ऋषभ पन्त, लखनउ २७ करोड भारु
विश्वकै चर्चित इन्डियन प्रिमियर लिग (आइपिएल)को सबैभन्दा महँगा खेलाडी भारतीय विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त बनेका छन् । आगामी सिजनका लागि दुबईमा भएको खेलाडी अक्सनमा लखनउ सुपर जायन्टले २७ करोड भारु खर्चेर उनलाई भित्र्याएको हो । आइपिएल अक्सनमा पहिलोपटक कुनै पनि खेलाडीमाथि २७ करोड भारुको बोली लगाइएको हो । गत सिजन कोलकाता नाइट राइडर्सले अस्ट्रेलियाका मिचेल स्टार्कमाथि २४ करोड ७५ लाख भारु खर्चेको थियो । ऋषभले कीर्तिमान बनाउनुअघि मिचेलको अनुबन्ध रकम नै सर्वाधिक महँगो थियो ।
एक वर्षपछि आइपिएल खेलाडी अक्सनमा नयाँ रेकर्ड बन्यो । २७ वर्षीय ऋषभ सन् २०२४ को सिजनमा दिल्ली क्यापिटल्सका कप्तान बन्दै आइपिएलमा फर्किएका थिए । सन् २०२२ को डिसेम्बरमा भएको कार दुर्घटनामा उनले पुनर्जन्म पाएका थिए ।
सन् २०२५ को अक्सनमा ऋषभको औसत मूल्य दुई करोड भारु राखिएको थियो । ऋषभलाई भित्र्याउन होडबाजी चलेको थियो । तर, अन्तिममा लखनउले बाजी मार्यो । टी–२० फर्म्याटमा उनलाई आक्रामक ब्याट्सम्यानका रूपमा लिने गरिन्छ । सन् २०१८ को सिजनमा उनले १७३ को स्ट्राइकमा ६८४ रन बटुलेका थिए । सन् २०१९ मा उनी दिल्लीका लागि दोस्रो सर्वाधिक रनकर्ता बनेका थिए । त्यसवेला उनले ४८८ रन जोडेका थिए । ऋषभकै उत्कृष्ट ब्याटिङको मद्दतमा दिल्ली सन् २०१२ पछि आइपिएलको प्लेअफमा पुगेको थियो ।
श्रेयस अयर (पन्जाब किंग्स) २६ करोड ७५ लाख भारु
आइपिएलका दोस्रो महँगा खेलाडी पनि भारतीय श्रेयस अयर बनेका छन् । पन्जाब किंग्सले उनलाई २६ करोड ७५ लाख भारुमा किनेको छ । श्रेयसले आफ्नो कप्तानीमा गत वर्ष कोलकातालाई आइपिएल च्याम्पियन बनाएका थिए । तर, कोलकाताले उनलाई यसपटक रिटेन गरेन । उनले नयाँ सिजनका लागि आफूलाई अक्सनमा राखे । श्रेयसको सुरुवाती मूल्य दुई करोड भारु थियो । श्रेयसले सन् २०२२ देखि २०२४ सम्म कोलकाताबाट खेलेका थिए । त्यसअघि उनी ६ सिजन दिल्लीमा रहे । उनले भारतका लागि १४ टेस्ट, ६२ एकदिवसीय र ५१ टी– २० आई खेलेका छन् ।
बैंकेटस अयर (कोलकाता) २३ करोड ७५ लाख भारु
साबिक विजेता कोलकाताले आगामी सिजनका लागि बैंकेटसलाई २३ करोड ७५ लाख भारु खर्चेर भित्र्याएको छ । अक्सनमा उनी तेस्रो महँगा खेलाडीका रूपमा बिक्री भए । खेलाडी अक्सनमा उनको औसत मूल्य दुई करोड राखिएको थिए । उनलाई अनुबन्ध गर्न रोयल च्यालेन्जर्स बेंग्लोरले २३ लाख ५० लाख भारुसम्म बोली लगाएको थियो, तर कोलकाताले २५ लाख थप्दै भित्र्यायो । सन् २०२४ को सिजनमा उनले कोलकाताबाट १४ खेलमा ३७० रन बनाउनुका साथै तीन विकेट लिएका थिए ।
युजवेन्द्र चहल (पन्जाब), १८ करोड भारु
यसपटकको अक्सनमा भारतीय खेलाडीको दबदबा रह्यो । गत सिजनमा विदेशी खेलाडी अक्सनमा महँगो रकममा बिक्री भएका थिए । सन् २०२५ को आइपिएलका लागि पन्जाव किंग्सले भारतका युजवेन्द्र चहललाई १८ करोड भारु खर्चेर भित्र्याएको छ ।
अश्रदीप सिंह (पन्जाब किंग्स), १८ करोड भारु
पन्जाबले यसपटक टोली बलियो बनाउन अक्सनमा करोडौँ भारु खर्चेको छ । राम्रा खेलाडी भित्र्याउन अक्सनमा भनेजति बोली लगाएको पन्जाबले भारतकै अश्रदीप सिंह अनुबन्ध गर्न १८ करोड भारु खर्चेको छ । बलिङ तथा ब्याटिङ गर्न सक्ने अश्रदीपले भारतका लागि आठ एकदिवसीय र ६० टी–२० आई खेलेका छन् । उनले एकदिवसीयमा १२ तथा टी–२० आईमा ९५ विकेट हात पारेका छन् ।
जोस बटलर (गुजरात), १५ करोड ७५ लाख भारु
गुजरात टाइटन्सले इंग्ल्यान्डका विकेटकिपर ब्याट्सम्यान जोस बटलरलाई १५ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको छ । बटलर विदेशी खेलाडीमा यसपटक महँगा बने । इंग्ल्यान्डबाट ५७ टेस्ट, १८१ एकदिवसीय तथा १२९ टी–२० आई खेलेका बटलरसँग मुम्बई इन्डियन्सबाट आइपिएल खेलेको अनुभव छ । उनले इंग्ल्यान्डबाट टी–२० आईमा तीन हजार ३८९ रन बटुलेका छन् । उनले एक शतक तथा २५ अर्धशतकीय इनिङ्स खेले ।