन्न सकिने अवस्था छैन । विद्वान् उम्मेदवार, तिनका समर्थक या अभियन्तालाई कतातिर जाँदै छ कीर्तिपुर भनेर सोच्ने फुर्सद छैन । प्रतिबद्धता पोखिदिएका छन्, प्रतिबद्धता पूरा गर्ने आधारबारे विमर्श गर्ने फुर्सद कसैलाई छैन ।

कस्तो कीर्तिपुर, कसको कीर्तिपुर ? : कीर्तिपुर उपनिर्वाचनमा होमिएका उम्मेदवार पठित र खारिएका बढी छन् । तर, उनीहरूको घोषणापत्र, अभिव्यक्ति भने विशिष्ट छैनन् । सबैले भ्रष्टाचार रोक्ने, शिक्षा, स्वास्थ्य, बाटोघाटो, पाटीपौवाका कुरा गर्दै छन् । अधिकांश उम्मेदवारले बढी जोड दिएको विषय सांस्कृतिक पर्यटन विकासमा केन्द्रित देखिन्छ । ०५३ सालमै नगरपालिका ऐन २०४८ अनुसार आठ गाविस गाभेर गठन गरिएको कीर्तिपुर नगरपालिका आन्तरिक स्रोतसाधनका हिसाबले कमजोर देखिन्छ । आधुनिक अर्थतन्त्रलाई चलायमान गराउने कलकारखाना, उद्योग, तारे होटल आदि कीर्तिपुरमा देखिन्नन् । त्रिभुवन विश्वविद्यालय नै कीर्तिपुरको अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा विशाल बिम्ब देखिन्छ । शैक्षिक सहरको अवधारणामा कीर्तिपुर अघि बढेको भने देखिन्न । 

मतदातालाई पनि कसले कस्तो कीर्तिपुर बनाउलान् भन्ने विषयमा मतलव छैन । कसको स्थिति कस्तो भन्ने कुरामै सबै रुमल्लिइरहेका देखिन्छन् । पहिलो स्थानीय निर्वाचनमा एमाले ‘प्यानल’लाई कीर्तिपुरले जितायो । दोस्रो स्थानीय निर्वाचनमा एमालेलाई बढारेर पूरै कांग्रेस प्यानललाई पो जितायो । जिताउन जानेका कीर्तिपुरेले हराउन पनि जानेका छन् । यसपालि विगतको विजेता कांग्रेसलाई पनि बढार्न बेर छैन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उम्मेदवारी नै दिएन । स्वतन्त्र उम्मेदवार मेयरमा मात्र ११ जना छन् । कांग्रेसजनले विरासत जोगाउन नसकिए आगामी चुनावमा असहज हुने ठान्दै छन् । एमाले अघिल्लो निर्वाचनमा गुमेको विरासत फर्काउन सके आगामी निर्वाचनमा सानका साथ उभिने नैतिक धरातल निर्माण गर्ने दाउमा देखिन्छ । माओवादी यसपाला कीर्तिपुरमा मेयर जिताउन सकिएमा इतिहास रच्ने रणनीतिसहित घरदैलोमा होमिएको छ । प्रमुख तीन दलकै लागि पनि अवस्था भने सोचेजस्तो सहज देखिन्न । 

एमाले सांगठनिक हिसाबले सबैभन्दा शक्तिशाली देखिन्छ । उसको जनपरिचालन पनि नराम्रो हुने कुरै भएन । पहुँचको हिसाबले पनि एमाले उम्मेदवार डा. सुरेन्द्र मानन्धर अब्बल देखिन्छन् । उम्मेदवार छनोटकेन्द्रित हिजोझैँ पार्टीभित्रको अन्तरविरोध छताछुल्ल देखिएको छैन । कांग्रेसलाई मत दिएर बिरक्तिएका जमातले पनि एमालेलाई भोट दिन सक्ने विश्वास उसको छ । यद्यपि पूर्वएमाले स्वतन्त्र उम्मेदवार राजमान महर्जन (मानव) एमाले उम्मेदवारका लागि सशक्त प्रतिस्पर्धीजसरी मैदानमा उत्रिएका छन् । मानवका अलवा पहिचान पक्षधर तथा अन्य स्वतन्त्र उम्मेदवारले पनि एमालेको मत काट्ने सम्भावना भएकाले एमालेजनले सोचेझैँ सहज देखिन्न ।

माओवादी उम्मेदवार प्रा. शिवशरण महर्जन अघिल्लो निर्वाचनमा भन्दा बढी सशक्त देखिन्छन् । आडभरोसा दिने दलले उनलाई कति इमानदारीसाथ सघाउलान्, हेर्न बाँकी छ । माओवादीले विगतमा चार हजार चानचुन मत मेयरमा र दुई हजार चानचुन मत उपमेयरमा प्राप्त गरेको थियो । एमालेका कतिपय असन्तुष्ट पक्षको पनि मत पाएको थियो, उसले त्यतिखेर । आजसम्म माओवादी मेयर कीर्तिपुरले पाएको पनि छैन । यसपालि माओवादीलाई हेरौँ न त भन्ने सोच मतदातामा हुन पनि सक्छ । एकीकृत समाजवादी र जसपाको पनि साथ पाएपछि हामी बलिया छौँ भन्ने सोचमा माओवादी देखिन्छ । स्वतन्त्रबाट एमालेका पूर्वकार्यकर्ता राजमान मानव र कांग्रेस कार्यकर्ता कवि महर्जनले पनि क्रमशः एमाले र कांग्रेस उम्मेदवारको मत काट्ने विश्वासमा माओवादीले मेयर हात पार्ने आशा गरेको छ ।

कांग्रेसका कृष्णमान डंगोल अग्निपरीक्षामा होमिएका उम्मेदवारका रूपमा देखिएका छन् । कांग्रेस र एमाले सत्तागठबन्धनमा सँगै भए पनि चुनावी मैदानमा भने एक्लाएक्लै छन् । बिरासत जोगाउनुपर्ने र बिरासत फर्काउनुपर्ने चुनौती दुवैलाई छ । एक–अर्का दलप्रति उनीहरू यसपालि यसर्थ उतिसाह्रो आक्रामक भाषणबाजीमा देखिन्नन् । कांग्रेसजनमा केही क्षति भए पनि अघिल्लो मतभारअनुसार हामी नै जित्छौँ भन्ने सोच हाबी देखिन्छ । दिवंगत नगरप्रमुखको कार्यकालमा खस्केको अवस्थाले धेरै मत नघट्ला भन्ने विचार पनि सतहमा देखिन्छ । एमाले र कांग्रेस दुवैको सत्ता देखेका जनमत कतातिर मोडिएला, यसै भन्न सकिन्न ।

कांग्रेसको मत स्वतन्त्र उम्मेदवारी दिएका कवि महर्जनले काट्ने निश्चित छ । उनी कांग्रेसका पूर्वकार्यकर्ता हुन् । कतिपय कांग्रेसका समर्पित सदस्यसमेत उनको पक्षमा लागिपरेका देखिन्छन् । कीर्तिपुर किल्ला र कीर्तिपुर किल्लाबाहिरको अन्तद्वन्द्व पनि कायमै देखिन्छ । सधैँ कीर्तिपुर डाँडाकेन्द्रित राजनीति भयो भन्ने भाष्य दशकौँदेखि कीर्तिपुरमा भुनभुनाइरहेको सुनिन्छ । नयाँ बस्ती तथा पाँगा, चोभार, ट्यांलालगायत कीर्तिपुर डाँडावरिपरिका मतदाता कीर्तिपुर डाँडाबाहिरको मेयरको स्वाद चाख्न चाहन्छन् । कीर्तिपुर किल्ला (डाँडा) केन्द्रित राजनीति हाबी भएको भाष्य एउटा छ । नेवार उम्मेदवारभन्दा भिन्न नगरप्रमुख चाहने मतदाता पनि धेरै छन् । कीर्तिपुरमा ६० प्रतिशतभन्दा बढी मतदाता नयाँ बस्तीका छन् । नयाँ बस्तीका नयाँ पिँढी स्वतन्त्र व्यक्ति नगरप्रमुख भएको हेर्न रुचाउने छन् । पुराना बस्तीका युवा पनि स्वतन्त्र व्यक्ति विजयी बनोस् भन्ने चाहन्छन् भन्ने भाष्य पनि भुनभुनाइरहेको सुनिन्छ । गैरनेवार समुदायका स्वतन्त्र उम्मेदवार यही मतलाई आफ्नो पक्षमा पार्ने दाउमा देखिन्छन् ।

के गर्दै छन् पहिचान पक्षधर ? : मानिस पहिचानप्रेमी प्राणी हो । पुराना बस्तीले आफ्नो आदिवासी जनजातीय अग्राधिकारको प्रभुत्व देखाउँछन् । नयाँ बस्तीका मतदाता आफूलाई आधुनिक विश्व बुझेका बढी लायक नागरिक ठान्छन् । सबैले सकेसम्म आफूजस्तै नगरप्रमुख खोज्ने नै भए । राजनीतिक र सांस्कृतिक वैचारिकी खप्टिएको अवस्थाबाट पनि कतिपय मतदाताले मतदान गर्छन् । दलीय वैचारिकी मात्रै बोकेर मानिस बाँचेका हुन्नन् । यस्तो अवस्थामा कसरी दुवै पक्षलाई आकर्षित गर्ने भन्ने स्पष्ट विचार तथा रणनीति दलीय तथा स्वतन्त्र दुवै कित्ताका उम्मेदवारले स्पष्ट रूपमा दिन सकेका छैनन् ।

कीर्तिपुरलाई सांस्कृतिक सहरका रूपमा विकास गर्ने प्रतिबद्धता सबैजसो उम्मेदवारले गरेका छन् । त्यसको स्पष्ट खाका भने कसैले दिन सकेका छैनन् । ऐतिहासिक कीर्तिपुर किल्लालाई मिनी ग्रेटवालझैँ सजाउने विषय कतै छैन । संविधानले सुनिश्चित गरेको सांस्कृतिक स्वायत्तताको विषयलाई जोड दिएको देखिन्न । सांस्कृतिक स्वायत्तताको उच्चतम स्वरूप स्वायत्त क्षेत्रका रूपमा कीर्तिपुरलाई स्थापित गर्नु हो । संविधानले सुनिश्चित गरेको अधिकारलाई स्थापित गर्ने विषयमा कोही स्पष्टसँग बोलेका छैनन् । सांस्कृतिक सहरको मतलव कोरा जात्रा मात्रा मनाउने मात्र कुरो होइन । सांस्कृतिक सहर भन्नाले यहाँको सम्पदालाई जीवन्त राखी आदिवासीय प्रथाजन्य संस्थालाई समेत मान्यता दिनेसम्मका कुरा जोडिन आउँछन् । नयाँ बस्तीको हकमा नयाँ विचार संरचना चाहिन्छ । सबैजना स्वायत्तताका विषय नजोडीकन सांस्कृतिक सहर विकासका कुरा मात्र गर्दै छन् ।

कीर्तिपुरका पहिचानवादी जमातले जसलाई सघाउँछ, उसैले चुनाव जित्न सक्ने तर्क गर्नेहरू पनि छन् । नगरपालिकाकै अगुवाइमा सांस्कृतिक संरक्षित क्षेत्र ऐन बनाएर लागू गर्ने विषय कीर्तिपुरमा अन्तिम चरणमा अड्किएको छ । यसबारे मुद्दासमेत सर्वोच्चमा पुगेको छ । यस विषयमा कोही उम्मेदवार स्पष्ट बोलिरहेका छैनन् । पहिचान पक्षघर विचारविहीन भिडमा आफैँ हराइरहेझैँ देखिन्छन् । तटस्थ मतदाता अत्यधिक छन् । उनीहरू केही नयाँ चाहन्छन् । यसपाला कीर्तिपुर कता जाँदै छ, यसै भन्न सकिन्न ।