जागरणसभा आयोजनाको क्रममा दरबारमार्ग क्षेत्र फोहोर गरेको, तर सफाइ नगरेको भन्दै काठमाडौं महानगरपालिकाले एमाले केन्द्रीय कार्यालयमा दोस्रोपटक जरिवानापत्र पठाएको छ । तर, एमाले कार्यालयले भने पत्र गलत ठाउँमा आएको भन्दै फिर्ता पठाएको छ ।
उक्त जागरणसभा एमालेको काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला कमिटीले आयोजना गरेको भन्दै कार्यालयले उतै पत्र बुझाउन भन्दै फिर्ता गरिदिएकाे छ । महानगरले ७ मंसिरमा पहिलोपटक एमालेलाई एक लाख रुपैयाँ जरिवाना गरेको भन्दै पत्र काटेको थियो ।
महानगरले महानगरीय प्रहरी बललाई उक्त पत्र लिएर च्यासलस्थित एमाले कार्यालयमा पठाएको थियो । तर, पत्र बुझ्न नमानेको नगर प्रहरी इन्सपेक्टर किशोरकुमार भट्टराईले बताए ।